जेठ १२ देखि १४ सम्म भृकुटीमण्डपमा प्लास्टिक प्रदर्शनी



काठमाडौं । प्लाष्ट नेपाल फाउन्डेसनले यही जेठ १२, १३ र १४ गते काठमाडौंको भृकुटीमण्डपमा ‘प्लास्ट नेपाल २०२२’ नामको प्लाष्टिक प्रदर्शनीको आयोजना गर्ने भएको छ।

फाउन्डेसनले गर्न लागेको यो तेस्रो संस्करणको प्रदर्शनी हो। पहिलो संस्करणको यस्तो प्रदर्शनी यसअघि २०७१ र दोस्रो संस्करण २०७५ मा सफलतापूर्वक आयोजना भएको थियो।

यो प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योगहरु र छिमेकी मुलुक भारत लगायत अन्य देशका समेत करिब ५ हजार प्लाष्टिक उद्यमी व्यवसायीहरु र करिब १ लाख उद्योगी, व्यवसायी र अन्य दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएकोे आयोजकले जनाएको छ।

प्रदर्शनीमा प्लाष्टिकजन्य उत्पादनहरु, यसका कच्चा पदार्थहरु र मेसिन उपकरणहरु समेतका विभिन्न १२६ वटा स्टलहरु राखिनेछन्। प्लाष्ट नेपाल फाउन्डेसनका उपाध्यक्ष विवेक तातेडको संयोजकत्वमा मेला तयारी तथा आयोजक कमिटी गठन गरिएको छ।

‘प्लाष्ट नेपाल, नेपाली प्लाष्टिक उद्यमीहरुको छाता संगठन हो र हामीले नेपालमा प्लाष्टिकको दिगो वृद्धिको लागि निरन्तर काम गरिरहेका छौँ। नेपाली उत्पादनलाई प्राथमिकता दिनेदेखि, प्लाष्टिकको पुनर्प्रयोग र फोहोर व्यवस्थापनमा सबैतिर यस संस्थाले सरकार र उद्योगीहरुसँग मिलेर काम गरिरहेको छ।’ फाउन्डेसनका अध्यक्ष राहुल कुमार अग्रवालले भने, ।

नेपालमा प्लाष्टिक उद्योग व्यवसायको प्रवर्द्धन गरी उपभोक्ताहरुलाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लाष्टिकजन्य वस्तुहरु उपलब्ध गराउन यस मेलाले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।


क्लिकमान्डु