मूल्य वृद्धिले सर्वसाधारणमा चिन्ता: दशैं आयो, खाउँला पिउँला, कहाँबाट ल्याउँला ?



काठमाडौं । सोमबार अभिनेत्री अस्मिता लामिछानेले सामाजिक सञ्जालमा लेखिन्, ‘चाडपर्व पनि कति कमर्सियल हुन थाल्यो । हामीजस्तो मध्यम, निम्न वर्गले कसरी मनाउने ?’

लामिछानेलाई विगतको तुलनामामा पछिल्ला वर्षहरुमा दशैं निकै महंगो भएको महशुस हुन्छ । आफ्नो गृह जिल्लामा भएको भन्दा शहरको मूल्य दोब्बर भएको उनी बताउँछिन् । भन्छिन्, ‘मेरो घर लम्की हो । लम्कीमा ७ सय रुपैयाँ किलो खसीको मासु छ । काठमाडौंमा १३ सय ५० छ ।’

आफ्नो घरसम्म पुग्नका लागि सरकारले तोकेको हवाईजहाजको मूल्य पनि १७ हजारसम्म हुनसक्ने अवस्था भएको उनी बताउँछिन् । दैनिक उपभोग्य सामग्रीदेखि लत्ताकपडासम्मको मूल्य वृद्धि भएको उनको भनाइ छ ।

चाडपर्व नजिकिएको बेला अस्मिताले जस्तो धेरैले भोगेका समस्या हुन् यी । दशैंको माहोल बजारदेखि घरसम्म रमझमतर्फ मोडिरहेको बेला सर्वसाधारणमा भने खर्चले चिन्तित बनाएको छ । वर्षेनी हुने मूल्य वृद्धिले दैनिक उपभोग्य सामग्रीदेखि सवारीसाधनको भाडालगायतको पनि मूल्य आकासिएको छ ।

काभ्रे घर भएका सञ्जिव तामाङ पनि यसपटक दशैंमा आफूले उच्च मूल्य वृद्धि भोगेको बताउँछन् । काठमाडौंको बौद्धमा कोठा भाडामा लिएर बस्ने उनले मासिकरुपमा १८ हजार रुपैयाँ बहालका लागि तिर्छन् । खानपिनमा थप १५ हजार खर्च हुने उनको अनुमान छ ।

ट्याक्सी चालक भएका कारण दैनिक १५ सय रुपैंयाँ साहुलाई तिर्नुपर्छ उनले । सञ्जिव भन्छन्, ‘महिनाभर दिनरात खट्यो भने ९० हजार जति कमाइ हुन्छ । ८० हजार त यता उता गर्दै सकिन्छ । गाडीमा तेल हाल्नु पर्यो । यसो उसो गर्दा केही बच्दैन ।’

सञ्जिव आफ्ना आमाबुबा गाउँमा भएकाले जानै पर्ने बताउँछन् । उनी भन्छन्, ‘सबै परिवार यतै छौं । बुबा आमा भएकाले जानुपर्छ ।’

उसो त सञ्जिवको परिवारले दशैं धेरै रमझमका साथ मनाउँदैन । तर, पनि सबैको घरपरिवारमा आफन्त भेला हुने भएकाले आफू पनि जाने बताउँछन् उनी । भन्छन्, ‘घर जाने भएपछि खर्च पनि हुन्छ । अरु बेला केही नगरे पनि दशैंको बेलामा आश हुन्छ । यो पटक पनि कसरी मिलाउने भन्ने पिर छ ।’

विगतको तुलनामा यो वर्षको दशैं मुख्य गरि निम्न वर्गीय र मध्यम वर्गीय सर्वसाधारणका लागि महँगो हुने देखिएको छ । बढिरहेको मूल्य वृद्धिका कारण तेलदेखि तरकारी जस्ता दैनिक उपभोग्य सामग्री र इन्धनको मूल्यमा भएको वृद्धिका कारण सवारीसाधनको पनि मूल्य बढेको छ । हवाई यतायातको टिकटको मूल्य त सर्वसाधारणले धान्ने नसक्ने छ ।

नेपाल राष्ट्र बैंककाअनुसार आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २०७८/०७९ मा मुद्रास्फीति ८.०८ प्रतिशतले बढेको छ । जसअनुसार विगतमा १०० मा पाउने सामग्रीको मूल्य अहिले १०८.०८ पुगेको छ । चालु आवमा पनि यो मूल्य वृद्धि उस्तै देखिएको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांककाअनुसार मूल्य वृद्धिको दर ८.२६ सम्म पुगेको छ । जसकारण दैनिक उपभोग्य सामग्रीको मूल्य पनि आकाशिएको छ ।

