नेपालमा प्रतिफल बढी छ, लगानी गर्नुहोस्ः बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोनापछिको समयमा आर्थिक संकटका संकेतहरु देखा परिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारणसभाका अवसरमा लन्डनमा आइतबार आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘विश्वमा देखिएको कोरोनाको प्रभावको आर्थिक मन्दी तथा संकटका बाछिटा नेपालमा पनि नदेखिएको भन्न मिल्दैन, त्यो समस्या हामी पनि झेलिरहेका छौँ।’

नेपाललाई यस्तो संकटमा पर्न नदिन र आर्थिक अवस्थालाई बचाईराख्न संसारभरमा रहेका नेपालीहरुले नेपालमा पूँजी र प्रविधि भित्र्याउन र वैदेशिक लगानी गर्न आग्रह गरे ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकको समन्वयमा डलरमा खाता खोल्ने अवसर प्राप्त mभएको यसको लाभ लिन उनले अनुरोध गरे ।

सुरुमा कोरोनाको कहर र पछिल्लो समयमा आएर रुस युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्रमा अनेकन समस्याहरु देखा परिरहेको र महंगी बढेको, र त्यसको मारमा हामी नेपाली पनि परेको धारणा राखे ।

लगानी गरेर राम्रो प्रतिफल लिन मिल्ने संसारका धेरै देशहरुमध्ये नेपाल पनि एक रहेको उनको भनाई थियो ।

नेपालमा लगानीका कैयौँ सम्भावना रहेको र नेपालमा लगानीबाट धेरैभन्दाधेरै प्रतिफल लिन सकिने उदाहरण पनि पेश गरे ।


क्लिकमान्डु