भारतले चामल निर्यातमा कर बढाएपछि कति महंगीयो नेपालीको भान्सा ?



काठमाडौं । भारत सरकारले चामल निर्यातमा २० प्रतिशतमा कर लगाएको छ । भारत सरकारले आन्तरिक आपूर्तिलाई सहज र बलियो बनाउनका लागि भन्दै चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

भारत सरकारले यसअघि गहुँ, चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो । रुस र युक्रेनबीचको द्वन्द्वले खाद्यान्न आपूर्ति गर्न समस्या भएको र आन्तरिक बजारमा आचक्ली मूल्य बढेकाले बजारमा व्यवस्थित गर्त भारत सरकारले गहुँ र चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध लगाएसँगै अहिले गहुँको पिठोको अभावसँगै मूल्य अचाक्ली बढेको छ ।

त्यस्तै, अहिले भारत सरकारले एकपछि अर्को निर्णय गर्दै खाद्यान्न निर्यातमा कडाइ गर्दै लगेको छ । भारत सरकारले बासमतीबाहेकको अन्य चामल निर्यातमा २० प्रतिशत निर्यात भन्सार महसुल लगाउने निर्णय भएको रोयटर्सले जनाएको छ ।

भारतले विश्वका १५० भन्दा बढी देशमा चामल निर्यात गर्दै आएको छ । भारतीय सञ्चारमाध्यमअनुसार भारत सरकारले यो वर्ष धानको उत्पादन घटेको कारणले पनि निर्यातमा कडाइ गरेको जनाएको छ । यो वर्ष भारतमा ५.६२ प्रतिशत धान रोपाइँ घटेको छ ।

चीनपछि भारत विश्वकै सबैभन्दा बढी धान उत्पादन गर्ने देश हो । विश्भर उत्पादन हुने धानमा भारतको ४० प्रतिशत हिस्सा रहेको सञ्चारमाध्यममा उल्लेख छ ।

भारत सरकारले सन् २०२१/२२ मा मात्रै २ करोड १२ लाख टन चामल निर्यात गरेको थियो । जसमा भारत सरकारले बासमति चामलमात्रै ३९ लाख ४० हजार टन निर्यात गरेको थियो । साथै, बासमतिबाहेक अन्य चामल ६.११ अर्ब डलरको निर्यात गरेको थियो ।

भारत सरकारले कनिका निर्यातमा पूर्णप्रतिबन्ध लगाएको छ । उक्त प्रतिबन्धले बियर उद्योगसँगै दाना उद्योगलाई प्रत्यक्ष असर देखिने भएको छ ।

भारत सरकारले २० प्रतिशत कर लगाएसँगै नेपालमा त्यसको प्रत्यक्ष असर देखिने भएको छ । यसअघि भारत सरकारले चामल निर्यातमा कुनै पनि भन्सार दर लिने गरेको थियो । तर, आन्तरिक उत्पादन कम भएको र बजारमा मूल्यवृद्धि कम गर्नका लागि भारत सरकारले भन्सार दर बढाएको भारत सरकारले जनाएको छ ।

भारत सरकारले बासमति चामलबाहेक अन्य प्रकारका चामल निर्यातमा २० प्रतिशत करको निर्णयले नेपाली बजारमा चामलको मूल्य बढ्ने उद्योगीहरूले बताएका छन् ।

भारत सरकारले २० प्रतिशत कायम गर्ने भएपछि सेतो र खैरो चामलको आयातमा बढी प्रभावित हुने देखिएको छ । भारतले निर्यात गर्ने सेतो र खैरो कुल चामलको कुल हिस्सा ६० प्रतिशत छ । जसले गर्दा आगामी दिनमा २५ प्रतिशतले निर्यात घट्ने भारतीय उद्योगीहरूले अनुमान गरेका छन् ।

त्यस्तै, भारत सरकारले चामल निर्यातमा कर बढाउने निर्णयले नेपालीहरुको भान्सा झनै महंगिने भएको छ । नेपाल चामल, तेल, दाल तथा उत्पादक संघका महासचिव दिपक कुमार पौडेलले चामलमा लगाइएको करले नेपालीहरूको भान्सा महंगिने बताए ।

