ग्लोबल इक्विटी फण्डमा लगानी माग्नेको घुँइचो, नेपालमा यसरी शुरु भयो प्राइभेट इक्विटीको ‘युग’



ग्लोबल इक्विटी फण्डका म्यानेजिङ पार्टनर मनिष थापा

काठमाडौं । नेपालमा पहिलो पटक ग्लोबल इक्विटी फण्डले भेञ्चर क्यापिटल व्यवसाय सञ्चालनका लागि इजाजतपत्र (लाइसेन्स) पाएपछि म्यानेजिङ पार्टनर मनिष थापा उत्साहित छन् ।

अहिलेसम्म नेपालमा लगानी गर्ने स्रोतका रुपमा व्यक्तिगत रकम र बैंकको ऋणमात्र थियो । अब उद्योग, व्यवसाय, स्टार्टअपहरुका लागि लगानीका नयाँ स्रोतका रुपमा प्राइभेट इक्विटी फण्ड र भेञ्चर क्यापिटल पनि थपिएका छन् ।

झन्डै चार वर्षको पखाईपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साउन १८ गते ग्लोबल इक्विटी फण्डले भेञ्चरले क्यापिटल व्यवसाय सञ्चालनको इजाजतपत्र प्रदान गरेको छ ।

ग्लोबल इक्विटी फण्डले अनुमतिपत्र प्राप्त गरेपछि मनिषको व्यस्तता अझ बढेको छ ।

‘हिजोआज हरेक दिन कम्तीमा २० वटा कम्पनीहरु लगानीको माग गर्दै आएका छन्,’ मनिष उत्साहित हुँदै भन्छन्, ‘इक्विटी फण्डले पहिलो पटक लाइसेन्स पाएपछि प्राविधिकसहित नगद लगानी पाउने भएकाले माहोल धेरै राम्रो बनेको छ ।’

ग्लोबल इक्विटी फण्डले पहिलो चरणमा २ देखि ३ अर्बको फण्ड तयार गरेर ६ क्षेत्रमा लगानी गर्ने तयारी गरिरहेको छ ।

इजाजतपत्र पाएर काम शुरु गर्दै गर्दा प्राइभेट इक्विटी के हो ? र कसरी काम गर्छ भन्ने विषयमा थप बहस शुरु भएको छ ।
‘व्यक्तिगत लगानी र बैंकको ऋणपछि प्राइभेट इक्विटी लगानीको तेस्रो स्रोत हुन्,’ मनिषले भने, ‘जसलाई वैकल्पिक लगानीको स्रोत पनि भनिन्छ ।’

सानादेखि ठूलो कर्पोरेटहाउसहरु पनि नयाँ लगानीको स्रोत शुरुवात भएको भनेर उत्साहित भएको मनिषको भनाइ छ ।

प्राइभेट इक्विटीले कुनै पनि उद्योग व्यवसायमा पैसामात्र लगानी गर्दैन । पैसासँगै व्यवस्थापकीय क्षमता, प्राविधिक सहयोग, नेटवर्किङ, अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर पनि प्राइभेट इक्विटीले दिन्छन् ।

यसले भविष्यमा ठूलो सम्भावना राखेका उद्योग व्यवसायहरुले लगानीसँगै अन्य फाइदा प्राप्त गर्न पनि प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलहरुको सहयोग लिन थालेका छन् ।

जस्तै अहिले डोल्मा इम्प्याक्ट फण्ड वा बिजनेस अक्सिनजले लगानी गरेका कम्पनीहरुलाई पैसामात्र नभएर उनीहरुले अन्तर्राष्ट्रिय लिंकेजको सुविधा पनि दिएका छन् ।

कुनै पनि प्राइभेट इक्विटीको जिम्मेवारी लगानी भएको संस्थालाई अझ बढी प्रतिफल कसरी ल्याउने भन्ने पनि हो । त्यसका लागि उनीहरुले व्यवस्थापकीय क्षमता वृद्धिमा सहयोग गर्छन् ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट इजाजतपत्र लिदै ।

नेपालका कतिपय कम्पनीहरुले लगानी आवश्यक नहुँदा नहुँदै पनि आफ्नो व्यवस्थापकीय क्षमता वृद्धि गर्न र नेटवर्किङ बिस्तार गर्न प्राइभेट इक्विटीमार्फत् लगानी लिन चासो देखाइरहेका छन् ।

