पोखरालाई विश्वकै ‘लक्जरी शहर’ बनाउने पुष्पको सपना, मेयर जिते सुकुम्बासीलाई अपार्टमेन्ट सित्तैमा !



अधिकारीका अनुसार पोखरामा १० हजार विलासी अपार्टमेन्ट निर्माण गरेर १ मिलियन डलरमा विदेशीलाई बिक्री गर्न सकिन्छ, यसले पोखरालाई ब्राण्डिङ गर्न सहयोग गर्छ, राज्यले राम्रो आम्दानी गर्छ ।

काठमाडौं । जीवनको अधिकांश समय बेल्जियममा व्यवसाय गरेपछि एक दशकअघि पुष्पराज अधिकारी नेपाल फर्किए ।

बेल्जियममा चम्कँदो व्यवसाय र विलासी जीवनशैली चटक्कै छाडेर सपरिवार स्वदेश फर्किएका उनले कास्कीको रुपकोटमा लक्जरी ‘रुपाकोट रिसोर्ट’ बनाए । जुन देशकै महंगा केही रिसोर्टमध्येको एक हो ।

पोखरालाई केन्द्र बनाएर होटल व्यवसाय गरिरहेका कैयनका लागि रुपाकोट रिसोर्ट मानक बनिदियो । रुपाकोट रिसोर्ट पुग्ने जो कोहीलाई पनि मनै लोभ्याउने गरी उनले बनाएको संरचना निकै अनुपम छ ।

एउटै कुर्सीबाट बेगनास र रुपा तालमात्रै होइन, लामो हिमश्रृंखलाका साथै सुर्योदय र सूर्यास्तको अनुपम सौन्दर्यलाई उनले व्यवसायमा बदले । आम्दानीको गतिलो माध्यम बनाए ।

१ अर्ब लगानी गरेर पर्यटनको अथाह सम्भावनाको बाटो पनि देखाइदिए । इच्छाशक्ति भए नेपालमै गर्न सकिन्छ भन्ने उदाहरण पनि बने ।

उनै अधिकारी यतिबेला पोखरा महानगरपालिकाको मेयर बन्ने सपना बुनेका छन् । मेयरको आकांक्षी बन्दै गर्दा अत्यन्तै ठूलो महत्वाकांक्षा पनि उनीसँग छ ।

अधिकारी बेल्जियमबाट ब्यापार गर्ने उदेश्यले मात्रै नेपाल फर्किएका थिएनन् । पहिला व्यवसायमा केही गरेर देखाउने अनि राजनीतिक नेतृत्वमा आएर पोखराको आमूल परिवर्तन गर्ने सपना पनि सँगसँगै थियो ।

अधिकारी राजनीतिमा प्रवेश गरेको ३० वर्ष भयो । पूर्णकालीन कार्यकर्ता नभए पनि उनी राजनीतिबाट भने कहिल्यै टाढिएनन् ।

‘२०४८ सालमा पहिलो पटक नेकपा एमालेको सदस्य लिएको हो, त्यसयता म व्यवसायसँगै राजनीतिमा पनि यो वा त्यो तरिकाले आबद्ध छु,’ क्लिकमाण्डूसँगको कुराकानीमा उनले भने ।

यतिबेला उनी आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मेयरको टिकट पाउन लागि दौडधुप गरिरहेका छन् । टिकट पाउन उनी कति सफल हुन्छन् त्यो अझै अन्यौल नै छ ।

तर, उनीसँग पोखरा महानगरलाई समृद्ध बनाउने योजनाहरु भने स्पष्ट छन् । उनी आफूलाई पोखराको मेयर बन्दै गर्दा न्यूयोर्कको मेयर बराबरको हैसियत बनाउने ल्याकत भएको समेत दाबी गर्छन् ।

‘मैले मेयर जितेको खण्डमा ज्यूयोर्ककको मेयरको जस्तो हैसियत बनाउँछु,’ उनी भन्छन्, ‘पोखरा प्रवेश गर्ने वित्तिकै पोखरा आएको फिल हुने गरी विकास गर्न सकिन्छ भन्ने आत्मविश्वासमात्रै होइन, त्यो पूरा गर्नका लागि व्यवस्थापकीय कला र स्पष्ट खाका मसँग छ ।’

