निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको आदेश



काठमाडौं । सर्बोच्च अदालतले बहुचर्चित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको छ ।

न्यायाधीश हरिकृष्ण कार्की, ईश्वर खतिवडा, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्णइजलासले निजगढमा विमानस्थल बनाउने सरकारको यसअघिको निर्णय खारेज गरी उपयुक्त अरू ठाउँ खोजेर विमानस्थल बनाउन परमादेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेलगायतले २ वर्षअघि दायर गरेको रिटमा अदालतले बिहीबार अन्तिम फैसला गरेको हो ।

निजगढमा विमानस्थल बनाउने गरी सरकारले गरेको निर्णय, वन मन्त्रालयको वातावरणीय अध्ययन प्रतिवेदन र निजगढको ८ हजार ४५ हेक्टर जंगल नागरिक उड्डयन प्राधिकरणलाई दिने निर्णय बदर गरेको हो।

निजगढमा विमानस्थल बनाउने निर्णय खारेज गरी उपयुक्त अरू ठाउँ खोजेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन परमादेश जारी गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

निजगढमा विमानस्थल बनाउँदा ठूलो संख्यामा रुख काट्नुपर्ने भन्दै केही अभियान्ताहरुले विरोध जनाउँदै आएका थिए । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन भारतले पनि सुरक्षा चुनौतिका नाममा चासो दिँदै आएको थियो ।


क्लिकमान्डु