त्यस्तै, पब्लिक कम्पनीमा जाने व्यवसायहरुलाई प्राइभेट इक्विटी फण्डको सहयोग अझ धेरै महत्वपूर्ण हुने मनिषको भनाइ छ ।

कम्पनी राम्रो हुन व्यवस्थापकीय सुशासन, नीति नियम र व्यवसायभित्रको सुसंस्कार राम्रो हुनु आवश्यक छ । यसमा प्राइभेट इक्विटीले सहयोग गर्छन् । पब्लिकमा जानुअघि गर्नुपर्ने तयारीमा प्राइभेट इक्विटीले सहयोग गर्छन् । जसले गर्दा संस्थालाई पब्लिकमा जान सजिलो हुन्छ ।

स्टार्टअप र नवप्रवर्तककारी व्यवसाय अगाडि बढाउन भेञ्चर क्यापिटलले ठूलो सहयोग गर्दै आएका छन् । फेसबुक, याहु, अमेजन जस्ता कम्पनीहरु प्राइभेट भेञ्चर क्यापिटलबाट पैसा लिएर नै ठूलो सफलता पाए । हालको अवस्थामा नेपालको सन्दर्भमा पनि अझ सान्दर्भिक रहेको मनिष बताउँछन् ।

तीन वर्षअघिसम्म नेपालमा प्राइभेट भेञ्चर इक्विटी लगानी गर्ने भन्ने सोच नै थिएन तर पछिल्लो दुई वर्षमा यसले व्यापकता पाएको छ ।

अहिले स्थापित ठूला व्यवसायी पनि प्राइभेट इक्विटीको फण्ड लिन तयार भएका छन् । यसो हुनुको कारण स्थापित बिजनेस हाउसमा नयाँ पुस्ता आएका छन् । उनीहरु विदेश पढेर आएका छन् र प्राइभेट इक्विटीको बारेमा राम्रो ज्ञान राख्छन् ।

यसले गर्दा कतिपय कम्पनीहरु पारिवारमा मात्रै सीमित व्यवसायको दायरलाई फराकिलो बनाउनका लागि प्राइभेट इक्विटीको फण्ड प्रयोग गर्न चाहिरहेका छन् ।

भेञ्चर क्यापिटल र प्राइभट इक्विटीको विषयमा दुई फरक विषय रहेको मनिष बताउँछन् ।

‘प्राइभेट इक्विटी भनेको भेञ्चर क्यापिटल होइन । प्राइभेट इक्विटीले भेञ्चर क्यापिटलमा मात्रै लगानी गर्दै होइन,’ मनिषले भने, ‘प्राइभेट इक्विटीको एउटा युनिट भेञ्चर क्यापिटल भने हो ।’

प्राइभेट इक्विटीले भेञ्चर क्यापिटल, स्टार्टअपमा मात्र लगानी गर्ने नभइ उद्योग कलकारखाना, व्यापार व्यवसायमा पनि लगानी गर्छन् । प्राइभेट इक्विटीले स्टार्टअपमा मात्र लगानी गर्छ भन्ने गलत बुझाइ भएको उनको भनाइ छ ।

६ क्षेत्रमा लगानी गर्दै ग्लोबल इक्विटी फण्ड
ग्लोबल इक्विटी फण्डमार्फत् विभिन्न क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित फण्ड जम्मा गर्ने कम शुरु भइसकेको मनिषले बताए ।

पहिलो चरणमा ग्लोबल इक्विटी फण्डले स्वदेशी लगानीकर्ताबाट २ देखि ३ अर्ब रुपैयाँ बराबरको फण्ड जम्मा गर्नेछ । यसमा गैरआवासीय नेपालीले पनि लगानी गर्न चासो देखाएका छन् ।

अष्ट्रेलियबाट अहिले पनि ५० जनाले लगानी गर्न इच्छा व्यक्त गरेको उनले बताए । दोस्रो चरणमा विदेशबाट लगानी उठाउने उनको योजना छ ।

‘१० देखि १५ प्रतिशत रकम भेञ्चर क्यापिटलमा लगानी गर्छौं । जुन आइटी क्षेत्र हो,’ मनिषले भने, ‘८५ प्रतिशत लगानी अन्य उद्योग व्यवसायमा हुनेछ ।’

