सुज प्यालेसले शुरु गर्यो ‘बागबजार जुत्ता मेला’, ५० प्रतिशतसम्म छुट




काठमाडौं । काठमाडौको बागबजारमा चर्चित नेपाली ब्राण्डका जुत्ता चप्पलहरूको समूह सुज प्यालेसले ‘बागबजार जुत्ता मेला’ शुरुवात गरेको छ ।

बागबजार जुत्ता मेलाको बाग्मति प्रदेशका सभामुख सानु कुमार श्रेष्ठ र फुटवेयर म्यानुफ्याक्चर एशोसिएशन( एफम्यान)का अध्यक्ष नानीराज घिमिरेले मंगलबार संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

स्वदेशी उत्पादनका प्रख्यात नेपाली ब्राण्डहरुले रत्नपार्कको आकासे पुलसँगै रहेको नवनिर्मित कम्प्लेक्सको पहिलो तल्लामा ‘स्थायी शोरुम’मा नै मेला लगाइएकाे हाे ।

भृकुटीमण्डपमा केही दिन लाग्ने मेलाभन्दा स्थायी शोरुममा मेला लगाउँदा उपभोक्तालाई थप सहज हुने अपेक्षासहित परिस्कृत र गुणस्तरीय सेवा दिन स्थायी शोरुम बागबजारमा मेला लगाएको आयोजकको भनाइ छ ।

बागबजार जुत्ता मेलाको उद्घाटन गर्दै बाग्मति प्रदेशका सभामुख श्रेष्ठले स्वदेशी उत्पादनका जुत्ताचप्पल विदेशीभन्दा सस्तो र गुणस्तरीय उपलब्ध हुनु सकारात्मक भएको बताए ।

‘स्वदेशी जुत्ताचप्पलको क्षेत्र आत्मनिर्भर हुँदै जानु र वर्षेनी एक करोडको विदेशमा निर्यात गर्नु खुशीको विषय हो,’ उनले भने ।

उनले स्वदेशी उत्पादनका जुत्ताचप्पलको क्षेत्रको विकासका लागि सरकारले प्राथमिकता राखेको र यस क्षेत्रका समस्या समाधानमा ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा एफम्यानका अध्यक्ष घिमिरेले जुत्ताचप्पलको क्षेत्रमा लागेको १५ सय व्यवसायीहरु आत्मनिर्भरतर्फ उन्मुख भइरहेको बताए ।

‘सरकारले फुटवेयर व्यवसायीहरुका लागि नीतिगत व्यवस्था राम्रो गरे पनि प्रभावकारी कार्यान्वयन गर्न नसक्दा व्यवसायीहरु मारमा परिरहेका छन्, चोरी पैठारी नियन्त्रण गर्न जरुरी छ,’ उनले भने ।

अध्यक्ष घिमिरेका अनुसार फुटबेयर क्षेत्रमा ५० हजारले प्रत्यक्ष रोजगारी पाइरहेका छन् भने स्वदेशी उत्पादनले ६० प्रतिशत नेपाली बजार धानिरहेको छ । नेपाली व्यवसायीहरुले बार्षिक १६ करोड जोर उत्पादन क्षमता रहेको अध्यक्ष घिमिरेको भनाइ छ ।

कार्यक्रममा एफम्यानका महासचिव ज्ञानेन्द्र दाहालले भृकुटीमण्डपमा बाह्रै मासा लाग्ने मेलामा गुणस्तरहीन जुत्ता राखेर भ्रम सृजना गर्ने काम भइरहेकोमा संघको गम्भीर ध्यानाकार्षण भएको बताए ।

उनकाअनुसार भृकुटीमण्डपमा पाल टाँगेर मात्र होइन हाम्रा उत्पादनलाई स्थायी शोरुममा गुणस्तरीय र सुविधासम्पन्न रुपमा प्रस्तुत गर्न सकिन्छ भन्ने उदाहरण बागबजारको यो मेलाले दिएको छ ।

यसअघि सञ्चालन गरेका मेलाहरूमा आम उपभोक्ताको ठुलो आकर्षण देखिएपछि सबैको सहजताका लागि उपत्यकावासी आउजाउको केन्द्रविन्दुमै स्थायी शोरुमसहित मेला संचालनमा ल्याएको आयोजक प्रमोद महतोले जानकारी दिए ।

‘भृकुटीमण्डपमा हामीले पनि विगतमा मेला लगाएका थियौ तर भृकुटीमण्डपको मेलामा जुत्तामा वारेन्टी लेखिएको हुन्छ तर पसल वा शोरुप कहाँ हुन्छ थाहा हुँदैन केही समस्या पर्दा पसलै थाहा नभएपछि कहाँ जाने त ति कुराहरुलाई चिर्नबागबजारको शोरुपमा पर्मानेन्ट मेला लगाएका छौ,’ आयोजक महतोले भने ।

बागबजारको मेलामा ९० प्रतिशत नेपाली प्रोडक्ट र १० प्रतिशत विदेशी ब्रान्ड राखेर विदेशीसँग प्रतिस्पर्धा गरिरहेको आयोजकको भनाइ छ । आयोजक जीवन श्रेष्ठले वर्षमा १२ वटा अफर दिएर १२ वटा मेला स्थायी शोरुपमा नै लगाउने बताए ।

उनले यो मेलाले उपभोक्ताहरुलाई पुलको रुपमा जोड्ने र हाम्रा उत्पादन सस्तो र गुणस्तरीय पनि पाउने बताए । भोलिका दिनमा स्वदेशी पूँजी स्वदेशमा नै प्रयोग गरेर बिभिन्न शहरहरुमा पनि उपभोक्ताहरुलाई सहज होस् भनेर नयाँ आउटलेट खोल्दै जाने आयोजकको योजना छ ।

नयाँ तथा आधुनिक डिजाइनका एक हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध मेलामा छुट, स्कीम र वारेन्टीसहित उत्पादन लागतमै जुत्ताचप्पल उपलब्ध रहेको आयोजकको भनाइ छ ।

मेलामा नेपालका प्रख्यात ब्राण्ड स्मार्ट सुज, सम्राट सुज, केटीएम सुज र भेनस सुजका नयाँनयाँ डिजाइनका स्टाइलिस जुत्ताचप्पल उपलब्ध छन् ।

आयोजकले मेला संचालनको शुभारम्भमा प्रत्येक जुत्ता खरिदमा २० देखि ५० प्रतिशतसम्म छुट प्रदान गरिएको जनाइएको छ । जुत्ता कम्पनीले सीधै ग्राहकहरुलाई जुत्ताचप्पल उपलब्ध गराउने हुँदा एजेन्सी, होलसेलर तथा पसलहरुले लिने कमिशन नजोडिदा उत्पादन मूल्यमै ग्राहकहरुलाई उपलब्ध हुने आयोजकको दाबी छ ।


क्लिकमान्डु