एक वर्षमा बीमाको पहुँच ९% बिन्दुले बढ्यो, ३५% जनसंख्याको बीमा



काठमाडौं । एक वर्षको अवधिमा नेपालमा बीमाको पहुँच ९.४४ प्रतिशतले बढेको छ । बीमा समितिको तथ्यांकअनुसार चालु आवको फागुनमसान्तसम्ममा बीमाको पहुँच ३५.४४ प्रतिशत जनसंख्यामा पुगेको हो ।

तथ्यांक विभागको तथ्यांक अनुसार हाल नेपालको जनसंख्या ३ करोड ८९ हजार ४२ जना रहेको समितिले उल्लेख गरेको छ । जसमा एक करोड ६ लाख ६३ हजार ३०७ जना बीमाको दायरामा रहेको समितिको तथ्यांकले देखाएको छ । यो संख्या म्यादी र बैदेशिक रोजगारीमा जानेले गराएको बीमा सहितको तथ्यांक हो ।

समितिका अनुसार म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित बीमाको दायरा ३५.४४ प्रतिशत जनसंख्यामा पुगेको हो । गत आवको यसै अवधिमा बीमाको दायरामा आएको जनसंख्या २६.३० प्रतिशत थियो ।

म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख बाहेक ८७ लाख ७७ हजार ८३३ जनामा बीमाको पहुँच पुगेको छ । भने म्यादी जीवन बीमालेख सहित ९८ लाख ११ हजार ९९३ जनामा बीमाको पहुँच पुगेको छ ।

समितिका अनुसार म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखबाहेक बीमाको दायरामा आएको जनसंख्या २९.१७ प्रतिशत छ ।
म्यादी जीवन बीमालेख सहित भने ३२.६१ प्रतिशतमा बीमाको दायरा विस्तार भएको बीमा समितिले जनाएको छ ।

चालु आवको फागुन महिनासम्ममा १ करोड ११ लाख ७९ हजार ७२८ बीमालेख जारी भएका छन् । गत आवको यसै अवधिको तुलनामा ३६.५४ प्रतिशतले बढेको हो ।

समितिका अनुसार यस अवधिमा १० लाख ८८ हजार ५९० म्यादी बीमालेख जारी भएका छन् । यस्तै, ८५ लाख ३ हजार ३१४ वैदेशिक रोजगार बीमालेख जारी भएका छन् ।

एक वर्षको अवधिमा बीमा कम्पनीहरुमा १५.१५ प्रतिशतले शाखा कार्यालय थपिएका छन् । हाल बीमा कम्पनीहरूका शाखा कार्यालयको संख्या ३ हजार ३२९ वटा रहेको बीमा समितिको तथ्यांक छ । गत आवको यसै अवधिमा बीमा कम्पनीका शाखा कार्यालयको संख्या २ हजार ८९१ वटा रहेको थियो ।

यस्तै, बीमा कम्पनीमा कार्यरत कर्मचारीको संख्या ११ हजार ८५२ जना पुगेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ११.५७ प्रतिशतले बढी हो । गत आवको यसै अवधिमा कम्पनीहरूमा कार्यरत कर्मचारीको संख्या १० हजार ६२३ जना रहेको थियो ।


क्लिकमान्डु