उनीहरुले परियोजना अनुसार एक करोडदेखि ५० करोड रुपैयाँसम्म लागनी गर्ने योजना बनाएका छन् ।

६ वटा क्षेत्रमध्ये पहिलो क्षेत्र ‘क्लिन इनर्जी’ हो । उनीहरुले भृकुटी ग्रीड टाइ नामक ८.५ मेगावाटको सोलार प्रोजेक्टमा लगानीको घोषणा गरिसकेका छन् । इनर्जीसहित शिक्षा, स्वास्थ्य, कृषि, आइटी र सेवा क्षेत्रहरुमा लगानी गर्ने उनीहरुको योजना छ ।

नेपालमा प्राइभेट इक्विटीको शुरुवात
विश्वमा सन् १९५० दशकदेखि विश्वमा प्राइभेट इक्विटीको शुरुवात भएको थियो । त्योबेला प्राइभेट इक्विटीबाट व्यापार व्यवसाय लगानी शुरु भएको थियो ।

सन् १९९० पछि जब टेक्नोलोजीमा आधारित व्यवसाय गर्न थाले त्यसपछि भेञ्चर क्यापिटल उदय भयो ।

भारतमा सन् २०११/१२ देखि प्राइभेट इक्विटी फण्डको अवधारणा शुरु भएको थियो । भारतमा यसले धेरै छिटो प्रगति गरेको छ । भारतमा जतिबेला लगानीको आवश्यक थियो, त्यहीबेला उनीहरु आए ।

भारतमा प्राइभेट इक्विटी भेञ्चर क्यापिटलको बिजनेस प्रत्येक वर्ष ९० बिलियनको फण्ड उठाइरहेका छन् । यो लगानी व्यवसायको सम्भावना भएका हरेक व्यवसायमा भइरहेको छ ।

नेपालमा प्राइभेट इक्विटी भेञ्चरको कन्सेप्ट सन् २०१२ देखि शुरु भएको हो । त्यसअघि पनि नेपालमा निजी क्षेत्रबाट यस्ता फण्डको अभ्यास भने भएको मनिषको भनाइ छ ।

जस्ते कि भोटेकोशी जलविद्युत् कम्पनीको अमेरिकी कम्पनीको लगानी भएको सेयर खरिद गर्न सिप्रदीले ‘तारा म्यानेजमेन्ट’ नाममा कम्पनी खडा गरेको थियो । उनीहरुले अन्य क्षेत्रमा पनि लगानी गरेका थिए ।

सन् २०१४/१५ देखि भने डोल्मा इम्प्याक्ट फण्ड र बिजनेस अक्सिजन जस्ता संस्थाहरु नेपालमा आए । त्यसपछि प्राइभेट इक्विटी पनि लगानीका वैकल्पिक स्रोत हुने रहेछन् भन्ने थाहा भयो ।

‘डोल्मा र बिजनेस अक्सिजनले धेरै ठाउँमा गएर यसको महत्व बारेमा सिकाए,’ मनिष भन्छन्, ‘यसले केही वातावरण सिर्जना गर्यो ।’

उनीहरुले केही ठाउँमा लागनी पनि गरे । त्यसपछि ट्रयु नर्थ एसोसियट्स, टीम भेञ्चरहरु आए ।

यसरी विदेशी लगानी आउन थालेपछि सरकार, नेपाल धितोपत्र बोर्ड (सेबोन) र राष्ट्र बैंक चनाखो भए । सेबोनले विश्व बैंक र डीएफआइडीको सहयोगमा प्राइभेट इक्विटीको सम्भावनाको बारेमा पनि अध्ययन गरेको थियो । जसले नेपालमा व्यवसाय गर्न, रोजगारी सिर्जना गर्न सहयोग हुने अध्ययनले देखाएको थियो ।

डोल्मा इम्प्याक्ट फण्ड, बिजनेस अक्सिजन, ट्रयु नर्थ एसोसियट्स, कृति क्यापिटल जस्ता संस्थाहरुसँग परामर्श गर्यो ।

यसैका आधारमा नियामक निकाय सेबोनले यसलाई नियमन गर्न भनेरै ‘विशिष्टीकृत लगानी कोष नियमावली, २०७५’ ल्यायो । जसले प्राइभेट इक्विटी, भेञ्चर क्यापिटललाई लाइसेन्स दिने प्रावधान उल्लेख गरेको थियो ।

