अर्थतन्त्र समस्यामा छ, ब्याजदर घट्दैनः गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले महाप्रसाद अधिकारीले उपभोग घटोस् भनेर ब्याजदर बढाउने नीति लिएको बताएका छन् ।

‘नेपालमा मूल्य बढ्दा समेत उपभोग घट्न सकेको छैन्, ’ गभर्नर अधिकारीले भने, ‘जतिसुकै मूल्य परेपनि हाम्रा उपभोक्ता किन्न तयार भएका छौँ । जसले गर्दा ब्याजदर बढ्दा समेत उपभोग घट्न सकेको छैन् ।’

अर्थतन्त्र बचाउन सक्यो भने व्यवसाय गर्न त मिल्ने भन्दै पछिल्लो समय सर्तक भएर काम गर्नुपर्ने अवस्था रहेको गभर्नर अधिकारीले बताए ।

राष्ट्र बैंकले एलसी खोल्दा नगद मार्जिन राख्ने, बैंकको ब्याजदर बढाउने र केही वस्तु आयातमा एलसी नखोल्ने नीति राष्ट्रिय हितका लागि लिइएको दाबी गरे ।

एलसी खोल्दा नगद मार्जिनको नीति लिएपछि व्यवसायीले भन्सारको बाटो छलेर सामान ल्याइरहेको समेत गभर्नर अधिकारीले आशंका व्यक्त गरे ।

‘आजका दिनमा अर्थतन्त्रको अवस्था सकारात्मक छैन । एकै वर्षमा २ /३ अर्ब डलरको रिजर्भ घट्नु गम्भीर विषय हो । सधैँ हामीले यो समस्या झेल्न सक्दैनौँ ,’ गभर्नर अधिकारीले उद्योगी व्यवसायीलाई भने, ‘अहिले नाफा कमाउनेभन्दा पनि अर्थतन्त्र जोगाउने समय हो । सर्तक भएर काम गर्नुपर्ने छ ।’

आर्थिक अवस्था सहज बनाउन केन्द्रीय बैंकले हदै सम्मको इन्टरभेन्सन गरेकाले व्यवसायीबाट समेत संकटको अवस्थामा सहयोग हुनु पर्ने बताए ।

पछिल्लो समय कोरोना महामारीपछि बजारमा माग बढेको अनुपातमा आपूर्ति बढ्न नसक्दा अर्थतन्त्रमा समस्या देखिएको गभर्नर अधिकारीको भनाइ छ ।

‘कोरोनापछि उपभोग अत्याधिक बढेको देखिन्छ । उच्च दरमा माग बढ्दा संसारभर मूल्य बढेको छ’, अधिकारीले भने, ‘जस्तो टर्कीमा औषतमा ७० प्रतिशतले मूल्य बढेको छ । ४० वर्षपछि अमेरिकामा ८ प्रतिशले मूल्य बढेको छ । युरोपमा २५ वर्षपछि ५ प्रतिशतले मुल्य बढेको छ ।’

कोरोना महामारीपछि उपभोग बढेको अनुपातमा उत्पादन नबढ्दा संसारका सबै धनी गरिब देशलाई मूल्यवृद्धी असर गरिरहेको अधिकारीको भनाइ छ ।


क्लिकमान्डु