उनले देखेको आजको समस्या व्यवस्थापनको हो । विकासित समाज निर्माणका सम्भावना र समस्या हामीलाई थाहा छ । अब त्यसलाई प्राथमिकतामा राखेर समाधान गर्नुपर्छ । त्यो क्षमता आफूसँग भएको बताउँछन् उनी ।

‘मेरो पहिलो काम नै व्यवस्थापन गर्ने हो । जसलाई मैले १ वर्षभित्र पूरा गर्न सक्छु,’ उनले योजना सुनाए, ‘यस अन्तर्गत ट्राफिक व्यवस्थापनदेखि, ढल व्यवस्थापन, महानगरको ब्यूटिफिकेसन, व्यवस्थित सडकपेटी र सार्वजनिक सेवालाई प्रभावकारी बनाउनेदेखि समाजलाई सामाजिक र आर्थिकरुपमा सशक्त बनाउने योजना पनि छ ।’

पुँजी, प्रविधि, जनशक्ति तथा स्रोत र साधनको उचित व्यवस्थापन गर्ने आफूसँग ३ दशकभन्दा लामो अनुभव भएको उनले सुनाए ।

तर, समृद्ध पोखरा निर्माणका लागि त्यतिले मात्रै पुग्दैन ।

‘पोखराका लागि यी आधारभूत आवश्यकता हुन् । तर, अब यत्तिले मात्रै पुग्दैन,’ अधिकारीले भने ।

त्यसैले उनी पोखरालाई अन्तर्राष्ट्रियस्तरमा ब्राण्डिङ गर्ने योजनामा छन् । र, यसका लागि बिस्तृत योजनासमेत भएको उनको दाबी छ ।

‘प्रभावकारी व्यवस्थापन गर्न सक्ने मेरो कलालाई आजसम्म मैले आफ्नो व्यवसायमा लगाइरहेको छु,’ उनले भने, ‘अब म पोखरा महानगरको समृद्धिका लागि लगाउन चाहन्छु ।’

अधिकारीले आफ्नो दोस्रो क्षमता भनेको क्षमता अभिवृद्धि भएको बताए ।

‘मसँग प्रविधि, वैदेशिक लगानी, सीप तथा साधन स्रोतको उचित र अधिकतम उपयोग गर्दै क्षमता अभिवृद्धि गर्ने क्षमता छ, यही क्षमतालाई म मुलुकको विकासमा सदुपयोग गर्न चाहन्छु,’ उनले भने ।

आजका दिनमा पोखरामा विदेशी लगानी ल्याउँदै विश्वभर पोखरालाई ब्राण्डका रुपमा विकास गर्नु अति जरुरी छ । पर्यटकीय गन्तव्य भनिए पनि विश्वभरबाट गुणस्तरीय पर्यटक ल्याउन सकिएको छैन ।

‘अब पोखरालाई ट्रान्जिट प्वाइन्ट बनाएर मात्रै पुग्दैन, पर्यटन विकासका लागि पोखरासँग प्राकृतिकरुपमा प्राप्त सबै चिज छ, हामीले पर्यटकलाई हिमाल र तालमात्रै देखाएर पैसा कमाउन सक्छौं,’ उनले भने ।

तर, त्यसका लागि सबैभन्दा पहिले ब्राण्डिङ गर्नुपर्ने उनको भनाइ छ । हजारौं डलर खर्च गर्न सक्ने लाखौं विदेशी पर्यटक चाहिन्छ । तर, त्यसका लागि उनीहरुलाई आकर्षित गर्ने सेवा सुविधा पनि चाहिन्छ ।

अधिकारीसँग पोखरालाई समृद्ध बनाउने योजना छ । त्यो के भने विदेशी नागरिकलाई अपार्टमेन्ट बिक्री गर्ने ।

‘पोखरामा हामीले १० हजार विलासी अपार्टमेन्ट निर्माण गरेर १ मिलियन डलरमा विदेशीलाई बिक्री गर्न सक्छौं, यसले पोखरालाई ब्राण्डिङ गर्न सहयोग गर्छ, राज्यले राम्रो आम्दानी गर्छ,’ उनले भने ।