नियमावली बनेपछि सन् २०१९ को अप्रिलमा ग्लोबल इक्विटी फण्ड दर्ता भयो । त्यो समयमा सेबोनको अध्यक्ष थिए रेवत कार्की ।

नियमावली बनेपछि ६ महिनाभित्र नेपालमा चलेका सबै प्राइभेट इक्विटी भेञ्चरहरु सेबोनमा दर्ता हुनुपर्ने उल्लेख छ ।

त्यो समयमा डोल्मा इम्प्याक्ट, बिजनेस अक्सिजनहरु पनि नियमावली अनुसार अनुमतिपत्र लिन आउँनेमा सोबोन विश्वस्त थियो । तर, ग्लोबल इक्विटी फण्ड बाहेक अरु कोही पनि दर्ता हुन गएनन् ।

शुरुमा मर्चेन्ट बैंकलाई यस्तो अनुमतिपत्र नदिने भन्ने थियो तर अन्य कम्पनी दर्ता हुन नआएपछि मर्चेन्ट बैंकलाई पनि दर्ता गर्न थालियो ।

त्यसपछि नबिल इन्भेष्टमेन्ट, लक्ष्मी क्यापिटल, एनएमबी क्यापिटल, एनआईसी एशिया क्यापिटल र एनआइबीएल एस क्यापिटलले प्राइभेट इक्विटी भेञ्चर क्यापिटलको लाइसेन्स माग गर्दै सेबोनमा आवेदन दिए । केही समयपछि सूचीमा प्रभु क्यापिटल पनि थपियो ।

अध्यक्षका रुपमा कार्कीको कार्यकाल सकिदै गर्दा लाइसेन्स बाँड्ने जोखिम नलिने भन्दै विदामा बसे । पाँच महिनापछि नयाँ अध्यक्षका रुपमा भीष्मराज ढुंगाना आए ।

त्यसपछि सेबोनमा दर्ता भएका ६ संस्थाहरुले अध्यक्षसँग छलफल गरे ।

ढुंगानाले अध्ययन गरेर प्रकृया अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए । तर, मुलुकभर कोरोना संक्रमण शुरु भयो । त्यसपछि सेबोनको अध्यक्षमा आए रमेश हमाल । पछि ६ वटा कम्पनीले लेटर अफ इन्टेन्ट (एलओआई) पाए ।

नयाँ अध्यक्ष हमाल मर्चेन्ट बैंकले प्राइभेट इक्विटी फण्डको काम गर्ने होइन भन्ने पक्षमा देखिए । अब एलओआई पाएकालाई के गर्ने भन्ने कानूनी समस्या खडा भएको छ । एओआई पाएपछि सबैले कार्यालय राखेर कर्मचारी समेत भर्ना गरिसकेका छन् । केही सर्तसहित मर्चेन्ट बैंकले पनि अनुमतिपत्र पाउने सम्भावना रहेको मनिष बताउँछन् ।

यसैबीच, साउन १८ गते ग्लोबल इक्विटी फण्डले भेञ्चर क्यापिटल व्यवसाय सञ्चालनको इजाजतपत्र (लाइसेन्स) पायो । अन्य केही प्राइभेट इक्विटीहरु पनि उक्त लाइसेन्सका लागि आवेदन लिएका छन् ।

प्राइभेट इक्विटीमा कसले लगानी गर्छ ?
मनिषका अनुसार संसार प्राइभेट इक्विटीका मुख्य चार स्रोतहरु छन् ।

पहिलो, धनाढ्या व्यक्ति । उद्योगी व्यवसायी जसले जोखिम लिएर लगानी गर्न सक्छ उनीहरु प्राइभेट इक्विटीका पहिलो स्रोतहरु हुन् ।

जस्तो कि ग्लोबल इक्विटी फण्डमा खेतान ग्रुपका राजेन्द्र खेतान, बीएलसी कम्पनीका वसन्त चौधरीहरुले फण्डमा लगानी गरिरहेका छन् ।

‘प्राइभेट इक्विटी भनेको हाइ रिस्क र हाइ प्रतिफल भएको व्यवसाय हो,’ मनिष भन्छन्, ‘त्यो जोखिम लिन सक्ने हाइरार्की व्यक्तिहरुले यसमा लगानी गर्नुहुन्छ ।’

