रिलायबल नेपाल लाइफका संस्थापक सेयरधनीले पनि थप रकम जम्मा गनुपर्ने



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनीहरूले पनि थप रकम जम्मा गर्नुपर्ने भएको छ ।

कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरूलाई सेयरवापतको थप लगानी रकम जम्मा गर्न आग्रह गरेको हो ।

कम्पनीको पुँजी वृद्धि गर्ने सम्बन्धमा बीमा समितिबाट भएको निर्देशन बमोजिम जेठ २५ गते सम्पन्न भएको चौथो वार्षिक साधारण सभाले हाल कायम रहेको संस्थापक सेयरधनीहरूबाट १ बराबर १ का दरले थप लगानी गर्ने निर्णय गरेको थियो ।

कम्पनीको उक्त निर्णयलाई बीमा समितिले स्वीकृत गरेसँगै कम्पनीले संस्थापक सेयरधनीहरूलाई आफ्नो नाममा हाल कायम कुल सेयर बराबरको थप रकम लगानी गर्न आग्रह गरेको हो ।

कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूले भदौं ६ गतेभित्र रकम जम्मा गरिसक्नु पर्ने छ । लगानीकर्ताहरूले ग्लोबल आइएमई बैंक, कान्तिपथ, कुमारी बैंक, पुतलीसडक, सिद्धार्थ बैंक न्यूरोड र नेपाल इन्भेष्टमेन्ट बैंक, कालिमाटीमा रहेको बैंक खातामा रकम जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ ।

बीमा समितिले बीमा कम्पनीहरूको पुँजी वृद्धि गर्ने निर्णय गरेसँगै सञ्चालनमा रहेका नयाँ जीवन बीमा कम्पनीहरूले संस्थापक लगानीकर्तामार्फत रकम उठाईरहेका छन् । महालक्ष्मी लाइफ र सन नेपाल लाइफले संस्थापक सेयरधनीमार्फत रकम जम्मा गर्ने निर्णय गरेका थिए ।


क्लिकमान्डु