दक्षिण कोरियाका मेयरले हराएको नदी फर्काएजस्तै बालेनले टुकुचा पुरानै अवस्थामा ल्याउलान् ?



काठमाडौं । काठमाडौंको मध्यभागबाट बग्ने टकुचा नदी अतिक्रमण गरी संरचनाहरु बनाइएपछि त्यसलाई पुरानै अवस्थामा फर्काउन महानगपालिका सक्रिय बनेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले टुकुचा नदी पुरेर बनाइएका संरचनाबाट नदीलाई बाहिर निकाल्ने अभियान थालेका छन् । जसअन्तर्गत बिहीबार महानगरको डोजर टुकुचा नदी पुरेको स्थानको खोजिमा निस्कियो ।

२ दशकभन्दा अघिबाट नदी पुरेर संरचनाहरु बनाइएको र आफूहरुले उक्त स्थानमा पौडी खेल्ने गरेको पाका मान्छेहरुको भनाइ र स्याटलाइट तस्बिर, इन्जिनियरिङ अध्ययन गरेर महानगरले जय नेपाल फिल्म हलको आगनमा टुकुचा खोज्ने अभियान सुरु गर्‍यो । जसको परिणाम सकारात्मक निस्कियो ।

जय नेपाल हलको कम्पाउन्डमा १५ फिट गहिरो खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा गायब थियो ।

१५ फिटमुनि इँटाको तह वा नाला मिलाएर बनाइएको सुरूङजस्तो भागबाट खोला बग्ने बनाइएको थियो र त्यसमाथि पुरेर संरचनाहरु बनाइएको छ ।

काठमाडौंमा बस्तीको बीचबाट बग्ने पाँच किलोमिटर लामो टुकुचा खोला ठाउँ ठाउँमा मात्र बाहिरी सतहमा देख्न सकिने अवस्था रहेको छ भने केही स्थानमा पुरिएको र धेरै स्थानमा खोला मिचेर नालाजस्तो बनाएर ठूला संरचनाहरु निर्माण गरिएको छ ।

विगत लामो समयदेखि स्थानीयहरुले टुकुचा अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै खोलालाई पुरानै अवस्थामा ल्याउन उत्खनन गर्नु पर्ने बताउँदै आएका थिए । तर असअघि महानगरपालिका र राजनीतिक दलहरुले त्यसमा चासो दिएनन् । विभिन्न दलमा आवद्ध व्यापारी, व्यवसायी र घरधनी हुने भएपछि महानगरले त्यसमा एक्सन लिन सकेको थिएन ।

गत स्थानीय निर्वाचनबाट स्वतन्त्र व्यक्ति बालेनले जितेसँगै पछिल्लो समय अवैध रुपमा बनेका संरचना भत्काउने काम उनले गरिरहेका थिए । यसैक्रममा शहरको मध्यभागबाट बग्ने टुकुचालाई सामान्य अवस्थामा ल्याउने भन्दै उनले टिम बनाएर यसबारे अध्ययन गरे ।

गत साउन १२ गते महानगरपालिकाले टुकुचा खोला मिचेर बनाएका संरचना हटाउनू भन्दै सार्वजनिक सूचना जारी गरेको थियो । गत वर्षहरुमा महानगरको नेतृत्वले पनि बेलाबेलामा यस्तो सूचना जारी गर्ने तर त्यसलाई फलोअप नगर्ने गरेका कारण यसपटकको सूचनालाई पनि खोलामाथि र मिचेर संरचना बनाएकाहरुले वेवास्ता गरे । सूचना जारी गरेको लामो समयसम्म पनि कसैले नहटाएपछि महानगर आफैं टुकुचा खोलाको खोजीमा जुटेको थियो ।

महानगरले डोजर चलाएको स्थानमा टुकुचा खोला कलकल बगिरहेको देखिएसँगै स्थानीय र सर्वसाधारणले महानगर र मेयर बालेनको खुलेर प्रशंसा गरिरहेका छन् र यो अभियान पूरा हुनुपर्ने बताइरहेका छन् ।

महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बिहीबार जय नेपाल पुगेर खोला अतिक्रमणमुक्त गरेर दायाँबायाँ सडक करिडोर बनाउने बताएकी छन् ।

मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले पाँच वर्षभित्र टुकुचा अतिक्रमणमुक्त गरिसकिने दाबी गरे । अतिक्रमणमुक्त गर्न र दायाँबायाँ करिडोर बनाउन महानगरले ६ अर्ब रूपैयाँको बजेट छुट्टयाएको उनी बताउँछन् । शाहका अनुसार पानी बग्ने भागका लागि खोलामा चार मिटर र दायाँबाँया चार/चार मिटरको कोरिडोर बनाइने उनी बताउँछन् । तर, यो काम त्यति सहज भने छैन ।

अधिकांश स्थानमा साँघुर्‍याइएको र केही स्थानमा लुकाइएको शहरको मध्यभागबाट बग्ने टुकुचालाई खुला गरेर व्यवस्थापन गर्न सके यसले शहरी सौन्दर्यमा राम्रो प्रभाव पार्ने निश्चित छ ।

कतिपयले टुकुचालाई खुला गर्न सहज नभएको बताइरहँदा विश्वका अन्य देशका मुख्य शहरमा यसैगरी लुकाइएका र अतिक्रमणमा परेका खोला/नदीले पुनर्जीवन पाउन सफल भएको उदाहारण छन् ।

दृण इच्छाशक्ति र लगनशीलताले त्यसलाई पूरा गर्न सक्छ भन्ने उदाहरण दक्षिण कोरियाको राजधानी सियोल सहरमा पुरिएको र अहिले पुनर्जिवन पाएको चोंगगीचेओन नदीलाई हेर्न सकिन्छ । त्यस्तै अन्य केही दुर्लभ नदीहरु पनि रहेका छन् जसले पुनर्जीवन परियोजनाको माध्यमबाट अहिले पहिलेकै वा त्यसभन्दा राम्रो अवस्थामा बग्न पाइरहेका छन् ।

चेओंगगीचेओन नदी, दक्षिण कोरिया

दक्षिण कोरियाको राजधानी सियोलको मध्य शहरबाट बग्ने चेओंगगीचेओन नदी नेपालको टुकुचासँग तुलना गर्न मिल्ने नदी हो । यो नदी प्रदुषित भएर नालाको रुपमा बग्दै आएको थियो ।

स्थानीय भाषामा चुंग-गे-चुन भनिने उक्त नदी सियोल शहर हुँदै पश्चिमबाट पूर्व दिशातर्फ बहन्छ । यो नदी पहेलो सागरमा पुग्नुअघि हान नदीमा मिसिन्छ । कोरियाली युद्धका क्रममा धेरै मानिस सियोलतर्फ पलायन भएका थिए । पछि मानिसहरु चेओंगगीचेओन नदीको किनारामा अस्थायी बनाएर बस्न थाले र नदीमा प्रदूषण अत्यधिक बढ्यो ।

प्रदूषणको मात्रा अत्याधिक बढेपछि त्यसलाई तत्कालीन सरकारले कंक्रीटले ढाकेर १९७९ मा चोंगगीचेओन नदीमाथि ५.६ किमि लामो र १६ मिटर चौडाको एक राजमार्ग बनाएको थियो ।

नदीलाई पुरेर बनाइएको संरचना हटाएपछिको चोंगगीचेओन नदी

जुलाई २००३ मा सियोलका तत्कालीन मेयर ली मायुंग-बकले चोंगगीचेओन नदीलाई पहिलाको स्थितिमा ल्याउनका लागि प्रस्ताव जारी गरे ।

यस परियोजनाको उद्देश्य सियोलको वातावरणलाई राम्रो र पुरानो डिजाइनका साथ पर्यावरण अनुकूल बनाउने थियो । यसका लागि नदीलाई पुरानै अवस्थामा ल्याउन मेयर लागि परे । यसका लागि राजमार्ग भत्काइयो । र त्यहाँ चोंगगीचेओन नदीका लागि एक कृत्रिम बाटो बनाइयो । जसको किनारमा पार्क निर्माण गरियो ।

यसलाई पुनर्जीवित गर्नका लागि हान नदी, त्यसको सहायक नदी र भूमिगत जलबाट लगभग १ लाख २० हजार टन पानी यो नदीको धारामा हालियो ।

चोंगगीचेओन पहिलाको भन्दा राम्रो अवस्थामा फर्किएको छ । उक्त नदीको क्षेत्रमा आज पार्क बनाइएको छ । जुन उद्देश्यले यस नदीको पुनर्जीवित गरिएको थियो त्यो सफल भएको छ ।