संसारभर ९८ प्रतिशत प्राइभेट इक्विटीले प्रतिफल दिएको रेकर्ड छ । कतिपय ठाउँमा पनि असफल भएका पनि छन् ।

‘रुल अफ थम भनेको यसले पाइपलाइन रिर्टन दिन्छ भन्ने हो,’ मनिष भन्छन् ।

दोस्रो, वित्तीय संस्थाहरु हुन् । जीवन बीमा कम्पनी, पेन्सन फण्ड, नागरिक लगानी कोष (सीआइटी), कर्मचारी सञ्चय कोष (इपीएफ), सामाजिक सुरक्षा कोष (एसएसएफ), नेपाल ट्रस्ट, आर्मी जस्ता संस्थाहरु नेपालमा प्राइभेट इक्विटी फण्डका स्रोतहरु हुन् ।

यस्ता संस्थाहरुमा ठूलो रकम छ तर लगानी गर्ने उपयुक्त ठाउँ उनीहरुले खोजिरहेका छन् ।

तेस्रो, गैरअवासीय नेपालीहरु हुन् । गैरआवासीय नेपालीले पनि प्राइभेट इक्विटी फण्डमा लगानी गर्न सक्छन् ।

संसारभरका धेरै गैरआवासीय नेपालीले प्राइभेट इक्विटीमा लगानी गर्न चाहेको मनिष बताउँछन् । विदेशमा बसेका नेपालीले आफ्नो फण्डमा लागनी गर्न रुचि देखाइरहेको मनिष बताउँछन् ।

चौथो, डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युटहरु हुन् । निजी क्षेत्रमा लगानी गर्ने विदेशी वित्तीय संस्थाहरु प्राइभेट इक्विटीका मुख्य स्रोतहरु हुन् ।

बेलायतको ब्रिटिस इन इन्टरनेसनल इन्भेष्टमेन्ट (बीआइआई), अमेरिकाको युनाइस्टेट डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (युएसडीएफसी), फ्रान्सको फ्रेन्च प्रोपार्को जस्ता संस्थाहरुले पनि नेपालका इक्विटी फण्डमा लगानी गर्न सक्छन् । कतिपयले अहिले पनि लगानी गरिरहेका छन् ।

प्राइभेट इक्विटीको विशेषता सेयर (इक्विटी) लगानी गर्ने हो । पछिल्ला दिनमा भने यो मोडलमा परिवर्तन आएको छ । प्राइभेट इक्विटीले पनि ऋण दिन थालेका छन् । जसलाई ‘भेञ्चर डेब्ट’ भनिन्छ ।

मानौं, कुनै व्यवसायमा १० करोड लगानी गर्यो भने ५ करोड इक्विटी सेयर र ५ करोड ऋण लगानीको रुपमा उपलब्ध गराउन सक्छन् । नेपालमा पनि यो प्रचलन शुरु भइसकेको छ । जस्तो कि डोल्मा इम्प्याक्ट फण्डले लगानी गरेका कतिपय व्यवसायमा इक्विटी र सर्सत ऋण उपलब्ध गराइरहेको छ ।

अबका चूनौतीहरु
नेपालको सन्दर्भमा सबैका लागि नयाँ वित्तीय उपकरण हो प्राइभेट इक्विटी फण्ड । नियामक निकायले प्राइभेट इक्विटी, भेञ्चर क्यापिटलको सञ्चालनबारे अझै पनि स्पष्ट नीति लिन सकेको छैन । नियामकदेखि सबै सारोकारवालालाई यसबारेमा बुझ्नै बाँकी छ ।

नेपालमा पहिलो पटक इजाजतपत्र पाइरहँदा ग्लोबल इक्विटी फण्डका म्यानेजिङ पार्टनर मनिष मुख्य पाँचवटा चूनौती वा समस्याहरु रहेको बताउँछन् ।।

पहिलो, नेपालमा प्राइभेट इक्विटी कसरी सञ्चालन गर्ने, अनुगमन कसरी गर्ने, मूल्यांकन गर्ने भन्ने विषयमा स्पष्ट भएको छैन ।

