५ वर्षमा ४.६ अर्ब डलरको निर्यात हुने वातावरण बनाउने सीएनआईको घोषणा



काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी ५ वर्षपछि नेपालबाट ४.६ अर्ब अमेरिकी डलरको निर्यात हुने वातावरण बनाउने घोषणा गरेको छ।

नेपाल उद्योग परिसंघको १९औं साधारण सभाको उद्घाटन समारोहमा परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले वार्षिक १ हजार नयाँ उद्योग दर्ता गर्ने वातावरण बनाउनुको साथैं सन् २०३० सम्ममा कुल ग्राहस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान २५ प्रतिशत पुर्याउने गरी काम गर्ने बताए ।

‘मेक इन नेपाल स्वदेशी’ अभियानमार्फत् देशमा उत्पादनमुलक उद्योगको संख्या बढाइने अग्रवालले बताए ।

‘कोरोना महामारीका क्रममा अर्थतन्त्र चलायमान हुन नसक्दा अर्थतन्त्र ॠणात्मक रहन पुगेको थियो,’ अग्रवालले भने, ‘अहिले लगानी विस्तार हुन नसक्दा मागमा निरन्तर गिरावट आउने र त्यसले अर्थतन्त्रमा थप जोखिम पर्न सक्ने चिन्ता छ ।’

अग्रवालले कृषिजन्य भूमिमा समेत कृषि उपजको आयात भइरहेकाले सबैको प्रयास कृषि उत्पादन बढाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए ।

बढ्दो अवैध व्यापारले स्वदेशी उद्योग मर्कामा परेको भन्दै स्वदेशी उद्योगको संरक्षण गर्ने गरी नीति लिन समेत अग्रवालले आग्रह गरे ।


क्लिकमान्डु