ऊर्जा उद्यमी गुरु न्यौपाने लगायतको ४५ करोड लगानीमा गौशालामा बन्दैछ तारे होटलसहितको ट्रेड टावर



काठमाडौं । ऊर्जा उद्यमी गुरु न्यौपाने लगायतको ४५ करोड लगानीमा काठमाडौंको गौशालामा तारे होटलसहितको बहुउदेश्यीय ट्रेड टावर निर्माण शुरु भएको छ ।

पशुपतिनाथको दक्षिणतर्फ रिङरोडमा जोडिएको करीव ४ रोपनी जग्गा ३६ वर्षका लागि भाडामा लिएर ट्रेड टावर गौशाला निर्माण शुरु गरिएको लगानीकर्ता न्यौपानेले जानकारी दिए । उनका अनुसार ६ तल्ला अग्लो उक्त टावरमा ९६ बेडको तीनतारे स्तरको होटल पनि सञ्चालनमा ल्याइने छ । पशुपति दर्शन गर्न आउने पर्यटकलाई लक्षित गरी होटल निर्माण गर्न लागिएको हो ।

होटल र बिजनेश टावरमा गरी १८५ सिट क्षमताका विभिन्‍न रेष्टुरेन्ट पनि हुनेछन् ।

गत पुसमा भूमि पुजा गरी निर्माण शुरु गरिएको उक्त भवन आगामी दुई वर्षभित्र सम्पन्न हुनेछ ।

बेसमेन्ट पार्किङसहितको भवनमा भुइँ तल्ला र पहिलो तल्लामा करीव १०० पसल हुनेछन् । दोस्रो तल्लामा कर्पोरेट अफिस, बैंक, इन्स्योरेन्स लगायतका अफिस रहने बताइएको छ । तेस्रो तल्लामा एयरलाइन्स, कार्गो लगायतका कार्यालय रहनेछन् भने चौथो र पाँचौं तलामा पशुपतिनाथ देखिने गरी होटल सञ्‍चालनमा ल्याइने छ । त्यसमाथिको तलामा रेष्टुरेन्ट, मिटिङ हल, पार्टी प्यालेसलगायत सञ्‍चालनमा ल्याइने छ ।

ट्रेड टावरले २४ जेठ २०७९ मा उद्योग विभागबाट लगानीको स्वकृति लिई उद्योग दर्ता गरिसकेको छ ।

ट्रेड टावर लिमिटेड कम्पनी, २०६७ सालमा स्थापना भई सञ्‍चालनमा रहेको छ । यो कम्पनीले थापाथलीमा नेपाल खाद्य संस्थानको जग्गा भाडामा लिएर नेपालकै सबैभ्न्दा ठूलो सिंगल बिल्डिङ कम्पलेक्स निर्माण गरी १३ वर्षदेखि सञ्‍चालन गरिरहेको छ ।


क्लिकमान्डु