यति कार्पेटले ९ महिनामै गर्यो साढे २४ करोडको व्यापार



काठमाडौं । यति कार्पेट प्रालिले ९ महिनाको अवधिमा साढे २४ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा २४ करोड ४७ लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा १९ करोड २५ लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो । केडिया अर्गनाइजेशन र रिलायन्स ग्रुप नेपालको संयुक्त लगानी रहेको यस कम्पनीमा ५०/५० प्रतिशत सेयर रहेको छ ।

सन् २०१८ देखि विभिन्न देशबाट फाइबर र धागोजस्ता कच्चा पदार्थ आयात गरी कार्पेट उत्पादन गर्दै आएका छन् । अनिल कुमार केडियाको २५ प्रतिशत, आयुश केडियाको १५ प्रतिशत, नरेन्द्र अग्रवालको १३ प्रतिशत, लोकेश टोडीको १३ प्रतिशत र बाँकी ४ प्रतिशत अन्य व्यक्तिहरूको सेयर रहेको छ ।

कम्पनीले कोरोना महामारीकै समयमा आफ्नो व्यापार शुरु गरेको थियो । व्यवसायिक रुपमा २०२० देखि व्यापार गर्न थालेको कम्पनीले सन् २०२२ सम्ममा आइपुग्दा व्यापार बढ्दै गएको जनाएको छ ।

यति पोलिचेमअन्तर्गत कम्पनीले पीभीसी कार्पेट ‘यति’ ब्रान्डमा बिक्री वितरण गर्दै आएका छन् । रेटिङ एजेन्सी इक्रा नेपालले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५९ करोड ९६ लाख रुपैयाँको रेटिङ गरेको छ । कम्पनीलाई दीर्घकालीन कर्जाका लागि ४१ करोड ९६ लाख अर्थात् एलबी प्लस र अल्पकालीन कर्जाका लागि १८ करोड रुपैयाँ अर्थात् एफोरको रेटिङ दिएको छ ।


क्लिकमान्डु