२२ वर्षअघि शुरु भएको आइएमईले यसरी विस्तार गर्यो व्यापारिक साम्राज्य, अब जनतालाई सेयर



काठमाडौं । विदेशमा कमाएको पैसा सुरक्षित र भरपर्दो तरिकाले नेपाल पठाउने उदेश्यले स्थापना भएको इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई) स्थापना भएको २२ वर्ष पूरा भएको छ ।

आइएमई खोल्नुपर्छ भन्ने सोच कसरी आयो ? र, आइएमई स्थापना भएपछि सुरक्षित रेमिट्यान्स आप्रवाहमा कस्तो क्रान्ति भयो ? भन्ने कुराको जानकारी दिने उदेश्यले यो आलेख तयारी पारिएको हो ।

‘झण्डै २ दशकअघि रोजगारीका लागि खाडीबाट नेपाल पैसा पठाउनका लागि निकै कठिन थियो, बैंकबाट लामो र झन्झटिलो प्रक्रिया पुर्याएर मात्रै नेपाल पैसा पठाउन सकिथ्यो, विदेशी भूमिमा दुःख गरी कमाएको पैसा अरुकै हातबाट नेपाल पठाउनु निकै गाह्रो काम थियो’ विगत सम्झिँदै आइएमइ ग्रुपका कार्यकारी निर्देशक हेमराज ढकाल भन्छन् ।

कैयन नेपालीहरु जस्तै वैदेशिक रोजगारीको सिलसिलामा जापानमा थिए । जापानमा काम गर्ने धेरै नेपालीले भोग्दै आएको यो समस्याप्रति ढकाल जानकार थिए । जापानबाट पैसा पठाउनका लागि नेपालीहरुले पाएको दुःख उनले बुझेका थिए । त्यसैबेला उनले यसलाई व्यवस्थित गर्नका लागि केही गर्न सकिन्छ कि भन्ने सोच पलाएको थियो ।

आईएमईका अध्यक्ष चन्द्रप्रसाद ढकाल राष्ट्रिय वाणिज्य बैंकमा जागिरे थिए । भाइ हेमराजले सुनाएको यो योजना उनलाई मन पर्यो । हेमराज मनमा पलाएको सोचलाई मूर्तरुप दिन सन् १९९८ मा नेपाल फर्किए ।

जापानबाट फर्किसकेपछि रेमिट्यान्समा हात हाल्ने ढकालको योजना त थियो । तर, त्यसअनुसारको नीति थिएन । त्यसैले ढकालले सुरुमा इन्टरनेशनल मनि एक्सचेन्जका नामबाट कान्तिपथमा मुद्रा सटही काउन्टर सुरु गरे ।

उनको अग्रसरतामा नेपालमा पहिलो पटक ब्रिपेषण सम्बन्धि नीति बन्यो । मुद्रा सटही व्यवसाय सुरु गरेको झण्डै एक वर्षपछि आईएमईको रेमिट्यान्स कम्पनी सुरु गर्न पायो । अब विदेशी मुद्रा सटही गरिरहेको आईएमईले अब विदेशबाट पैसा ल्याउन पाउने भयो ।

तत्कालिन समयमा विदेशबाट नेपाल पैसा ल्याउन असम्भवजस्तै थियो । भाषागत समस्या र झन्झिटिलो प्रक्रियाले विदेशमा श्रम गर्ने नेपालीहरुका लागि सहज थिएन् ।

श्रमको खोजीमा विदशी भूमि पुगेकाहरुलाई पैसा पठाउनु असम्भव जस्तै थियो । यसको फाइदा अवैधरूपमा हुण्डीको कारोबार गर्नेहरुले लिएका थिए । जसले गर्दा कालो धनको कारोबार पनि मौलाएको थियो । जसका कारण राज्यले प्राप्त गर्ने राजश्वसमेत गुमेको थियो ।

