सरकारले सेनेटरी प्याडमा लगाएको भन्सार दरले उद्योग बन्द हुन थालेः उद्योगी



काठमाडौं । सरकारले सेनेटरी प्याडमा लगाइएको भन्सार दरका कारण उद्योग बन्द हुन थालेको व्यवसायीहरूले बताएका छन् ।

नेपाल सेनेटरी प्याड उत्पादक संघको प्रथम अधिवेशनमा व्यवसायीहरूले सरकारको नीतिले उद्योग सञ्चालनमा समस्या भएको बताएका हुन् ।

सेनेटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार महसुल छुट दिएको सरकारले कच्चा पदार्थ आयातमा भने उच्च भन्सार महसुल तोकेको भन्दै उद्योग बन्द गर्न बाध्य भएको उनीहरूको भनाइ छ ।

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा सेनेटरी प्याडमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुलमा ९० प्रतिशत कटौती गरी १.५ प्रतिशत कायम गरिएको छ ।

तर, विदेशबाट कच्चा पदार्थ आयात गरी नेपालमै सेनेटरी प्याड उत्पादन गर्ने उद्योगीले भने विभिन्न वस्तुमा भन्सार महसुल सरदरमा ७.५ प्रतिशत तिर्नुपर्ने भएकाले नेपालमा उत्पादन गर्ने नसक्ने स्थिति आएको व्यवसायीहरूको भनाइ छ ।

संघका अध्यक्ष विश्व थापाले सरकारको नीतिले नै प्याड उद्योगमा आकर्षण भएको भए पनि अहिले सरकारकै नीतिले विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको बताए ।

उनकाअनुसार सरकारले आयातित प्याडलाई ९० प्रतिशत छुट दिई कच्चा पदार्थमा चर्को भन्सार दर कायम गरेको छ । उक्त व्यवस्थाले स्वदेशी उद्योग बन्द हुने अवस्थामा पुगेको छ ।

प्याड उद्योगीहरूले रोजगारीसँगै विद्युतको उच्च खपत गर्दै आएको अवस्थामा उद्योग नै धारासायी हुने गरी बजेट ल्याएको बताए । सरकारले ल्याएको बजेटले अहिले ८ घण्टा पनि राम्रोसँग उद्योग नचलेको उनले दुखेसो पोखे ।

व्यवसायी मिरा लामिछानेले सरकारले ल्याएको बजटले स्वदेशी उद्योगीलाई निरूत्साहित गरेको बताइन् । सरकारले आयातित प्याडलाई भारी छुट दिँदा कच्चा पदार्थ आयात गरी उत्पादन गर्दै आएको व्यवसायीहरूले दिँदै आएको रोजगारीमा कटौती गरी उद्योग बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको उनले बताइन् ।

‘कुनै पनि उद्योगले विगतका दिनमा २० जनालाई रोजगारी दिँदै आएको छ भने अहिले ५ जनालाई पनि रोजगारी दिन नसक्ने अवस्थामा पुगेको छ,’ उनले भनिन् ।

त्यस्तै, रिजाल सेनेटरी प्याड उद्योगका अध्यक्ष विनेन्द्र रिजालले आयातित प्याडलाई प्रोत्साहन गर्दा स्वदेशी उद्योग समस्यामा परेको बताए । नेपालमा उत्पादन भएको प्याड गुणस्तरीय भएपनि बजारीकरणको समस्या छ । जसले गर्दा आयातित प्याडसँग प्रतिस्पर्धा गर्न नसकेको अवस्थामा प्याड आयातमा सरकारले प्रोत्साहन गर्दा स्वदेशी उद्योग झनै संकटतर्फ धकेलिएको छ ।

उद्योगी सज्जन कुमार श्रेष्ठले प्याड उत्पादन गर्न विभिन्न देशबाट महंगो तिरेर कच्चा पदार्थ आयात गर्नुपर्छ । उक्त आयातित कच्चा पदार्थबाट उत्पादित प्याडले विदेशी प्याडसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छ । तर, सरकारले स्वदेशी उद्योगलाई निरुत्साहित गर्ने गरी भन्सार दर कायम गरेकाले समस्या निम्तिएको बताए । सरकारले चालु आर्थिक वर्षको बजेटले प्याड उद्योगलाई सहयोग नगरेको उनले जिकिर गरे ।

अर्थविद चन्द्रमणि अधिकारीले चालु आर्थिक वर्षको बजेटले सेनेटरी प्याडमा नीतिगत भ्रष्टचार भएको बताए । उनकाअनुसार स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नुको साट्टो आयातित वस्तुलाई प्रोत्साहन गरेको देखिन्छ । उक्त नीतिले गर्दा स्वदेशी उद्योग झनै संकटमा पुग्ने उनले उल्लेख गरे ।


क्लिकमान्डु