बजेट कार्यान्वयन गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन, अर्थसचिव मरासिनी अनुपस्थित



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मन्त्रालयका मन्त्री र सचिवलाई बोलाएर चालु आर्थिक वर्षको बजेट प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले बजेट कार्यान्वयन गर्न तथा कार्ययोजनाको प्रभावकारी कार्यसम्पादन गर्न मन्त्री र सचिवलाई निर्देशन दिएका हुन् ।

बैठकमा मन्त्री तथा योजना आयोगका उपाध्यक्ष तथा सदस्य र सचिवहरु सहभागी रहेका थिए । बजेट कार्यान्वयनमा महत्वपूर्ण मानिने अर्थसचिव मधुकुमार मरासिनी भने अनुपस्थित थिए ।

अर्थमन्त्रालयबाट राजस्व सचिव कृष्णहरी पुष्कर कर्ण भने उपस्थित रहेका थिए । अर्थसचिव मरासिनी जनार्दन शर्मा अर्थमन्त्रीको रुपमा पुनः फर्किएपछि अनुपस्थित छन् । मन्त्रालयमा नयाँ मन्त्रीको स्वागत र पदबहाली सचिवले गराउने प्रचलन भएपनि मरासिनी बिदा लिएर बसेका छन् ।

अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएको तथा उक्त समयको सिसिटिभी फुटेज हटाएको कुरा बाहिर आएपछि सचिव मरासिनी बिदामा बसेका थिए । शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि मन्त्रालयमा फर्किएका थिए ।


क्लिकमान्डु