तर, आईएमईकै अग्रसरतामा बनेको रेमिट्यान्स सम्बन्धि नीतिगत निर्णयले आज वैधानिकरूपमा विप्रेषण भित्रिएको मात्रै छैन । विदेशमा श्रम गर्न गएका नेपालीले पठाएको रकम सहजरूपमा आफ्ना आफन्तले एकाध मिनेटमा नै पाउने वातावरणसमेत बनेको छ ।

केन्द्रीय बैंकले भर्खरै सार्वजनिक गरेको चालू आर्थिक वर्षको ९ महिनाको आर्थिक विवरणमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ ।

विप्रेषण आयातमा प्रत्येक वर्ष वृद्धि भइरहेको छ । वैदेशिक रोजगारीको खोजीमा विदेशिएका युवाले पठाएको रकमले देशको अर्थतन्त्रलाई सबल बनाउनमात्रै मद्दत गरेको छैन, आर्थिक रूपमा पछाडि परेका नागरिकको जीवनस्तर सुधार गर्नसमेत मद्दत पुगेको छ ।

त्यो ४७८९० रुपैयाँ…

सन् २००१ तिर सरकारले रेमिट्यान्सको नीति पारित गरेसँगै आईएमई मनि एक्सचेञ्जबाट मनि एक्सप्रेस बन्यो । यसले विदेशबाट पैसा नेपाल ल्याउने बाटो खोलिदियो ।

तत्कालिन समयमा विदेशी भूमिका दुःखले आर्जेको सम्पत्ति नेपाल पठाउनका लागि बैंकको झन्झटिलो प्रक्रिया अपनाउनु पर्थ्यो । बैंकमा ड्राफ्ट गरेपछि लामो समयसम्म पनि पैसा नेपाल आउँदैनथ्यो ।

रेमिट्यान्स कम्पनीका रुपमा स्थापित भइसकेपछि ढकालले कम्पनीको मार्केटिङलाई मलेसियामा बिस्तार गरे । पूर्वीनेपालबाट मेलेसियामा रोजगारीका लागि गएका रामशरण थापाले पहिलो पटक ४७ हजार ८९० रुपैयाँ आईएमईबाट नेपाल पठाए ।

त्यो पहिलो कारोबार सम्झँदै ढकाल भन्छन्, ‘त्यो पल हाम्रा लागि निकै खुसीको पल थियो, यतिसम्म कि पैसा आएपछि लड्डु नै बाँडिएको थियो ।’

आज पहिलो पटक आईएमई गर्ने थापा स्वदेशमै आईएमईमै जोडिएका छन् । पहिलो पटक आईएमई गर्ने थापा अहिले कैयन उपभोक्ताका लागि आईएमई गरिरहेका छन् । उनीमात्रै होइन, उनका सन्तानले पनि आईएमईमै आफ्नो करिअर बनाइरहेका छन् ।

आईएमईले मलेसियाबाट पैसा नेपाल ल्याएको मात्रै थिएन, रेमिट्यान्सको क्षेत्रमा नयाँ जगसमेत हालेको थियो । जसबाट बैंकको झन्झटिलो प्रक्रिया हटाएर निमेष भर मै पैसा हात पर्ने वातावरण बनाइदिएको थियो ।

आज त्यही जगमा टेकेर ४८ वटा रेमिट्यान्स कम्पनीहरुले विदेशबाट पैसा नेपाल ल्याउने काम गरिरहेका छन् । तर, आईएमईको बजार ४८ वटा कम्पनीमा ३५ प्रतिशतभन्दा बढी छ । जसले प्रत्येक वर्ष २ खर्बभन्दा बढी रुपैयाँ नेपाल भित्र्याइरहेको छ ।

विशेषगरी मलेसिया, साउदी अरब, कतार, दुवइ दक्षिण कोरिया, जापान र भारतलगायतका देशबाट आईएमईले नियमितरूपमा विप्रेषण नेपाल भित्राइरहेको छ ।

२२ वर्षको साम्राज्य

२२ वर्षअघि सन् २००१ मा पहिलो पटक रेमिट्यान्सका रुपमा ४७८९० रुपैयाँ भित्राएर व्यवसाय सुरु गरेको आईएमईले आजसम्म ३० खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्र्याइसकेको छ ।