वातावरणको सुधारमा यसको निकै सकारात्मक प्रभाव देखिएको छ । ९ सय मिलियन अमेरिकी डलरको यो परियोजनाको शुरुमा चर्को आलोचना भएको थियो । तर सन् २००५ मा जब यो खुला भयो तब स्थानीय र पर्यटकबीच यो लोकप्रिय बन्यो ।

वरत्तर नदी, भारत

भारतमा पनि केही यस्ता दुर्लभ नदीहरु छन् जो मानवीय अतिक्रमणको शिकार बने । जसमध्ये एक हो वरत्तर नदी । दक्षिणी केरलको तेस्रो सबैभन्दा ठूलो नदी पम्बाको सहायक नदी हो वरत्तर ।

एक समय थियो जब यो नदी सयौं घरका लागि जीवनको आधार थियो । तर केही दशक पहिले अवैध बालुवा खानी र भूमि अतिक्रमणले वरत्तर नदी दोहनको चपेटामा पर्‍यो । अचल सम्पत्तिको विकासका लागि यो नदीलाई पुरेर संरचनाहरु बनाउने काम गरिएको थियो ।

पर्यावरण विधायी समितिले २००२ मा वरत्तर नदीको निरीक्षण गर्‍यो र नदीको दुई तिहाइ भागमा अतिक्रमण गरिएको र कतिपय स्थानमा नदी पुरेर संरचनाहरु बनाएको पाइएको बताएको थियो । तर यसलाई बचाउन सक्ने निष्कर्ष समितिले निकाल्यो । दुर्लभ नदीलाई पुनर्जीवित गर्नका लागि ‘वरात्ते आर’ अभियान शुरू गरिएको थियो । मलयालममा ‘वरात्ते आर’ को अर्थ हो ‘नदीलाई बग्न देउँ’।

यस अभियानमा मानिसहरु सक्रिय बने । केरलका मानिसले वरत्तर नदीलाई पुनर्जीवित गर्ने निर्णय गरे । संसाधन र जनशक्ति एक जुट गरेर नदीको बाटोमा गैरकानूनी रूपमा बनाइएको बालुवाका थुप्रा हटाइयो भने अवैध बालुवा खानीमा रोक लगाइयो । नदीको दोहन गरेर बनाइएका संरचनाहरु भत्काइयो । नदी खुला गरिएसँगै जब मनसुन आयो तब नदी गडगडाएर आफ्नो पुरानै बाटोमा बहन थाल्यो ।

पेनब्स्कट नदी, अमेरिका

प्राचीन समयमा अटलान्टिक सेल्मन नामक माछाको प्रजाति पेनब्स्कट नदीमा पाइन्थ्यो । तर मिलफोर्ड बाँध, वेस्ट एनफील्ड बाँध र वेल्डम बाँधको निर्माणका साथ सेल्मन माछाको प्रजनन मार्ग पनि बन्द भयो । यसका अलावा, जब नदीको किनारामा रुखको कटान जस्ता गतिविधीले पनि पारिस्थितिक तन्त्रमा नराम्रो असर पार्‍यो ।

जसले पेनबस्कट नदीको नाम दुर्लभ नदी हुन पुग्यो । किनकी बाँधका कारण जल प्रबाह बन्द भयो जसले सेल्मन माछाको प्रजाती लोपोन्मुखमा पर्न गयो । यसपछि पेनब्स्कोट परियोजना शुरू गरिएको थियो । जसको उद्देश्य जलविद्युत उत्पादनलाई प्रभावित नगर्ने गरी अटलान्टिक सेल्मनको संख्या बढाउनु थियो ।

सबैभन्दा परिवर्तनात्मक नदी बगाउने परियोजनामध्ये एक, यस नदीको मार्गलाई २ हजार मीलसम्म खोलियो । माछाको बसोबासमा बाधा उत्पन्न गराउने दुई बाँध भत्काइएको थियो र तेस्रो बाँधको आसपास बाईपास बनाइएको थियो । अहिले माछा यस बाईपासको प्रयोग गरेर प्रजनन आवाससम्म पुग्ने गर्छन् । जसको नतिजा लुप्त प्राय अटलांटिक सेल्मनको संख्या अन्य माछाहरु जस्तै रिवर हेरिंग, शेड, अमेरिकन इलका साथ बढेको छ ।

