उत्तरी नाकाबाट हुने व्यापारमा सहजीकरण गर्ने चीन सरकारको आश्वासन, व्यापारी उत्साहित



काठमाडौं । चीन सरकार नेपालसँग जोडिएका नाकाबाट व्यापार विस्तारमा सकारात्मक बनेको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ वाणिज्य सहायक मन्त्री शेङ्ग क्युपिङले चीन सरकार उक्त नाकाबाट व्यापार विस्तार गर्न सकारात्मक रहेको बताए ।

भारतहुँदै नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय प्रतिनिधि मण्डलका सदस्य तथा वाणिज्य सहायक मन्त्री क्युपिङले वाणिज्य सचिव डा. गणेश पाण्डेयसँग गत शनिबारको छलफलमा चीन सरकार नेपालको व्यापार प्रवद्र्धन, व्यापारिक पूर्वाधारको विकास र विस्तारमा सकारात्मक रहेको बताएका थिए ।

विश्वव्यापी फैलिएको कोभिड–१९ का कारण रसुवा र तातोपानी नाका प्रभावित भएको थियो । अहिले चीनमा समेत कोभिड–१९ को प्रभाव न्यून हुँदै गएपछि छिट्टै नै रसुवा र तातोपानी सीमानाकाबाट सहज आयात निर्यातको लागि आवश्यक प्रबन्ध मिलाउने भएपछि व्यापारी उत्साहित भएका छन् ।

नेपालले हाल सञ्चालनमा रहेका व्यापारीक नाकाहरू रसुवा र तातोपानी लामो समयदेखि पूर्ण रुपमा सञ्चालन हुन नसकेको विषय ध्यानाकर्षण गराउँदै उक्त नाकाहरू नियमित र पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्थाका लागि पहल गर्न आग्रह गरेको छ ।

‘दुई देशबीचको व्यापारलाई सहजीकरण गर्न व्यापारिक पूर्वाधारको विकास, बहुकार्यात्मक क्वारेन्टिन प्रयोगशालाको निर्माणका साथै व्यापारसँग सम्बन्धित अन्य गैर भन्सार अवरोधहरू न्यूनिकरणमा दुई देशबीच सहकार्य हुनुपर्छ,’ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाका कारण बन्द भएको नाका हालसम्म सहज हुन सकेको छैन । चिनियाँ सरकारले कोरोना महामारीका कारण आयात तथा निर्यात ठप्प गरेको थियो । भारतपछिको दोस्रो ठूलो साझेदार मुलुक चीनले उत्तरतर्फको दुई महत्वपूर्ण नाका तातोपानी र रसुवागढी हालसम्म सहज हुन नसक्दा निकै सकसपूर्ण वैदेशिक व्यापार गर्न नेपाली व्यवसायहरू बाध्य छन् ।

शुरुवाती चरणमा सयौं कन्टेनर नाकामै अड्किएका थिए । चीन सरकारले सो समयमा व्यापारमा एकाधिकार गर्दै आफ्नो उपस्थिति जनाएको थियो । दुई वर्षको नाकाबन्दीमा तरकारी, फलफूललगायत अन्य कुहिन सक्ने वस्तुहरूको सहजै आयात भएपनि अन्य वस्तुको आयातमा भने निकै कठिन अवस्था सिर्जना भएको थियो । तर, नेपालको विभिन्न विरोधपश्चात चीन सरकारलले अन्य वस्तुको आयात पनि खुलायो । तर, सिमित कन्टेनर मात्रै भित्रिन दिएको छ ।

कोभिडभन्दा अगाडि दैनिक एउटै नाकाबाट १५ देखि १८ वटा कन्टेनर भित्रिन्थ्यो । तर, अहिले दैनिक ५,६ वटामा सिमित हुन पुगेको छ । चीनले आयातमा खुल्ला गरेपनि उत्तरी नाकाबाट भने निर्यात २ वर्षदेखि शून्य अवस्थामा रहेको छ ।

चीन सरकारले व्यापार सहजीकरणमा एकाधिर गर्दै आएकोमा हालै भएको छलफलबाट सकारात्मक रहेको सरोकारवालाहरूले बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव पाण्डेयसँग भएको छलफलबाट व्यापारमा सहजीकरण हुन सक्ने दाबी गरेको छ । साथै, लामो समयको नाकाबन्दीले आयात तथा निर्यातमा निकै प्रभाव परेको हुनाले उक्त छलफलपश्चात व्यवसायीसहित सरकार आशावादी बनेका छन् ।

व्यापारी उत्साहित

नेपाल भ्रमणमा आएका क्युपिङले व्यापार सहजीकरणमा सकारात्मक रहेका बताएकाले नेपाली व्यापारी तथा व्यवसायीहरू भने निकै उत्साहित भएका छन् । विगत दुई वर्षदेखि अघोषित नाकाबन्दी खेप्दै आएका व्यापारी तथा व्यवसायीहरूमा उक्त छलफलले व्यापार सहजीकरण हुने आशा बढेको छ ।

हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोक कुमार श्रेष्ठले हालै भएको छलफलले व्यापारीलाई राहत दिएको बताए ।उनका अनुसार २ वर्षदेखि अघोषित नाकाबन्दी रहेको अवस्थामा चीन सरकारले दिएको प्रतिबद्धता सकारात्मक रुपमा लिएको छ ।

‘चीनको वाणिज्य सहायक मन्त्रीले आश्वासन दिएको छ,’ उनले भने, ‘व्यापार सहजीकरण हुने आशावादी छौं ।’ यसअघि नै संघले उद्योग वाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय, पराराष्ट्र मन्त्रालय, प्रधानमन्त्री र चिनियाँ दूतावाससँग भेट गरेर नाका सहज बनाउन माग गर्दै आएको थियो । तर, हालसम्म सम्बोधन हुन सकेको थिएन । शनिबार भएको छलफलले सकारात्मक अवस्था सृजना हुने उनले बताए ।

‘दुई नाकाबाट चीनले चाहेको कन्टेनर मात्रै प्रवेश गर्न दिइएको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘भेटवार्तापश्चात विगतको दिनभन्दा सहज स्थिति आउनेछ ।’ त्यस्तै, चीन सरकारले भ्रमणमा आउने तयारी अवस्थामा रहेकाले हप्तादिन देखि बिहान ७ वटा र बेलुका ७ वटा गरी १४ वटा दैनिक केरुङबाट रसुवागढी नाका प्रवेश गर्न दिएको उनले बताए ।

‘हप्तादिन अगाडि दैनिक ७,८ वटा मात्रै रसुवागढी नाकामा कन्टेनर प्रवेश गर्न दिन्थ्यो । तर, अहिले बिहान बेलुका गरी दैनिक १४ वटा प्रवेश गर्न दिएको छ,’ उनले भने । साथै, तातोपानीमा पनि सोही अनुसार बढाएको छ । अहिले तातोपानी भन्सारबाट पनि दैनिक ७, ८ वटा प्रवेश हुन थालेको बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार सहायक मन्त्रीले नै भनिसकेपछि उक्त बोली बेइजिङ्ले भनेको जस्तै हुने र चीन सरकारले चाह्यो भने सहज हुने छ । चिनियाँ वाणिज्यमन्त्रीले नाकाको पीडा बुझेको हुनाले सोहीअनुसार बार्ता गरेको उनको बुझाइ छ । त्यसैले, उक्त बार्तापश्चात अधिकांश व्यवसायी उत्साहित रहेको उनले जानकारी दिए ।

तातोपानी भन्सारबाट अहिले कुनै दिन ९ वटासम्म कन्टेनर आउँछ भने कुनै दिन ५ वटा मात्रै आउने गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख नाराद गौतमले बताए । आइतबार भने २ वटा मात्रै कन्टेर प्रवेश गरेको उनले जानकारी दिए । चीन सरकारले अघोषित नाकाले गर्दा तातोपानीमा भनेअनुसारको कन्टेनर आउन नपाएको उनको भनाइ छ । तर, हालै भएको भेटवार्तापश्तात भने कति कार्यान्वयन आउने आगामी दिनमा थाहा हुने उनले जिकिर गरे ।

नेपाल निर्यात परिषद्का अध्यक्ष हरि बहादुर कार्कीले चीन सरकारसँग भएको भेटवार्ताबाट सकारात्मक रहेको बताए । चीनले दिएको भन्सार शुल्क छुटअनुसार वस्तु निर्यात गर्न नसकेको बताउँदै रसुवा र तातोपानी नाका सहज बनाएमा पर्याप्त उत्पादित वस्तु निर्यात हुने उनको भनाइ छ ।

तर, हरेक पटक आश्वासन र प्रतिबद्धता मात्रै दिने गरेको उनले गुनासो पोखे । ‘नेपाली व्यवसायीहरूले गरेको भेट तथा छलफलमा सहज हुने बताउँछन् । तर, व्यवहारमा देखिँदैन,’ उनले भने । त्यसैले, आगामी दिनमा चीन सरकारले कसरी सम्बोधन गर्छ सोहीअनुसार माहोल बन्ने उनले बताए ।

दुई वर्षदेखि निर्यात ठप्प

दुई वर्षको अधोषित नाकाबन्दीले गर्दा तातोपानी र रसुवा भन्सारबाट सिमित मात्रामा वस्तु आयात हुँदै आएको छ । तर, निर्यात भने शून्य अवस्थामा रहेको छ । विगतको दिनमा अर्बौ रुपैयाँको निर्यात हुँदै आएकोमा विगत २ वर्षदेखि निर्यात भने गर्न नसकेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

नेपालले चीनले नाकाबन्दी गर्नुभन्दाअघि अर्थात आर्थिक वर्ष २०७६÷७७ को माघसम्ममा दुबै उत्तरी नाकाबाट ७२ करोडको निर्यात भएको सरकारी तथ्याङ्क छ । तर, विगतको दिनमा रसुवागढीबाट मात्रै १ अर्ब बढी रकमको निर्यात हुने गरेको विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।


क्लिकमान्डु