तर, यो मेगा प्रोजेक्ट हुन्छ । ५ वर्षमै पूरा गर्न सम्भव पनि छैन । तर, शुरुवात भने अवश्य गर्न सकिन्छ । र, यो अहिलेको आवश्यकता पनि हो ।

‘विश्वका कैयन यस्ता सहरहरु छन्, जहाँ विश्वभरका अर्बपतिहरु अपार्टमेन्ट र घर किनेर बसेका हुन्छन्,’ अधिकारीले भने, ‘सबै खाले सुविधासम्पन्न त्यस्ता अपार्टमेन्टहरु हामीले पोखरामा बनाउन नसक्ने होइन । तर, इच्छा शक्ति र उचित व्यवस्थापन चाहिन्छ ।’

उनका नजरमा पोखरामा अहिले देखिएको समस्या सेती नदीको पनि हो । उचित व्यवस्थापन भएन भने भोलिका दिनमा सेती नदी झनै ठूलो समस्या बन्न सक्छ । सेती नदी व्यवस्थापन गर्दै त्यसैमाथि मेट्रो रेल र त्यहीबाट जलविद्युत् पनि सञ्चालन गर्न सकिन्छ भन्नेमा उनी विश्वस्त छन् ।

‘विगतमा मोनो र मेट्रो रेल चुनावी एजेन्डा भए, तर त्यसमा कसैले पनि काम गर्न सकेनन्,’ उनले भने, ‘हाम्रा लागि मोनो रेलको साटो महंगो भए पनि मेट्रो रेल नै आवश्यकता हो । तर यो ५ वर्षमा सकिने प्रोजेक्ट होइन । समय लाग्छ तर शुरुवात गर्न सकिन्छ ।’

अधिकारी कास्कीमा भएका तालहरुको संरक्षणमा अहिलेको सरकार चुकेको बताउँछन् । पोखराको आकर्षण नै ताल हो । तर, यसको संरक्षण, सम्बद्र्धन र विकासमा कसैले पनि ध्यान दिएको आफूले नपाएको उनको भनाइ छ ।

‘तालको संरक्षणका लागि यसको क्षेत्र बिस्तार गर्नुपर्छ, अतिक्रमणबाट जोगाउनु पर्छ । सरसफाइमा विशेष ध्यान दिँदै त्यहाँसम्म पुग्ने बाटो सहज बनाउनु पर्छ,’ उनले भने, ‘तर अहिले यसमध्ये सामान्य काम पनि हुन सकेको छैन ।’

पोखरालाई ब्राण्डिङ

पोखरालाई समृद्ध बनाउने हो भने ब्राण्डिङ जरुरी छ । ब्राण्डिङ गर्नु भनेको विश्वास आर्जन गर्नु हो । त्यसका लागि हरेक क्षेत्रमा निपूर्ण हुनुपर्छ । पोखरालाई त्यस्तै बनाउनु आजको आवश्यकता हो ।

पेरिसको आइफल टावर, दुबईमा बुर्ज खालिफा र पाम जुमेरह तथा मलेसियामा ट्विन टावरकै कारण ती ब्राण्ड बने । त्यत्तिकै सम्भावना पोखरामा पनि छ । तर, यसलाई ब्राण्डि गर्नुपर्छ ।

‘वर्ल्ड क्लास खेलकुद प्रयोगिता गरेर हुन्छ वा वर्ल्ड क्लास सेलिब्रेटी ल्याएर म्युजिकल कन्सर्ट गरेर हुन्छ कि वर्षभरी नै पर्यटक ल्याउने वातावरण बनाउन सक्नुपर्छ,’ उनले भने, ‘यसका लागि आजै नसोच्ने हो भने पछि परिन्छ ।’

मेरो चाहना पोखरामा महिनौं बिताउनका लागि पर्यटक आउनु भन्ने हो । उनीहरु अपार्टमेन्ट किनेर वा भाडामा लिएर लामो समयसम्म बसुन भन्ने हो । तर, यसका लागि आकर्षित गर्न हिमाल र तालमात्रै देखाएर हुँदैन । लक्जरियस लाइफ स्टाइलको अनुभव पनि दिलाउन सक्नुपर्ने उनको भनाइ छ ।

‘पोखराजस्तो प्राकृतिकरुपमा सुन्दर ठाउँ संसारमा अन्त कतै छैन तर कहिलेसम्म हामी यसलाई सस्तोमा बेचिरहने ?’ उनी प्रश्न गर्छन्, ‘ब्राण्डिङ गरेर हाम्रा प्रोडक्टहरु प्रिमियममा बेच्नुपर्छ ।’

सुकुम्बासीलाई अपार्टमेन्ट !