अरवरी नदी, भारत
भूमाफिया, बालुवा उत्खनन, रुख बिरुवा कटाका कारण भारतको अरवरीया नदी ६ दशकभन्दा लामो समयदेखि खुख्खा बन्यो । धेरै समय सुख्खा रहेको अलवर जिल्लाको अरवरी नदीलाई पुनर्जीवित गरिएको छ ।

पर्यावरणविद् राजेन्द्र सिंहले स्थानीयको सहायतमा नदीको किनारा मुख्य रूपमा हरियाणा र राजस्थान राज्यमा उपयोग गरिने वर्षा जल भण्डार बनाउने अभियान चलाए । कयौं वर्षपछि उनको मेहनले सार्थकता पायो जब अरवरी नदी फेरि बग्न थाल्यो । आज ४५ किलोमीटर लामो यो नदी वर्षभर बगिरहेको हुन्छ ।

अरवरी नदीले सन् २००४ मा अन्तर्राष्ट्रिय नदी पुरस्कार पनि पाएको थियो । डा सिंहले अहिले नदी किनारामा अवैधरुपमा सञ्चालिन बालुवा उत्खनन रोक्न अभियान चलाइरहेका छन् । उनी र उनको टीमले बिगत केही वर्षमा ८ हजार ६ सय भन्दा धेरै पानी सञ्चय भण्डारहरु बनाएका छन् र राजस्थानका पाँच नदीलाई पुनर्जीवित गरेका छन् । जसका कारण डा सिंहलाई २००१ मा म्यागासेसे पुरस्कारबाट सम्मानित गरिएको थियो ।

थेम्स नदी, बेलायत
सन् १९५० को दशकको अन्त्यमा बेलायतको दोस्रो लामो नदी थेम्सलाई जैविक रूपमा मृत घोषित गरिएको थियो । युद्धका क्रममा नदीमा ढलहरु मिसाइएको थियो जसले थेम्स एक दुर्घन्धित र प्रदुशित नालीमा परिणत भएको थियो ।

युद्ध समाप्त भएको लगभग एक दशकपछि सम्म पनि बेलायतले यसको सफाइमा कुनै ध्यान दिएको थिएन । पछि ढल प्रणालीमा सुधार कार्यक्रम सञ्चालन गरियो त्यसपछि उक्त नदीको संरक्षणमा ध्यान पुगेको थियो । र, अहिलेको अवस्थामा थेम्स नदी रहेको छ ।

पछिल्लो समयमा मानिसको पर्यावरणप्रति जागरूकता बढ्यो । जसका कारण नदीमा फ्याकिने कीटनाशक र विषादीका विरुद्ध कडा कानून बनाइयो ।

नदीबाट ढल र फोहरमा परिणत भइसकेको यस नदीले एक नयाँ जीवन पायो । अहिले थेम्स नदी एक विकसित शहरका बीच बहने सबैभन्दा साफ नदीमध्ये एक हो । यससँगै अहिले थेम्समा माछा पौडन थालेका छन् । सन् १९५० को दशकसम्म जुन नदीमा कुनै माछा बस्दैन थियो अहिले १२५ प्रजातिका माछाहरु रहेका छन् ।

प्राकृतिकरुपमा बग्न पाउँदैनन् नदी
एक अध्ययन अनुसार संसारका लामो नदीहरूमध्ये लगभग एक तिहाइमात्र प्राकृतिक रुपमा बगिरहेका छन् । ती नदीहरुमा मात्र मानव निर्मित बाँध वा अन्य कुनै अबरोध गरिएको छैन ।

एशियाको १ हजार ७ सय माइल लामो साल्वीन नदी जस्ता केही अपवादहरू भए पनि, लगभग ६ सय माइलभन्दा लामो नदीहरु प्राकृतिक रुपमा बहने नदीहरु आर्कटिकको दुर्गम क्षेत्रहरू, अमेजन र कंगो बेसिनहरूमा सीमित छन् । वैज्ञानिकहरूले यस्ता ड्यामसहितका अबरोधले विश्वका प्रमुख नदीहरूमा मानिस र वन्यजन्तुको अस्तित्वको लागि निर्भर पारिस्थितिक प्रणाली खतरामा पार्ने चेतावनी दिएका छन् ।


क्लिकमाण्डू