लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ बीमा कम्पनीलाई जरिवाना, कुन कम्पनीलाई कति ?



काठमाडौं । लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ बीमा कम्पनीलाई बीमा समितिले जरिवाना गरेको छ ।

समितिले १८ जीवन बीमा कम्पनी, ३ निर्जीवन बीमा कम्पनी र १ पुनर्बीमा कम्पनीलाई जरिवाना गरेको हो ।

समितिले आर्थिक वर्ष २०७७÷७८ को लेखापरीक्षण प्रतिवेदन समयमै पेश नगरेको भन्दै जरिवाना सहित कारवाहि गर्ने निर्णय गरेको हो ।

समितिले १० वटा कम्पनीलाई प्रतिकम्पनी १० हजार रूपैयाँ र १२ वटा कम्पनीलाई प्रतिकम्पनी १० हजार ५०० रूपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको छ ।

समितिले नेपाल पुनर्बीमा कम्पनी, एलआईसी नेपाल, एशियन लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ, सिटिजन्स लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई १० हजार रूपैयाँको दरले जरिवाना गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ, नेपाल लाइफ, गुराँस लाइफ, आइएमई लाइफ, युनियन लाइफ, सन नेपाल लाइफ, रिलायवल नेपाल लाइफ, सानिमा लाइफ, दि ओरियन्टल, नेशनल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीलाई १० हजार ५०० रूपैयाँका दरले जरिवाना तिराउने निर्णय गरेको छ ।

बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेको बीमा व्यवसायको हिसा कितावको लेखापरीक्षण मान्यता प्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समिति समक्ष पेश गर्नुपर्ने अनिवार्य कानूनी व्यवश्थाको जानी जानी उल्लङ्घन गरेको देखिएकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजित ती कम्पनीलाई जरिवाना गरेको समितिले जनाएको छ ।

आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई १० हजार रूपैयाँका दरले र आव २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाई दोस्रो पटक कानूनी व्यवस्थाको उल्लङ्घन गर्ने बीमा कम्पनीह प्रत्येकलाई ५ सय रूपैयाँ थप गरी जम्मा १० हजार ५ सय रूपैयाँका दरले जरीवाना गर्ने निर्णय समितिले गरेको हो ।


क्लिकमान्डु