टोयटाको व्यापारमा उछाल, साढे ७ अर्बको कारोबार



काठमाडौं । टोयटा ब्रान्डमा सवारी साधनको नेपालको लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेटको व्यापारमा उछाल आएको छ । कोरोना महामारीका कारण खस्किएको व्यापार कोरोनापश्चात् व्यापार उच्च भएको हो ।

कम्पनीले गत वर्षमात्रै साढे ७ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ७ अर्ब ६१ रकोड ९० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको जनाएको छ ।

कम्पनीले सन् २०२१ को तुलनामा ५६.६३ प्रतिशतले व्यापार बढेको जनाएको छ । त्यसैले रेटिङ एजेन्सीले व्यापारमा सुधार हुँदै गएकाले डेभलपिङ इम्लिकेशनको रेटिङ दिएको छ । कम्पनीले यसअघि ४ अर्ब रुपैयाँको रेटिङ गराएको थियो ।

कम्पनीले गत वर्ष ११.०६ प्रतिशतले नाफा कमाएको छ । सन् २०२१ मा ८.०९ प्रतिशतले नाफा कमाएको थियो । कम्पनीअनुसार सन् २०२२ मा सवारी साधनको मूल्य बढ्नुका साथै उत्पादनमा मिश्रणमा अनूकुल परिवर्तन भएकाले उच्च व्यापार भएको हो ।

सन् १९६७ देखि टोयटाको सवारी साधन, पाटटपूर्जा र सेवा प्रदान गर्दै आएको कम्पनी वैद्य परिवारबाट सञ्चालित कम्पनी हो । कम्पनीमा सुरज वैद्यको ६० प्रतिशत, उनकी पत्नी रितुसिंह वैद्यको ३० प्रतिशत र सुसन वैद्य श्रेष्ठको १० प्रतिशत स्वामित्व छ ।

कम्पनीले सन् २०२१ मा ४ अर्ब ८६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२० मा ३ अर्ब ३० करोड ५० लाख रुपैयाँ र सन् २०१९ मा ५ अर्ब ८८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले यसअघि गराएको रेटिङअनुसार सन् २०२२ मा पनि गाडीको माग अत्यधिक रहेको जनाएको थियो । कम्पनीले सन् २०२२ को ६ महिनामा मात्रै ४ अर्ब ४४ करोड ५० लाख रुपैयाँ बराबरको ३०५ वटा गाडी बिक्री गरिसकेको जनाएको थियो ।

सरकारले हालै प्यासेञ्जर भेहिकल तथा जीप, कार र भ्यानको आयातमा लगाएको प्रतिबन्धले कम्पनीको आम्दानीमा आगामी समयमा असर पर्ने समेत देखिएको छ ।

कम्पनीका अध्यक्ष सुरज वैद्य विगत ३० वर्षदेखि निरन्तर कम्पनीको नेतृत्व गरिरहेका छन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत हुन् । कम्पनीमा प्रबन्ध निर्देशकका रुपमा रितुसिंह वैद्य छिन् ।

नेपालमा विशेषगरी एसयूभी सेग्मेन्टमा टोयोटाका गाडी लोकप्रिय छ । कम्पनीले बिक्री गर्ने आरएभीफोर हाइब्रिड, कोरोला क्रसओभर, फर्च्युन र प्राडो अत्यधिक रुचाइएका मोडेलमा पर्छन् ।

कम्पनीका नेपालका मुख्य सहरहरु काठमाडौं, ललितपुर, पोखरा, चितवन, बुटवल, बिराटनगर, जनकपुर, धनगढी, नेपालगञ्ज, झापालगायत स्थानमा १० वटा डिलर छन् । जसमध्ये कम्पनीका आफ्नै ३ वटा शोरुम सञ्चालनमा छन् ।


क्लिकमान्डु