ब्रिटानियालगायत अन्य ब्रान्डका खाद्य वस्तु बिक्री गर्ने युनाइटेड डिस्ट्रिब्यूटरले गर्यो १२ अर्बको कारोबार
काठमाडौं । ब्रिटानियालगायत अन्य विभिन्न ब्रान्डका खाद्य वस्तु बिक्री गर्ने युनाइटेड डिस्ट्रिब्यूटर नेपाल प्रालिले एकै वर्ष १२ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।
कम्पनीले सन् २०२१ मा १२ अर्ब २३ करोड १० लाख रुपैयाँ बराबरको खाद्य वस्तुको कारोबार गरेको छ । कम्पनीले सन् २०२० मा ९ अर्ब ७३ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो भने सन् २०१९ मा ९ अर्ब ३३ करोड ४० लाख रुपैयाँ बराबर कारोबार गरेको थियो ।
कम्पनीले सन् २०२० को तुलनामा करिब गत वर्ष ३ अर्ब बढीको कारोबार गरेको तथ्याङ्कले देखाउँदछ ।
नेपालका लागि केन्द्रीय कार्यालय खिचापोखरीमा रहेको यस कम्पनीले विभिन्न देशबाट खाद्य वस्तु आयात गरी बिक्री वितरण गर्दै आएका छन् । जसमा १२ वटा कम्पनीले उत्पादन गरेको ७० वटा ब्रान्डका १३ सय ५० भन्दा बढी प्रकारमा खाद्य वस्तु बिक्री वितरण गर्दै आएका छन् ।
विशाल ग्रुप अफ कम्पनीअन्तर्गत सञ्चालनमा रहेको युनाइटेड ट्रेडर्सले विगत २ दशकदेखि नेपालमा निरन्तर खाद्य वस्तु आयात गरी उपभोक्तालाई बिक्री गर्दै आएको छ ।
अनुज अग्रवाल अध्यक्ष र विवेक अग्रवाल प्रबन्ध निर्देशक रहेको यस कम्पनीले बारा, पर्सा र काठमाडौंमा गरी तीन ठाउँबाट व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
६५० भन्दा बढी शाखा रहेको यस कम्पनीको वस्तु देशभर नै बिक्री वितरण हुने गरेको कम्पनीको भनाइ छ । कम्पनीले विश्वव्यापी रुपमा पोक्टर एण्ड ग्याम्बल, ग्ल्याक्सोस्मिथक्लिन, ब्रिटानिया उद्योग, गुजरात को–अपरेटिभ मिल्क मार्केटिङ ब्रान्डका वस्तु आयात तथा वितरण गर्दै आएका छन् ।
कम्पनीअनुसार सन् २०२१ मा २६ प्रतिशतले आम्दानी बढेको छ । सन् २०२१ मा उच्च खाद्य वस्तु माग भई बिक्री हुँदा २६ प्रतिशतले आम्दानी वृद्धि भएको कम्पनीले जनाएको छ ।
कम्पनीले सन् २०२१ मा ११ प्रतिशतले नाफा कमाएको छ । साथै, कम्पनीले सन् २०२२ को ६ महिनाको अवधिमा ७ अर्ब २६ करोड ६० लाखको कारोबार हुने जनाएको छ ।
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले कम्पनीलाई अल्पकालिन कर्जाका लागि ७ अर्ब १२ करोड रुपैयाँको सुविधा दिएको छ । जसमा कम्पनीले एटु रेटिङ पाएको छ ।