६ वर्षमा नेपालीले पिए ७३ करोड लिटर बियर, सरकारले उठायो १ खर्बबढी अन्तशुल्क



काठमाडौं । सरकारले कर बढाउँदा पनि वियर खानेको संख्या भने घटेको छैन ।

आव २०७३/७४ मा नेपालमा १० करोड ५५ लिटर वियर खपत भएकोमा चालु आर्थिक वर्षको ११ महिनामै १४ करोड १४ लाख लिटर बियर खपत भइसकेको छ ।

आव २०७७/७८ मा भने १२ करोड ७१ लाख लिटर वियर खपत भएको थियो । आन्तरिक राजस्व विभागको तथ्यांक अनुसार पछिल्ला ५ वर्षमा ७३ करोड ९० लाख लिटर बियर उत्पादन र खपत भइसकेको छ ।

बियर खपत बढ्दै जाँदा सरकारले संकलन गर्ने अन्तशुल्क समेत बढ्दै आएको छ । पछिल्लो ५ वर्षमा बियरबाट सरकारले १ खर्ब ११ अर्ब रुपैयाँ अन्तशुल्क संकलन गरेको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा बियरमा मात्रै २८ अर्ब २० लाख रुपैयाँ अन्तशुल्क संकलन गरेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

आव २०७३/७४ मा वियरबाट ११ अर्ब १९ करोड रुपैयाँमात्रै अन्तशुल्क संकलन भएको थियो ।

बियरमा अन्तशुल्कको दर बढाएका पनि पछिल्लो ५ वर्षमा सरकारले संकलन गर्ने अन्तशुल्क समेत तीन गुणाले बढेको हो ।

सरकारले पछिल्लो ६ वर्षमा वियरमा १२२ रुपैयाँ अन्तशुल्क बढाएको छ ।

आव २०७३/७४ मा सरकारले एक लिटर बियरमा १०६ रुपैयाँ अन्तशुल्क लिने गरेको थियो । चालु आर्थिक वर्षमा भने एक लिटर बियरमा १९८ रुपैयाँ अन्तशुल्क लिने गरिएको छ ।

आगामी आर्थिक वर्षमा भने एक लिटर बियरमा २२८ रुपैयाँ अन्तशुल्क लिने आर्थिक विधेयक २०७९ मा उल्लेख छ ।

पछिल्लो ६ वर्षको आर्थिक ऐन हेर्दा बियरमा एक वर्षमात्रै अन्तशुल्क बढेको छैन। कोरोना महामारीले अर्थतन्त्रमा सुस्त भएको आव २०७७/७८ मात्रै बियरमा अन्तशुल्क बढेको थिएन । त्यस वर्ष कुनै पनि मदिरा र वियरमा अन्तशुल्क बढेको थिएन ।

सरकारले बियरमा अन्तशुल्कका साथैं १३ प्रतिशत मूल्य अभिबृद्धि कर संकलन गर्छ ।

एक बोतल बियरमा १७१ रुपैयाँ अन्तशुल्क र करिब १२० रुपैयाँ मूल्य अभिबृद्धि कर सरकारले संकलन गर्ने गरेको छ ।

अल्कोहलजन्य वस्तुले मावन स्वास्थ्यमा नकारात्मक असर पर्ने हुँदा सरकारले प्राय: यस्ता वस्तुमा प्रत्येक वर्ष कर बढाउने गर्छ ।


क्लिकमान्डु