पोखरामा सुकुम्बासी समस्या छ । तर, त्यसलाई व्यवस्थापन कसरी गर्ने छ । पैसा दिएरमात्रै भएन । उनीहरुलाई रोजगारीसँगै आवसको व्यवस्थापन पनि गर्नुपर्छ ।

उनी सुकुम्बासीलाई हेर्ने नजर पनि परिवर्तन गर्नुपर्ने बताउँछन् । उनीहरुलाई सुकुम्बासी नभनी न्यून आय भएका परिवारभन्दा उचित हुने उनको भनाइ छ ।

‘सुकुम्बासी समस्या व्यवस्थापन गर्नका लागि उनीहरुलाई आवस नै दिनुपर्छ । तर, सँधैभरीका लागि होइन । निश्चित समयसम्मका लागि बस्नका लागि प्रत्येक वडामा अपार्टमेन्ट बनाउन सकिन्छ,’ उनले योजना सुनाए ।

५ वर्षमा ३३ वटै वडामा २ सयका दरले ६ हजार ६ सय अपार्टमेन्ट बनाउन सकिन्छ । र, यो सम्भव पनि छ । यसो गर्दा उनीहरुको आवासको समस्या समाधान हुन्छ । तर, त्यसपछि उनीहरुलाई रोजगारीलगायतका सुरक्षा दिनु राज्यको दायित्व हो ।

५ वर्षमा ३ गुणा व्यवसाय बढाउँछु

अधिकारीसँग हामीले सोध्यौं, ‘मेयर भइहाल्नु भयो भने ५ वर्ष पोखरामा कति परिवर्तन होला त ?’
उनले भने, ‘हरेक क्षेत्रमा कम्तीमा तीन गुणाले समृद्धिको बाटोमा पोखरा पुगिसकेको हुनेछ ।’
अहिले भइरहेको व्यवसाय ३ गुणाले बढ्छ । होटलमा भएको अकुपेन्सी र पर्यटक आवगमन ३ गुणाले बढ्छ । सूचना प्रविधिको क्षेत्रमा पोखराले ३ गुणा फड्को मारेको हुनेछ भने सम्पत्तिको मूल्यांकन पनि यस अवधिमा ३ गुणाले बढेको हुनेछ ।

यदि यति काम गर्न सकिएन र पर्यटक आवगमनलाई ३ गुणाले बढाउन सकिएन भने निर्माणाधिन क्षेत्रीय विमानस्थलको अर्थ हुँदैन । पोखरालाई ब्राण्डिङ गर्न सकिएन भने यो डोमेस्टिक एयरपोर्टभन्दा माथिको काम गर्न नसक्ने उनले दाबी गरे ।

उनले पछिल्लो समय पोखरा सबै प्रदेशसँग हवाई कनेक्टिभिटीमार्फत् जोडिए पनि त्यो परीक्षणमात्रै भएको बताउँछन् ।

‘हो अहिले विभिन्न हवाई कम्पनीहरुले पोखरालाई केन्द्र बनाएर कनेक्टिभिटी बढाएका छन्, तर ती सबै साना विमानबाट मात्रै भइरहेको छ,’ उनले भने, ‘पोखरालाई समृद्ध बनाउने हो भने ठूला विमान चल्ने अवस्था आउनुपर्छ । त्यसका लागि पोखरालाई ब्राण्डिङ गर्नुको विकल्प छैन ।’

पैसा कमाउन बिजनेश, देश बनाउन राजनीति

देश विदेशमा बिजनेश गरेर आफूलाई पुग्ने पैसा कमाइसकेको उनको भनाइ छ ।

‘चाहेको कुरा उपभोग गर्नसक्ने हैसियत बिजनेश गरेर बनाएको छु, मलाई पैसाको लोभलालच छैन,’ उनले भने, ‘अब म पोखरा बनाउनका लागि राजनीतिमा होमिएको हूँ, त्यो बाहेक कुनैपनि स्वार्थ्य छैन ।’


क्लिकमान्डु