अर्थमन्त्री शर्माको अगाडि गभर्नर अधिकारीले भनेः हामी श्रीलंकाको बाटोमा छौं



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा रहेको बताएका छन् ।

राष्ट्र बैंकले आयोजना गरेको आर्थिक तथा वित्त सम्मेलनमा गभर्नर अधिकारीले अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेको आयात नघटेमा श्रीलंकाजस्तो स्थिती आउन सक्ने चेतावनी दिए ।

‘आयात बढ्दै जाने तथा सो अनुसारको विदेशी मुद्रा आर्जन नभएमा श्रीलंकाको बाटोमा हामी जान सक्छौ, अहिले अर्थतन्त्रमा बाह्य क्षेत्रको स्थायीत्व प्रमुख चुनौतीको रुपमा देखिएको छ,’ गभर्नर अधिकारीले भने ।

गभर्नर अधिकारीले चालु आर्थिक वर्षको शुरुदेखि नै रेमिट्यान्स घट्दै गएको तथा आयात बढेको कारण शोधानान्तर घाटा भएको र बैंकमा तरलता अभाव रहेको बताए ।

‘सरकारसँग सहकार्यमा राष्ट्र बैंकले आयात निरुत्साहन गर्नका लागि नगद मार्जिनदेखि लिएर कर्जामा जोखिम भार थप्ने तथा सुन र चाँदीको आयातमा कडाइ गरेको छ, विदेशी सञ्चिती जोगाउनुपर्ने अहिलेको बाध्यता हो,’ गभर्नर अधिकारीले भने ।

उनले पेट्रोलियम पदार्थको मूल्यले बाह्य क्षेत्रमा चाप परेको र लगानी योग्य रकम नभएको कारण ब्याजदर बढेको बताए ।

‘उपभोगमुखी हुँदै गएमा र बानी परिवर्तन भएमा अर्थतन्त्रमा समस्या देखिन्छ, उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने र आयात घटाउदै लैजाने नीति लिनुपर्ने हुन्छ,’ गभर्नर अधिकारीले भने ।


क्लिकमान्डु