प्रभावमा परेर निजगढ एयरपोर्ट नबनाउन आदेश दिने न्यायधीशहरु संसद फेस गर्न आउनोस्ः मन्त्री झाँक्री



काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल नबनाउनू भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निर्णय भएको आरोप लगाएकी छन् ।

शुक्रवार नयाँ शहर युटिलिटी कोरिडोर तथा शहरसँग सम्बन्धित कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । उनले सर्वोच्चले गरेको यो निर्णय कुन आधारमा टेकेर गरेको निर्णय हो ? भन्दै प्रश्न गरिन् । उनले अदालतले रुख फाँड्ने कुरा, जग्गा अतिक्रमण गरेर बसेकाहरुको कुरालाई समातेर गरेको निर्णय भए त्यसको विकल्प खोज्न सकिने तर यो निर्णय कसैको प्रभावमा आएर गरेको निर्णय भएको आरोप लगाइन् ।

मन्त्री झाँक्रीले सबै न्यायाधीशहरु प्रधानन्यायाधीश हुने लाइनमा रहेको भए संसदमा आएर फेस गर्नसमेत चुनौति दिइन् । उनले सरकारले विमानस्थलको बुटा मात्रै काट्ने निर्णय गरेको हो भने मात्रै सर्वोच्चको यो निर्णय सही हुनसक्ने बताइन् ।

मन्त्री झाँक्रीले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार संसदमा गरेको सम्बोधनमाथि पनि प्रश्न उठाइन् । उनले अध्यक्ष ओलीले गरेको सम्बोधनको कुनै तुक नरहेको टिप्पणी गरिन् । मन्त्री झाँक्रीले गफले मात्रै देशको समृद्धि हुननसक्ने भन्दै साढे तीन घण्टा बोल्न आफूले पनि सक्ने बताइन् ।

मन्त्री झाँक्रीको भनाइ जस्ताको त्यस्तै

अदालतले निजगढ नबनाउ भन्यो । अदालतले निजगढ एयरपोर्ट नबनाउ भन्दै गर्दा कुन कुरालाई समातेर निर्णय भएको छ भन्ने कुरा हेरौँ । ८ हजार कि कति हेक्टरमा रुख फाँड्ने कुरालाई भनेको छ भने त्यसको विकल्प दिन सकिन्छ । त्यहा अव्यवस्थित ढंगले जग्गा अतिक्रमण गरेर बसेकाको अधिकारलाई टेकेर त्यो कुरा गरेको हो भने त्यसको अर्को उपचार गर्न सकिन्छ । यदी त्यहाँ एयरपोर्ट चल्दैन भन्छ भने त्यसको बारेमा अर्को उपचार गर्न सकिन्छ । तर न्यायालय पनि आज प्रश्न भन्दा बाहिर छैन नि । प्रत्येक न्यायाधीशहरु यदी प्रधानन्यायाधीश हुने लाइनमा छन् भने पाल्र्यामेण्टमा आएर फेस गर्नुपर्छ । त्यो भनेको पब्लिकलाई फेस गर्नु हो । हाम्रो संविधानमा भएको धेरै राम्रो व्यवस्था हो यो । यो पहिलोपटक भयो अन्तरिम संविधान निर्माण यता । त्यसैले श्रीमानहरुले गरेको निर्णय सम्मानित अदालतको आदेश सरकारले मान्छ तर तपाईहरुले कुन कुरा, कुन प्रिन्सिपललाई टेकेर निर्णय गर्नुभयो ? सरकारको भेष्टेट इन्ट्रेस बुटामात्रै काट्ने छ भने अदालतले गरेको निर्णय ठिक हो । नेपालमा अर्को ठाउँमा शहर विकास गर्ने, अन्तर्राष्ट्रिय अर्को एयरपोर्ट बनाएर ट्रान्जिट गर्न सहज बनाउने हो भने श्रीमानहरु यो निर्णय गर्दा कतैबाट प्रभावित पो हुनुभयो कि ? निवेदकहरु कतैबाट प्रभावित भएर यो काम गरिाख्नुभएको छ कि ? हामीले यहाँबाट हेर्नुपर्छ ।

हाम्रो पूर्वप्रधानमन्त्रीले कि भ्यूटावर समृद्धिका द्योतक हुन् भन्नुभयो । हुन्, त्यसमा हामीलाई कुनै सन्देह छैन । तर, एउटा टावरमात्रै समृद्धिको द्योतक हो कि, त्यस वरपरको प्लानिङ,त्यो अनुसारको इकोनोमी ग्रोथ, त्यो अनुसारको इन्फास्ट्रक्चर, त्यो अनुसारको साइडमा त्यसलाई सस्टेन हुने अरु पूर्वाधार । एक ठाउँमा साढे ३ अर्बको टावर ठड्याएर समृद्धि आउँछ त ? कमर्सियल सिहवाले भन्ने हो भनेपनि त्यो टावर सस्टेन गर्नको लागि त्यसमा अरु चाहिन्छ कि चाहिँदैन । मान्छे जानुपर्छ, रमिता हेर्न, मान्छे जाने पूर्वाधार, कति चाहिन्छ, त्यसको कोरिलेशन हुँदैन र ? गफै दिएर हुन्छ अहिलेसम्म । गफैमा जम्मे कुरा गर्ने हो भने साढे तीन घण्टा बोल्न त मलाई पनि आउँछ । बोलेरै आएकी हुँ उहिले । तर साढे तीन घण्टा बोल्दै गर्दा कति क्रेडिबल कुरा गरेँ, कति कन्सिटेन्सीका साथ कुरा गरेँ भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ । म त अझै आफ्नै खुट्टामा उभिएर बोल्न सक्छु, कुर्सी पनि चाहिँदैन ।


क्लिकमान्डु