पाठ्यक्रममा बीमा विषय समावेश गर्न समितिको पहल



काठमाडौं । बीमा समितिले पाठ्यक्रममा बीमा विषय समावेश गर्न निरन्तर पहल गरिरहेको जनाएको छ ।

बीमा समितिको आयोजनामा सम्पन्न भएको विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा बीमा विषय समावेश सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै समितिका निर्देशक कमलप्रसाद रेग्मीले बीमा शिक्षालाई व्यापकता दिनका लागि पाठ्यक्रममा बीमा विषय समावेश गर्न समितिले निरन्तर पहल गर्दै आएको बताएका हुन् ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. पारसनाथ यादवले देशका ग्रामीण भेगसम्म बीमा सम्बन्धी चेतना नपुगेको अहिलेको अवस्थामा बीमा शिक्षालाई व्यापकता दिनका लागि विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा विस्तृतरूपमा नभए पनि संक्षिप्तरुपमा बीमा विषय समावेश गर्नु आवश्यक भएको बताए ।

उनले बीमा जोखिम व्यवस्थापन विज्ञान समेत भएकाले विश्वविद्यालयका पाठ्यक्रमको परिमार्जनका क्रममा बीमा विषय समावेश गर्न आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधि लेखराज खनालले बीमालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न र बीमा पुस्तक विकास गर्नका लागि बीमा समितिसँग सहकार्य गरेर अघि बढ्न केन्द्र तयार रहेको बताए ।

समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालय र साझा प्रकाशनका प्रतिनिधि, विभिन्न शैक्षिक प्रतिष्ठानमा बीमा विषयमा अध्ययनरत विद्यार्थीहरू लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।


क्लिकमान्डु