१५० टन सिमेन्ट भारतको गोरखपुर निर्यात, उद्योगी अग्रवाल भन्छन्- नियमित गर्ने योजना छ



काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिजबाट उत्पादित तानसेन सिमेन्ट भारत निर्यात भएको छ । इण्डष्ट्रिजले शुक्रबार भैरहवा स्थित सुनाैली नाकाबाट तिन ट्रकमा ५० केजीका ३ हजार बाेरा (१५० मेट्रिकटन) तानसेन ब्राण्डको सिमेन्ट भारतको गोरखपुर निर्यात गरेकाे हो ।

पहिलो चरणमा उद्याेगले १० लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात गरेको आरएमसी गुप्रका प्रबन्ध निर्देशक राजेश अग्रवालले जानकारी दिए । आरएमसी ग्रुपको लगानी रहेको पाल्पा सिमेन्ट इण्डष्ट्रिजले सन् २०२० देखि तानसेन ब्राण्डमा सिमेन्ट उत्पादन गर्दै आएको थियो ।

भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्सले पाल्पा सिमेन्ट इण्डष्ट्रिजको उत्पादन तानसेन सिमेन्टलाई गुणस्तर सम्बन्धी इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आइएसआई) मार्क दिएपछि नेपालबाट सिमेन्ट निर्यात गर्न सुरु भएको हो ।

भारतमा आइएसआई मार्क नलागेका सिमेन्ट निर्यात गर्न नपाइने व्यवस्था छ । नेपालमा पनि एनएस मार्क नभएका सिमेन्ट निर्यात गर्न नमिल्ने व्यवस्था छ ।

‘हामीले भारतबाट आइएसआई मार्क ल्याउने र भैरहवाबाट १०० किलोमिटरको दुरीमा रहेका भारतिय शहरमा सिमेन्ट निर्यातको सम्भाव्यता अध्ययन एकैसाथ गर्दै आएका थियौँ,’ आरएमसी ग्रुपका प्रबन्ध निर्देशक अग्रवालले क्लिकमाण्डूसँग भने,‘भारतबाट आइएसआई मान्याता पाएपछि गोरखपुरमा वितरक नियुक्त गरेर सिमेन्ट निर्यात गरेका हौँ ।’

भारतिय बजारमा ठूला स्थापित कम्पनी र साना कम्पनीका गरि दुई थरि सिमेन्ट उपलब्ध छन् । नेपाली कम्पनीले सुरुवातका दिनमा भारतका स्थापित ब्राण्ड भन्दा पनि साना कम्पनीसँग प्रतिस्पर्धा गर्न खाजेको छ ।

अग्रवाल एक साता नियमित सिमेन्ट निर्यात गरेपछि मात्रै ढुवानी र अन्य लागत कस्तो हुने, बजारले कसरी सिमेन्टलाई लिन्छ भन्ने विषयमा ठ्याक्कै जानकारी आउने बताउँछन् ।

‘हामीले सम्भाव्यता अध्ययन गर्दा सिमेन्ट निर्यात हुने सम्भावना देखेपछि गोरखपुरमा वितरक छानेका थियौँ,’ अग्रवाल भन्छन्, ‘एक साता सिमेन्ट निर्यात भएपछि ग्राउण्ड लेभलका समस्या पनि थाहा हुनेछन् । हाम्राे दैनिक ५ हजार बाेरा सम्म सिमेन्ट निर्यात गर्ने क्षमता छ ।’

सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत नगद अनुदान दिने घोषणा गरेको छ ।
नगद अनुदान कस्तो उद्योगलाई कति दिने भन्ने विषयमा कार्यविधि बन्न सकेको छैन् । नेपालका सिमेन्ट उद्योगीहरु भारतमा वार्षिक १ खर्ब बराबरको सिमेन्ट निर्यात गर्न सकिने दाबी गर्दै आएका छन् ।

तर, सबै नेपाली कम्पनीलाई भारतबाट आइएसआई मार्क ल्याएर सिमेन्ट निर्यात गर्ने भने सम्भव नरहेको उद्योग मन्त्रालयका एक अधिकारी बताउँछन् ।


क्लिकमान्डु