अर्थशास्त्री डा. गोविन्द नेपाल सर्वसाधारण जनता सरकारको लापरबाहीका कारण अभिभावक विहीन भएको बेला मूल्यवृद्धिले थप मारमा पारेको बताउँछन् ।

‘जनतासँग किन्नै पर्ने बाध्यता छ । दशैंको समयमा त झन् सामाजिक परम्पराका कारण पनि खर्च गर्नुपर्छ भन्ने अवस्था छ। तर, अहिले न ऋण लिन सकिने अवस्था छ न अरु विकल्प । सबैतिरबाट मूल्य वृद्धिका कारण निम्नमध्यम वर्गिय मान्छेहरु मारमा छन्’ उनी भन्छन् ।

दैनिक उपभोग्य सामग्रीको मूल्य छोइनसक्नु

कालीमाटी तरकारी बजारमा गत वर्ष भएको मूल्यको तुलनामा यो वर्ष तरकारीको मूल्यमा वृद्धि भएको छ । गत वर्ष असोज ११ गतेप्रति केजी न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ५० रुपैयाँ रहेको अदुवाको मूल्य यो वर्ष असोज ११ मा न्युनतम ६० देखि अधिकतम ७० रुपैयाँसम्म पुगेको छ ।

अदुवाजस्तै अन्य तरकारीमा पनि मूल्य उस्तै बढेको छ ।

गत वर्ष न्यूनतम ५८ देखि अधिकतम ६० रुपैयाँ प्रतिकेजी रहेको रातो आलुको मूल्य यो वर्ष ७२ देखि ७३ रुपैयाँ प्रतिकेजी भएको छ । त्यस्तै, भारतीय रातो आलुको मूल्यमा पनि वृद्धि भएको छ । गत वर्ष ३० देखि ३२ रुपैयाँ प्रतिकेजी रहेको भारतीय रातो आलुको मूल्य यो वर्ष ३६ देखि ३८ रुपैयाँ प्रतिकेजी भएको छ ।

त्यस्तै, गत वर्ष ४२ देखि ४४ रहेको सेतो आलुको मूल्य यो वर्ष ५२ देखि ५३ प्रतिकेजी पुगेको छ । लोकल काउली भने गत वर्षकै मूल्यमा बिक्री भएको छ । गत वर्ष ८० देखि १०० रहेको लोकल काउलीको मूल्य यो वर्ष असोज ११ मा पनि उस्तै छ ।

अन्य तरकारी जन्य वस्तुको तुलनामा कागतीमा भने यो वर्ष उच्च मूल्य वृद्धि छ। गत वर्ष १६० देखि १८० प्रति किलो रहेको कागतीको मूल्य यो वर्ष २२० देखि २५० प्रतिकेजी पुगेको छ । गत वर्ष ७०० देखि ८०० को मूल्यमा बिक्री भइरेको कुरिलोको मूल्य यो वर्ष वृद्धि भएर प्रतिकेजी ८ सय देखि १ हजार रुपैयाँ पुगेको छ ।

दशैंको समयमा आवश्यक खुर्सानीको मूल्यमा पनि यो वर्ष वृद्धि भएको छ । मसलाका लागिआवश्यक सुकेको खुर्सानीको यो वर्षको मूल्य ४२० देखि ४३० प्रतिकेजी छ । गत वर्ष यसको मूल्य ३ सयदेखि ३२० प्रतिकेजी थियो । सानो टमाटरको मूल्यमा गत वर्ष प्रतिकेजी २० देखि ३० प्रतिकेजी रहेकोमा यो वर्ष २२ देखि २७ पुगेको छ ।

गत वर्ष प्रतिकेजी ३२० देखि ३५० रहेको डल्ले च्याउको मूल्य यो वर्ष ४०० देखि ४५० सम्म पुगेको छ । तरकारीमा जस्तै दशैंमा बढी खपत हुने मासुमा पनि मूल्य वृद्धि भएको छ । बजारमा मनपरि मूल्य हुनेमा मासुजन्य सामग्रीहरु छन् ।

कलंकी खसी बजारकाअनुसार जिउँदो खसी तथा बोका प्रतिकिलो ६ सय २० देखि ६ सय ७० रुपैयाँमा बिक्री हुने तोकिएको छ । तर, यो वर्ष उक्त मूल्यमा थप वृद्धि हुने देखिन्छ । सँगै च्याङ्ग्राको मूल्यमा पनि अध्याधिक वृद्धि देखिने सम्भावना छ । गत वर्ष ७ देखि ८ सय प्रतिकिलोमा बिक्री भएको जिउँदो च्याङ्ग्रा यो वर्ष १६ देखि १७ सय रुपैयाँ प्रतिकिलोसम्म पुग्ने देखिएको व्यावसायीहरु बताउँछन् ।

सरकारले दैनिक उपभोग्य सामग्रीको मूल्यलाई कम गर्ने हेतुले सञ्चालन गरेका सहुलियत पसल भने यस्तो अवस्थामा बेकामेजस्तै देखिएका छन् ।