उनकाअनुसार नेपालले अधिकांश चामल भारतबाट आयात गरेर आपूर्ति गर्दै आएका छन् । भारत सरकारले बासमतिबाहेकका चामलमा कर बढाएको छ । नेपालमा मध्यम वर्गले खाने सेतो चामलमा कर लगाएसँगै आगामी दिनमा चामलको मूल्य बढ्नेछ ।

‘भारत सरकारले बासमतिबाहेक अन्य चामलमा कर लगाइएको छ । तर, कुन र कस्तो चामलमा हो भन्नेबारे स्पष्ट भएको छैन । यस विषयमा उद्योगीहरूबीच छलफल भइरहेको छ,’ उनले भने ।

संघले आइतबार उद्योगीहरूबीच विशेष छलफल गर्ने भएको छ । नेपालले कृषि सुधार शुल्क र फिर्ता नहुने गरी आयकर गरी ८ प्रतिशत लाग्थ्यो । अहिले त्यसमा थप २० प्रतिशत कर पनि लाग्ने भएको छ ।

जसले गर्दा नेपालले आयात गर्दै आएका चामलमा थप बढी रकम बाहिरिने भएको छ । नेपालले गत वर्ष मात्रै ४७ अर्ब ५७ करोड ३६ लाख ८४ हजार रुपैयाँ बराबरको १ अर्ब १३ करोड ५ लाख १६ हजार केजी धान, धामल तथा ब्रोकन राइस आयात गरेको छ ।

त्यसमा नेपालले १६ अर्ब ९९ करोड ७ लाख रुपैयाँको ५५ करोड १७ लाख ४९ हजार केजी धान, ६ लाख ७६ करोडको ६ हजार ४९२ केजी ब्राउन राइस, २९ अर्ब ४ करोड ५८ लाख रुपैयाँको ५२ करोड ८३ लाख ७५ हजार केजी चामल र १ अर्ब ५३ करोड ६५ लाख रुपैयाँको ५ करोड ३ लाख ८६ हजार केजी ब्रोकन राइस (कनिका) आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

नेपाल चामल आयातमा पूर्ण भर पर्ने भएकाले पनि आगामी दिनमा किलो नै १५ रुपैयाँदेखि १८ रुपैयाँसम्म बढ्ने देखिन्छ । साथै, अहिले बजारमा पाइने विभिन्न ब्रान्डको जीरा मसिनो चामलको मूल्य प्रतिबोरा १७ सयदेखि २२ सय रुपैयाँसम्म मूल्य पर्छ । मोटा चामलको मूल्य प्रतिबोरा १५ सयदेखि १७ सय मूल्य पर्छ ।

आगामी दिनमा भारत सरकारको करसमेत तिर्दा प्रतिबोरा चामल २ हजारभन्दा कममा नआउने देखिन्छ । नेपाली बजारमा सबैभन्दा बढी खपत हुने जीरा मसिनो र मोटा चामल हो । त्यसमा विभिन्न ब्रान्डको जिरा मसिनो र मोटा चामल ५, २०, २५ र ३० केजीको बोरामा पाइन्छ । हाल नै कम्तिमा १७ सय प्रतिबोरा बिक्री भइरहेको चामलको मूल्य २० प्रतिशत कर लाग्दा २ हजारभन्दा कम मूल्यमा नआउने भएको हो ।

‘नेपालमा बासमति चामलभन्दा जिरामसिनो र मोटा खालको चामल बढी खपत हुन्छ । नेपालीहरूले खाद्यान्नको रुपमा चामल नै बढी खपत हुने भएकाले भारतको कर वृद्धिले चामलको मूल्य अत्याधिक बढ्नेछ,’ उनले क्लिकमाण्डूसँग भने ।

भारत सरकारले लगाइएको करले चामलको मूल्य मात्रै नभएर अवैध कारोबार बढ्ने भएको छ । नेपाल र भारतबीच खुल्ला सिमाना भएकाले कर बढाएसँगै भन्सार छलेर उच्च चामल आयात हुन सक्ने उद्योगीहरूको भनाइ छ । साथै, कनिका प्रतिबन्धको निर्णयले प्याकेजिङदेखि उत्पादन कम्पनीमा ठूलो असर पुग्ने उनले बताए ।


अरिष्मा मोक्तान