दोस्रो, नयाँ नियामावली र अन्य नियामक निकायबीच समन्वयको कमी छ । जस्तो कि सेबोन र नेपाल राष्ट्र बैंकबीच पनि प्राइभेट इक्विटी फण्डको विषयमा समन्वय र सहकार्यको कमी देखिन्छ ।

बीमा कोष प्रयोग गर्ने विषयमा बीमा समिति पनि स्पष्ट हुन आवश्यक भएको र बैंकले लगानी गर्न सक्ने कि नसक्ने भन्ने विषयमा राष्ट्र बैंकले स्पष्टरुपमा भन्नुपर्ने मनिष बताउँछन् ।

त्यस्तै, पेन्सन फण्ड, नागरिक लगानी कोष, नेपाल सञ्चय कोष, सामाजिक सुरक्षा कोषहरुलाई लगानी गर्ने विषयमा अर्थमन्त्रालयले समन्वय गर्नुपर्ने उनको भनाइ छ ।

तेस्रो, प्राविधिक समस्या छ । ‘कालोसूची’सम्बन्धी सबैभन्दा ठूलो प्राविधिक समस्या खडा भएको छ ।

मानौं प्राइभेट इक्विटी फण्डले कुनै व्यवसायमा लगानी गरेको छ । त्यो व्यवसाय ‘ब्लाक लिष्ट’मा पर्यो भने लगानीकर्ताको हिसाबले प्राइभेट इक्विटी फण्ड पनि कालोसूचिमा पर्नसक्छ । त्यो भयो भने प्राइभेट इक्विटीले लगानी गरेका अन्य दर्जनौं कम्पनी असर गर्ने भयो । यो विषय स्पष्ट हुनुपर्ने मनिष बताउँछन् ।

‘संसारभरका प्राइभेट इक्विटी फण्ड कालोसूचीमा पर्दैनन्,’ मनिषले भने, ‘नेपाल राष्ट्र बैंकले यसबारेमा सोच्नुपर्छ ।’

चौथो, प्रत्यक्ष विदेशी लगानी (एफडीआई)को सीमा । चालु आर्थिक वर्षबाट सरकारले विदेशी लगानीको थ्रेसहोल्ड २ करोड बनाए पनि कानूनीरुपमा अझै पनि न्यूनतम ५ करोड लगानी गर्नुपर्छ ।

एफडीआईको थ्रेस होल्डको नियम प्राइभेट इक्विटी फण्डमा लागू हुने कि नहुने भन्ने स्पष्ट हुनसकेको छैन् ।

प्रत्यक्ष विदेशी लगानी सम्बन्धी अर्को समस्या भनेको वैदेशिक लगानी गर्न नपाउने क्षेत्रहरु पनि हुन् ।

नेपालमा विदेशी लगानी गर्न नपाउने भनेर कृषि, डेरीलगायतका विभिन्न क्षेत्र छुट्याएको छ । प्राइभेट इक्विटी फण्डमा आएको विदेशी लगानी त्यस्ता क्षेत्रमा लगानी गर्न पाउने कि नपाउने ? स्पष्ट हुन नसकेको मनिष बताउँछन् ।

विदेशी लगानीमा अर्को समस्या भनेको विदेशी लगानीको स्वीकृतिमा पनि छ । कसैले नेपालको इक्विटी फण्डमा एक अर्ब लगानी गर्यो भने त्यो रकम एकपटक स्वीकृति हुन्छ कि परियोजनाअनुसार हरेक पटक स्वीकृति गर्नुपर्छ भन्नेमा पनि स्पष्ट नभएको मनिषले बताए ।

पाँचौं, कर । यस्ता फण्डमा कर लाग्ने कि नलाग्ने भन्ने पनि स्पष्ट भएको छैन । यस्ता फण्डले विभिन्न व्यवसायमा लगानी गरेका हुन्छन् । त्यो व्यवसायले कर तिर्छन ।

‘फण्डले पनि कर तिर्नुपरेमा दोहोरो कर तिर्नुपर्ने हुन्छ,’ मनिषले भने ‘फण्डलाई कर लाग्ने कि नलाग्ने भन्ने स्पष्ट भएको छैन ।’

मुचुअल फण्डलाई ‘ट्याक्स पास’को सुविधा दिएको छ । त्यसैले इक्विटी फण्डलाई पनि यो सुविधा हुनसक्ने मनिष बताउँछन् ।


सन्तोष न्यौपाने