आईएमईले पैसामात्रै नेपाल ल्याएन, पैसालाई बैधानिक बाटोमा नेपाल ल्याउनका लागि महत्वपूर्ण सुरुवातसमेत गरेको थियो । तत्कालिन समयमा पैसा पठाउन बैंकको झण्झटिलो प्रक्रिया थियो । मानिसहरु पैसा पठाउन बैंको झन्झटिलो प्रक्रियालाई पाखा लगाएर हुन्डिको बाटो पैसा नेपाल पठाउन सजिलो मान्थे । मानिसहरुलाई त्यो दैनिकीजस्तै बनेको थियो ।

हुन्डीको कारोबारले गाँजेको मनमा आईएमई स्थापना गराउनु निकै चूनौतीपूर्ण काम थियो । यसका लागि उनले विभिन्न देशमा पुगी बजार व्यवस्थापनलाई विस्तार गरे । आईएमईलाई सबैको मनमा बसाल्नका लागि चुस्त व्यवस्थापनले बलियो काम ग¥यो ।

सन् २००५ मा आइपुग्दा व्यवसायले गति लिन सुरु गरिसकेको थियो । यसैबीच वाणिज्य बैंकका कर्मचारीका रुपमा काम गरिरहेका चन्द्र ढकाल कम्पनीको बागडोर सम्हाल्न आइसकेका थिए । त्यसपछि दिनप्रतिदिन गर्दै कम्पनी अगाडि बढ्न थाल्यो ।

मुलुकका अधिकांश ठाउँमा बैंकिङ पहुँच पुग्न सकेको थिएन । तर, आईएमई पुगिसकेको थियो । विभिन्न अप्ठ्यारा र चूनौतीका बीच पनि आईएमईले बजार विस्तारलाई बढावा दियो । तीव्रगतिमा बजार व्यवस्थापनतिर लम्कियो ।

बैंकिङ पहुँचको त्यही चूनौतीलाई आईएमईले अवसरकारुपमा लियो । फलस्वरुप हरेक जिल्लामा आईएमई पुग्यो । बैंकमा खाता नहुनेहरुले पनि सहजै पैसा पठाउन र पाउन सक्ने भए । सन् २०१० तिर आइपुग्दा आईएमईले भूगोलमा मात्रै होइन हरेक नेपालीका मनमा पनि बलियो पहुँच स्थापित गरिसकेको थियो ।

कम्पनीले सहज बनाउने क्रममा आईएमईले सुरुमा फ्याक्स र त्यसपछि इमेलमार्फत् डाटा ट्रान्सफर गरी सेवालाई छिटो र छरितो बनायो । पछि आफ्नै सफ्टवेयर आएपछि अझ बढी सजिलो भयो । अहिले डिजिटलको प्रविधि आइसकेका छ । हरेकका हातमा स्मार्टफोनले पैसा पठाउन र पाउनका लागि निकै सहज बनिदियो ।

आईएमईले उपभोक्तामैत्री सेवा यति लोकप्रिय भइदियो कि पैसा पठाउने र पाउनु भनेकै आईएमई नै गर्ने हो भन्ने स्थापित भइसकेको थियो । यही लोकप्रिय शब्दलाई टपक्क टिपेर कम्पनीले नयाँ नारा दियो, ‘आईएमई गरौं’ ।

कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले विभिन्न भूमिकामा विदेशबाट आईएमई गरौं भन्ने सन्देश दिए ।

उक्त सन्देश रेडियो, टेलिभिजन, अखबार र अनलाइनका माध्यमबाट प्रत्येक नेपालीकहाँ पुग्यो । जसले रेमिट्यान्सको पर्यायका रुपमा आईएमई गरौं शब्द स्थापित भइदियो । यतिबेलासम्म आईएमई कम्पनीको नाम नभइ रेमिट्यान्सको पर्यायवाची शब्दमा ब्राण्डिङ भइसकेको थियो ।

