बीमितलाई नियमित सेवा प्रवाह गर्न बोर्डको आग्रह



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सम्पूर्ण सेवा प्रदायक संस्थालाई बीमितहरूलाई नियमति रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न आग्रह गरेको छ ।

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएका केही अस्पतालहरूले भुक्तानी नपाएको भन्दै सेवा बन्द गर्ने निर्णय गर्न थालेपछि बोर्डले ती अस्पतालहरूलाई सेवा नरोक्न आग्रह गरेको हो ।

दैनिक दाबी बढ्दो क्रममा रहेको र ती दाबी परीक्षण गर्न सोही किसिमको जनशक्तिको अभावले दाबी भुक्तानीमा ढिलाई भएको बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले बताए ।

स्वास्थ्य बीमा कोष व्यवस्थापन तथा संचालन कार्यविधि, २०७८ अनुसार स्वास्थ्य बीमा कोष स्थापना भई बोर्डमा प्राप्त सम्पूर्ण रकम उक्त कोषमा मौज्दात रहने व्यवस्था रहेको उनले बताए । परीक्षण भएका दाबीहरूको बाह्रै महिना भुक्तानी गर्न सकिने व्यवस्था रहेको उनको भनाइ छ । परीक्षण भएका दाबीहरूको भुक्तानी यथाशिघ्र गर्ने कार्यमा बीमा बोर्ड लागि परेको बोर्डले बताएको छ । र, आगामी दिनमा कार्यतालिका तयार गरी नियमित भुक्तानी गरिने बोर्डको भनाइ छ ।

सेवा प्रदायक संस्थाले बीमितलाई सेवा प्रदान गरिसकेपछि सो वापतको लागि भुक्तानीको लागि बीमा व्यवस्थापन सूचना प्रणालीमार्फत स्वास्थ्य बीमा बोर्डमा पेश हुन्छ । यसरी पेश गरेका दाबीहरू स्वास्थ्य बीमा बोर्डबाट नियमानुसार परिक्षण गरेपछिमात्रै भुक्तानी गरिने बोर्डका कार्यकारी निर्देशक बसौलाको भनाइ छ ।

बीमा बोर्डका अनुसार आर्थिक वर्ष २०७८/७९ मा विगतका वर्षमा बाँकी रहेका १९ लाख ९ हजार ५७ संख्याका दाबी परेका थिए । र चालु आर्थिक वर्षका दाबी ३३ लाख ७५ हजार ८३७ गरी कुल ५२ लाख ८४ हजार ८९४ वटा दाबी परेको थियो । ती दाबीहरू परीक्षणपछि ८ अर्ब १३ करोड भुक्तानी भइसकेको बसौलाले जानकारी दिए ।

चालु आर्थिक वर्षको जेठ १५ गतेसम्मको १८ लाख ५३ हजार ९५३ वटा दाबीहरूको हाल रूजु गर्ने काम भइरहेको उनले बताए । जेठसम्मको दाबी अनुसार बोर्डले अस्पतालहरूलाई ५ अर्ब रकम भुक्तानी गर्न बाँकी छ ।

स्वास्थ्य बीमा कार्यक्रम सामाजिक स्वास्थ्य सुरक्षाको अवधारणामा संचालित रहेको छ । यस कार्यक्रममा प्रति परिवारले ३५ सय रूपैयाँ तिरेर १ लाख रूपैयाँसम्मको उपचार सेवा प्राप्त गरिरहेका छन् । सर्वसाधारण, गरिब, विपन्न, जेष्ठ नागरिक, महिलाले प्रत्यक्ष रूपमा लाभ लिएका छन् ।

यस कार्यक्रममा लागू भएको ६ वर्ष पुरा भएको छ । यस अवधिमा देशका ७७ जिल्लाका ७४६ वटा स्थानीय तहका करिब ५६ लाख ३९ हजार नागरिक आवद्ध भएका छन् ।

हाल सेवा प्रदायक संस्थाहरूबाट दैनिक २५ देखि ३० हजार संख्यामा दाबी पर्ने गरेको बोर्डले जनाएको छ । हाल बोर्डसँग ४५० वटा सेवा प्रदायक संस्थाले सम्झौता गरी बीमा कार्यक्रम सञ्चालन गरेका छन् ।


क्लिकमान्डु