अर्थशास्त्री डा. नेपाल भन्छन्, ‘सहुलियत पसलसम्म सबै पहुँच छैन । पर्याप्त मात्रामा आवश्यक सामग्री छैन । सामग्रीको गुणस्तरको कुराहरु हुन्छन् । यस्ता कारणले सहुलियत पसलले धेरै प्रभाव पार्न सकेको छैन ।’

महँगो गाडी भाडा

काठमाडौंमा बसेर अध्ययन गरिरहेकी पोखराकी भावना अधिकारी दशैंका लागि घर जाने तयारीमा छन् । गत वैशाखमा उनी काठमाडौंबाट पोखरासम्म यात्रा गर्दा गाडी भाडा १ हजार रुपैयाँ थियो । तर, अहिले त्यो बढेर १२ सय पुगेको उनी बताउँछिन् ।

‘पोहोर जाँदा ९ सयमा गएको,’ उनी भन्छिन्, ‘यो वर्ष १२ सय भएको छ । घर जाने गाडी पाउनै गाह्रो । पाएपछि सरकारले तोकेको भन्दा धेरै मूल्यमा जानुपर्छ । अहिले १२ सयमा टिकट नै नपाउने अवस्था भइसक्यो ।’

भावनाको जस्तै अनुभव झापाका सुपल कडरियाको छ । काठमाडौंबाट रात्री बसमा असोज १५ गते गाउँ जान लागेका उनले २४ सयमा टिकट लिएका छन् । उनी भन्छन्, ‘अलि छिटो लिएकाले २४ सयमा पाइयो । नत्र अहिले लिने भए त त्यो भन्दा महँगो पर्छ।’

कडरिया गत वर्ष १९ सयमा घर पुगेका थिए । तर, यो वर्ष भने गाडी भाडामा ५ सय वृद्धि भएको छ । उनी भन्छन्, ‘वर्षमा एक पटक घर जाने मौका पाइन्छ दशैंमा । तर, अरु बेलाको भन्दा दशैंमा भाडा नै धेरै महंगो हुन्छ ।’

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुका अनुसार विभागले गत असार २७ गते निर्धारण गरेकै भाडादरमा अहिले गाडीहरु सञ्चालन भइरहेका छन् । तर, व्यवहारिक रुपमा भने त्यो अवस्था छैन ।

पनेरुकाअनुसार एसी बसले तोकिएको भाडादरभन्दा २० प्रतिशत बढी लिन पाउँछ भने सुपर डिलक्सले तोकिएको भाडादरमा बढेको २० प्रतिशतमा थप २० प्रतिशत बढी भाडा लिन पाउँछ । तर, व्यवहारिकरुपमा भने त्यो भन्दा धेरै मूल्यमा सर्वसाधारणहरु यात्रा गरिरहेका छन् । इसेवाजस्ता अनलाइनमार्फत बस टिकट लिन मिल्ने माध्यममा पनि विभागले तोकेको भन्दा धेरै मूल्यमा टिकट बिक्री भइरहेको छ ।

विभागका अनुसार गत असार २७ मा यात्रुबाहक सवारीमा १.७९ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.६ प्रतिशत भाडाादर वृद्धि भएको थियो । २०७५ मा ४९५ रहेको कलैया–तानसेन–पाल्पाको ४९५ भाडा हाल ७३५ पुगेको छ । २०७८ मा असार २९ मा सो रुटको भाडादर ६२१ तोकिएको थियो । त्यस्तै, पूर्व काकडभिट्टादेखि काठमाडौंको भाडा २०७५ मा ११ सय ७२ थियो । २०७८ मा उक्त भाडामा वृद्धि भएर १४ सय ७० पुगेको थियो । यस पटक रुटको भाडा १७ सय ४० पुगेको छ ।

त्यस्तै, काठमाडौंबाट अत्तरिया हुँदै सिलगढीको हालको भाडा २४ सय ८८ पुगेको छ । २०७५ मा यो क्षेत्रको भाडा १६ सय ७५ थियो । त्यस्तै, २०७८ मा यो क्षेत्रको भाडा २१ सय ०२ रुपैयाँ थियो । काठाडौंबाट इलामसम्म २०७५ मा १२ सय ४८ रुपैयाँ भाडादर विभागले तोकेको थियो । २०७८ मा त्यो बढेर १६ सय ९१ पुग्यो । अहिले यो रुटको भाडादर २ हजारभन्दा धेरै छ ।
त्यस्तै, हाल काठमाडौंदेखि साँफेबगरसम्मको भाडा २७ सय ८२ पुगेको छ । २०७८ मा यो २३ सय ५० थियो । त्यस्तै, २०७५ मा यो रुटको भाडादर १८ सय ७३ थियो ।

