चैत तेस्रो सातासम्म पुँजीगत खर्च २५% मात्रै



काठमाडौं । चालु आर्थिक वर्षको करिब ८ महिनाको अवधिमा २५।१२ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विद्येयकका सम्बन्धमा संघीय संसदमा भदौ २५ गते बजेट प्रस्तुत गरे लगत्तै प्रति महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने उद्घोष गरेका थिए ।

तर चैत २१ सम्म आइपुग्दा २५.१२ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षको लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको थियो । जसमा चालु तर्फ १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख र पुँजीगत तर्फ ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ खर्च गर्ने भनेको छ ।

जसमा अहिलेसम्म पुँजीगत तर्फ २५.१२ प्रतिशत अर्थात ९४ अर्ब ९८ करोड ८८ लाख रुपैयाँ मात्रै खर्च भएको छ । यस्तै चालु खर्च भने ५४.९ प्रतिशत पुगेको छ । सोमबारसम्म ५ खर्ब ८४ अर्ब ८७ करोड ८० लाख रुपैयाँ खर्च भइसकेको छ ।

सरकारले चालु आवमा ११ खर्ब ८० अर्ब ६० करोड ४ लाख रुपैयाँ राजस्व संकलन गर्ने अपेक्षा गरेको थियो । जसमा अहिलेसम्म ७ खर्ब २९ अर्ब ९५ करोड ८ लाख रुपैयाँ अर्थात ६१.८३ प्रतिशत राजस्व संकलन भएको छ ।

जसमा कर राजस्व तर्फ १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म ६ खर्ब ७१ अर्ब ४९ करोड २६ लाख रुपैयाँ अर्थात ६२.८८ प्रतिशत, गैह्र कर राजस्वमा १ खर्ब १२ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकोमा ५८ अर्ब ४५६ करोड ८२ लाख अर्थात ५१.९ प्रतिशत उठिसकेको छ ।

बजेटमा ५९ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ वैदेशिक अनुदान लिने भनिएको भएपनि अहिलेसम्म १३ अर्ब ८८ करोड ३३ लाख रुपैयाँ अर्थात २३.१३ प्रतिशत मात्रै आएको छ ।


क्लिकमान्डु