आयात प्रतिबन्ध लगाउने निर्णय निरन्तर: गाडी, रक्सी लगायतका १० वस्तु भदौ १४ गतेसम्म ल्याउन नपाइने



काठमाडौं । सरकारले आयात प्रतिबन्ध लगाउने निर्णयलाई निरन्तरता दिएको छ ।

विदेशी मुद्राको सञ्चिति घट्दै गएको भन्दै सरकारले गत वैशाख १३ गते अत्यावश्यक नभएका १० वस्तु असार मसान्तसम्म आयात गर्न नदिने निर्णय गरेको थियो।

देशको आर्थिक अवस्थामा खासै सुधार नभएको भन्दै शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आयात प्रतिबन्ध लगाउने निर्णयलाई निरन्तरता दिनुपर्ने भन्दै ठाडो प्रस्ताव पेश गरेका थिए।

मन्त्री बडूले आयात प्रतिबन्ध लगाउने निर्णयलाई तीन महिना निरन्तरता दिनुपर्ने प्रस्ताव गरे पनि मन्त्रिपरिषदको बैठकले भदौ १४ गतेसम्म आयात रोक्ने निर्णय गरेको हो।

सरकारले आयात रोक्ने गरी कुनै निर्णय नगरेको भए साउन १ गतेबाट गाडी विदेशी रक्सीलगायतका १० वस्तुको आयात खुल्ला हुने थियो।

शुक्रबार मन्त्रिपरिषदले आयातलाई रोक्ने निर्णय गरे लगत्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै १० वस्तु आयात गर्न भदौ १४ गतेसम्म पूर्ण प्रतिबन्ध लगाएको जानकारी दिएको छ।

यसअघि आपूर्ति मन्त्रालयले वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गर्दै कुरकुरे, कुरमुरे, लेज र त्यस्तै उत्पादनका साथै सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थबाहेक), हिरा (औद्योगिक कच्चा पदार्थबाहेक), मोबाइल सेट (६०० अमेरिकी डलर भन्दा बढी मूल्यका) ,रंगिन टेलिभिजन (३२ इञ्चभन्दामाथि) जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन बाहेक), २५० सीसीभन्दा माथिका मोटरसाइकल, सबै प्रकारका खेलौनाहरू र तास आयात गर्न असार मसान्तसम्म प्रतिबन्ध लगाएको थियो ।

सरकारले १० वस्तुमा लगाएको प्रतिबन्धलाई भदौ १४ गतेसम्म निरन्तरता दिइएको हो।

बिगतमा २५० सीसी भन्दा बढी क्षमताका मोटरसाइकलमा प्रतिबन्ध लगाएकोमा यसपटक भने १५० सीसी भन्दा बढी क्षमताको मोटरसाइकल आयातमा रोक लगाइएको छ। तर, साउन १ गते भन्दा अगाडी १५० देखि २५० सिसीसम्मका मोटरसाइकल आयात गर्न भन्दै प्रतितपत्र (एलसी ) खोलेका बस्तुमा भने आयात प्रतिबन्ध लाग्ने छैन ।

यस्तै, सरकारले मोबाइल फोनको आयातमा समेत कडाइ गरेको छ। गत बैशाख १३ गते ६०० अमेरिकी डलर भन्दा बढी मूल्यका मोबाइल फोन आयात गर्न रोक लगाएकोमा यस पटक ३०० अमेरिकी डलर भन्दा बढी मूल्यका फोन आयातमा रोक लगाएको छ। साउन १ गते भन्दा अगाडी ३०० डलर देखि ६०० अमेरिकी डलर सम्म मोबाइल फोन आयात गर्न भन्दै प्रतितपत्र (एलसी ) खोलेका बस्तुमा भने आयात प्रतिबन्ध लाग्ने छैन । तर, साउन १ पछी एलसी खोल्न पाइने छैन ।


क्लिकमान्डु