विभागका सूचना अधिकारी पनेरुका अनुसार विभागले तोकेको मूल्यसूची इन्धनलगायतका विषयमा भएको वृद्धिकै अनुपातमा तोकिएको छ । उनी भन्छन्, ‘हामीले तोकेकोभन्दा धेरै भाडा लिन पाइँदैन । हामी निरन्तर अनुगमनमा पनि छौं । एसीले तोकेको भन्दा २० प्रतिशत बढी र सुपर एसी डिलक्सले तोकेकोभन्दा २० प्रतिशत बढेको भाडादरको थप २० प्रतिशतसम्म लिन पाउँछ ।’

पटक पटक अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भए पनि नेपालमा घटेको छैन । तीन महिनाअघि प्रतिलिटर १७८ रुपैयाँ रहेको पेट्रोल र १६५ रुपैयाँ प्रतिलिटर रहेको डिजेलको मूल्य हाल १८१ रहेको छ । पटक पटक अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेकतापनि नेपालमा ने आयल निगमले आफूलाई घाटा भएका कारण मूल्य घट्न नसकेको बताएको छ । पेट्रोलियम पदार्थमा मूल्य नघट्ना सवारीसाधनसँगै दैनिक उपभोग्य वस्तुमा पनि मूल्य बढेको छ ।

मारमा निम्न वर्ग

अर्थशास्त्री डा. गोविन्द नेपाल पछिल्लो समय भइरहेको मूल्य वृद्धिले कुनै पनि नियमित तलबको भरमा बाँचेको मानिसलाई समेत असहज बनाउने अवस्था सिर्जना भएको बताउँछन् । यसमा पनि निम्न र मध्यम वर्गीय परिवारहर धेरै प्रभावित भएका छन् । तलबको भरमा वा ज्याला मजदुरीको भरमा काम गर्ने मानिसलाई मूल्य वृद्धिले मारमा पारेको नेपाल बताउँछन् ।

‘मूल्य वृद्धिको सबैभन्दा धेरै असर भोग्ने भनेको निम्न र निम्न मध्यम वर्ग हो । उनीहरु निकै प्रभावित छन्,’ डा नेपाल भन्छन्, ‘आफ्नो नियमित आम्दानीका आधारमा मूल्य वृद्धि थेग्न गाह्रो छ । तलबको भरमा वा ज्यालाको भरमा केही मात्रामा लिएको ऋणको भरमा थेग्न गाह्रो छ ।’

झन् यस्तै बेलामा चाडबाड नजिकिँदा सर्वसाधारणलाई थप समस्या भएको छ । उच्चदेखि निम्न सबै वर्गका मानिसहरुले धेरै खर्च गर्ने चाडका रुपमा रहेको दशैंको समयमा बढ्दो मूल्य वृद्धि र आकासिएको वस्तुहरुको मूल्यका कारण उत्साह नहुने अवस्था सिर्जना भएको छ ।

अर्थशास्त्री नेपालकाअनुसार दशैंको समयमा अरु बेलामा भन्दा धेरै खर्च हुने र किन्नै पर्ने भन्ने चलनका कारण बजारमा पनि मन परि मूल्य रहेको पाइन्छ । उनी भन्छन्, ‘यस्तो बेला व्यापारिहरुले पनि मनपरि मूल्य राख्छन् । बालबालिकाले किन्ने सामग्रीको मूल्य उच्च हुन्छ । निम्न वर्गीय परिवारहरुका लागि यस्तो अवस्थामा चाड मनाउने कि नमनाउने भन्ने अवस्था बनेको छ ।’

कतिपयले त खर्च धेरै हुने भएका कारण आफ्नो गाउँघर नै फर्किन नचाहनेसम्मको अवस्था बन्ने उनी बताउँछन् । दशैंको समयमा मानिसमा उत्सवको भावना हुने, मिठो मसिनो खाने र आफन्तकोमा जाने भन्ने परमपरा छ । तर, मूल्य वृद्धिका कारण यस्तो अवस्थामा कुनै पनि कुराहरु किन्नै नसक्ने भएका छन् ।

‘हरेक वर्गका मानिसको आफ्नो-आफ्नो वर्ग र समाजमा आफ्नो प्रतिष्ठा हुन्छ,’ उनी भन्छन्, ‘परिवारको चाहिने लुगा किन्न नसकेमा, मिठो खुवाउन नसक्दा उनीहरुलाई स्वभाविकरुपमा नराम्रो महसुस हुन्छ । मूल्य वृद्धिका कारण साधारण आवश्यक पनि पूरा गर्न कठिनाइ हुने अवस्था छ । यस्तोमा मनोवैज्ञानिक दबाब सिर्जना भइरहेको छ ।’


युवराज भट्टराई