बीमाको दायरामा ३९.८३% जनसंख्या



काठमाडौं । एक वर्षको अवधिमा नेपालमा बीमाको दायरामा आएको जनसंख्या १२.७१ प्रतिशतले वृद्धि भएको छ । बीमा समितिको तथ्यांकअनुसार चालु आवको जेठ मसान्तसम्ममा ३९.८३ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको हो ।

तथ्यांक विभागको तथ्यांक अनुसार हाल नेपालको जनसंख्या ३ करोड २ लाख ३७ हजार ८२१ जना रहेको समितिले उल्लेख गरेको छ । जसमा १ करोड २० लाख ४४ हजार ५८१ जना बीमाको दायरामा रहेको समितिको तथ्यांकले देखाएको छ ।

यो संख्या म्यादी, लघु म्यादी र बैदेशिक रोजगारीमा जानेले गराएको बीमा सहितको तथ्यांक हो । समितिका अनुसार म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित बीमाको दायरा ३९.८३ प्रतिशत जनसंख्यामा पुगेको हो ।

गत आवको यसै अवधिमा बीमाको दायरामा आएको जनसंख्या २७.१२ प्रतिशत थियो । म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख बाहेक ४८ लाख ८२ हजार ४३१ जनामा बीमाको पहँुच पुगेको छ ।

चालु आवको जेठ महिनासम्ममा १ करोड २६ लाख ३२ हजार ३७३ वटा बीमालेख जारी भएका छन् । गत आवको यसै अवधिको तुलनामा ४९.१८ प्रतिशतले बढेको हो ।

गत आवको यसै अवधिमा जीवन बीमा कम्पनीहरूमा कुल ८४ लाख ६८ हजार १३५ वटा बीमालेख जारी भएका थिए । समितिका अनुसार यस अवधिमा ८ लाख ७६ हजार ५४१ वटा बैदेशिक रोजगार बीमालेख जारी भएका छन् ।

यस अवधिमा म्यादी र लघु म्यादी जीवन बीमालेखको संख्या ६६ लाख १६ हजार ४३१ वटा छ । म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक कुल जीवन बीमालेखको संख्या भने ५१ लाख ३९ हजार ४०१ वटा बीमालेख जारी भएका छन् ।

एक वर्षको अवधिमा बीमा कम्पनीहरुमा १५.०९ प्रतिशतले शाखा कार्यालय थपिएका छन् । हाल बीमा कम्पनीहरूका शाखा कार्यालयको संख्या ३ हजार ३५५ वटा रहेको बीमा समितिको तथ्यांक छ । गत आवको यसै अवधिमा बीमा कम्पनीका शाखा कार्यालयको संख्या २ हजार ९१५ वटा रहेको थियो ।

यस्तै, बीमा कम्पनीमा कार्यरत कर्मचारीको संख्या ११ हजार ८५१ जना पुगेको छ । जुन गत आवको यसै अवधिको तुलनामा १०.११ प्रतिशतले बढी हो । गत आवको यसै अवधिमा कम्पनीहरूमा कार्यरत कर्मचारीको संख्या १० हजार ७६३ जना रहेको थियो ।


क्लिकमान्डु