मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीको तलब-भत्ता तथा सेवा-सुविधा नघट्ने



काठमाडौं । मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीको तलब-भत्ता तथा सेवा-सुविधा नघट्ने भएको छ ।

समितिले गाभ्ने/गाभिने बीमा कम्पनीका कर्मचारीहरूलाई गाभिएर कायम हुने बीमा कम्पनीहरूमा निजहरूको साविकमा रहेको पद अनुसारको तह वा श्रेणी भन्दा कम नहुने गरी पद मिलान गर्न निर्देशन दिएको हो ।

बीमा समितिले असार ६ गते जारी गरेको परिपत्रमा थप व्यवस्था गर्दै इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीलाई यस्तो निर्देशन दिएको हो ।

गाभ्ने/गाभिने संस्थाका कर्मचारीहरूको गाभिएर कायम हुने बीमकका कर्मचारीलाई कुनै मर्का नपर्ने गरी र निजहरूले साविकमा खाईपाई आएको तलब-भत्ता तथा सेवा-सुविधाभन्दा नघट्ने व्यवस्था गर्न समेत समितिले निर्देशन दिएको छ ।

गाभ्ने/गाभिने संस्थाका कर्मचारीहरूको गाभिएर कायम हुने बीमा कम्पनीमा कार्यरत हुन इच्छुक नरहेका व्यवस्थापकीय तथा अन्य कर्मचारीहरूको हकमा उपयुक्त सुविधासहतिको स्वेच्कि अवकाशको योजना बनाई लागु गर्न पर्ने समेत समितिले जनाएको छ ।

यस्तै, समितिले असार ६ गते जारी भएको निर्देशनबाट समितिले गाभ्ने/गाभिने कार्यमा संस्थाका सञ्चालक समितिका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक मर्जर समितिको सदस्य हुन पाइने छैन भन्ने व्यवस्थालाई हटाएको छ ।

यसअघि समितिले गाभ्ने/गाभिने कार्यमा संस्थाका सञ्चालक समितिका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक मर्जर समितिको सदस्य हुन नपाइने व्यवस्था गरेको थियो ।


क्लिकमान्डु