हुण्डी कारोबारमा संलग्न ४ जना विरुद्ध अभियोगपत्र दायर

679
Shares

काठमाडौं । हुण्डीको कारोबारमा संलग्न चार जनालाई राजस्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंमा ६९ लाख ९९ हजार मागदावी लिई अभियोगपत्र दायर गरेको छ ।

विभागले नुवाकोट जिल्ला ककनी–३ का नवराज ढुंगाना, ककनी–३ कै शिव सर्भिस एण्ड मल्टिपर्पोज प्रालिका सञ्चालक फणिन्द्र प्रसाद ढुंगाना, भीरकोटगढी–११ नुवाकोट महाल म्हैपी बस्ने सु्वास क्यासमिर कलेक्सनका प्रोपाइटर सुवास जंग पाण्डे र ककनी–३ नुवाकोट हाल जापान बस्ने प्रज्वल ढुंगानालाई अभियोगपत्र दायर गरेको हो ।

प्रहरीले ६९ लाख ९९ हजार सहित पक्राउ परेका नवराज ढुंगानाले उक्त रकम हुण्डीको कारोबार गरेको अनुसन्धानको क्रममा फेला परेको छ । जापानमा रहेका प्रज्वल ढुंगानाले सुवासजंग पाण्डेलाई भने अनुसार सुवासजंग पाण्डेले नवराज र फणिन्द्रलाई उक्त रकम उपलब्ध गराएको प्रहरीले अनुसन्धानको क्रममा फेला पारेको छ ।

अनुसन्धानको क्रममा विदेशी विनिमय कारोबार गर्न इजाजत नलिएको, नेपालमा आउनुपर्ने विदेशी मुद्रा विदेशमै राखी वरामद भएको नेपाली रुपैयाँ बराबरको विदेशी मुद्राको अवैध कारोबार गरी विदेशी विनिमय ऐन २०१९ को दफा ३(१), ४(१), ५, ९ ग(ग) तथा १२ विपरितको कसुर गरेको देखिएको छ ।