ढकालका शब्दमा ‘आजका दिनसम्म उपभोक्तको आईएमईप्रतिको गुनासो ०.००१ प्रतिशत पनि छैन, आईएमई गर्नु भनेको दुःख गरी आर्जेको सम्पत्ति सुरक्षित गर्नु हो भन्ने सबै नेपालीहरुले बुझिसकेका छन् ।’

ज्ञानेन्द्रको कु र ती ३ दिन

२०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले ‘कु’ गरे । सञ्चारका सबै माध्यम बन्द भयो । फोन, मोबाइल फोन सबै ठप्प भयो ।

खाडी मुलुकबाट पैसा पठाउनेहरु विभिन्न देशका काउन्टरमा लामबद्ध थिए । पैसा पठाउनका लागि ड्राफ्टको ठूलो चाङ लागेको थियो । तर नेपालमा सञ्चारका सबै माध्यम बन्द हुँदा डाटा पठाउनै सकिएको थिएन् ।

ढकालले भने, ‘तर सञ्चारका सबै माध्यम बन्द हुँदा पनि हाम्रो गति रोकिएन, स्याटालाइट फोनमार्फत् डाटा पठाएर भए पनि पैसा भुक्तानी गर्न सक्यौ ।’ कम्पनीको त्यही उपभोक्तामैत्री सेवा भएकाले हामीलाई काम गर्न उत्साह मिल्यो ।

आज आईएमई जुन अवस्थामा पुगेको छ । त्यसका पछाडि १९ वर्षको लगनशिलता, इमान्दारिता र उपभोक्तामैत्री व्यवसाय नै हो । आज प्रत्येक दिन आईएमईका ग्राहकरु बढेका छन् । अहिले हरेक दिन २५ हजारभन्दा बढी नेपालीहरुले विदेशमा पठाएको पैसा ढुक्क मनले आईएमई गरिरहेका छन् ।

अब जनतालाई सेयर

२२ वर्षसम्म विदेशबाट हरेक दिन आएको पैसा नेपालीका हातहातमा पुर्याउँदै आएको आईएमईले अब सबैलाई हातहातमा सेयर दिने भएको छ । आईएमई प्राइभेट लिमिटेड कम्पनीबाट लिमिटेड कम्पनीमा रुपान्तरण भइसकेको छ ।

आईएमईले टिनएज पार गरी २३औं वर्षमा प्रवेश गर्दैगर्दा हरेक नेपालीहरुलाई उपहारस्वरुप हातहातमा सेयर दिने योजनालाई मूर्तरुप दिने तयारीमा जुटेको छ ।

‘आईपीओ जारी गर्नका लागि आईएमई प्राइभेट लिमिटेडबाट लिमिटेड कम्पनी भएको छ,’ ढकालले भने, ‘हामी छिट्टै आइपीओ जारी गर्दैछौं ।’

रेमिट्यान्सबाट शुरु भएको आइएमर्ई ग्रुपले अहिले पर्यटन, बैंकिङ, हाइड्रो, केबलकार, अटोमोबाइल, कार्गोलगायतका कैयन व्यवसायमा राम्रो पक्कड जमाइसकेको छ ।

त्यतिमात्रै होइन, आईएमईले विदेशबाट रेमिट्यान्स भित्राएसँगै यसै प्रणालीमार्फत हजारौं नेपालीहरुलाई देशका सबैजसो ठाउँमा उद्यमीहरु जन्माइसकेको छ ।

कम्पनीका नुसार हालसम्म ४० हजारभन्दा बढी मानिसहरु आईएमईका कारण स्वदेश तथा विदेशमा स्वरोजगार भएका छन् ।

मुलुकभर छरिएर रहेका सयौं आईएमई सेन्टर र हजारौं काउन्टरबाट हरेक दिन विदेशमा दुःख गरी कमाएको पैसा घर घरमा पुर्याइरहेका छन् । आइएमईलाई धेरै विदेशी मुद्रा भित्र्याएको भन्दै सरकारले धेरै पटक सम्मान समेत गरिसकेको छ ।


क्लिकमान्डु