अर्थतन्त्र खराब हुँदा पनि राजस्व भने लक्ष्य नजिक उठ्यो



काठमाडौं । अर्थतन्त्र खराब अवस्थामा हुँदा पनि सरकारी राजस्व भने लक्ष्य नजिक उठेको छ । भन्सार विभाग र आन्तरिक राजस्व विभागलाई फागुनमा ७३ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलनको गर्ने टार्गेट दिइएकोमा ६९ अर्ब ५६ करोड रुपैयाँ संकलन भएको छ । जुन लक्ष्यको ९४.२९ प्रतिशत हो ।

राजस्व संकलनको जिम्मेवारी पाएका दुई महत्वपूर्ण विभाग फागुन महिनामा लक्ष्य अनुसार राजस्व संकलन गर्न सफल देखिएका छन् । नेपाल राष्ट्र बैंकले आयात निरुत्साहित गर्न नगद मार्जिन राख्नु पर्ने नीति लिँदा पनि राजस्वमा त्यसको ठूलो असर देखिएन ।

पुससम्म भने सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्दै आएको थियो भने फागुनमा भने लक्ष्यभन्दा केही कममात्रै राजस्व उठेको हो । अर्थतन्त्रको अवस्था जर्जर भएको अवस्थामा पनि ९४.२९ प्रतिशत उठ्नु भनेको उच्च सफलता हो ।

चालु आर्थिक वर्षको पहिलो ५ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेकाले विभागले फागुन मसान्तसम्म भने लक्ष्यभन्दा १ अर्ब रुपैयाँमात्रै कम राजस्व संकलन गरेको छ ।

फागुन मसान्त सम्ममा ३ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलनमा लक्ष्य लिइएकोमा ३ खर्ब ४९ अर्ब रुपैयाँ संकलन भइसकेको छ । यस्तै फागुन महिनामा लक्ष्यअनुसार राजस्व संकलन गर्न आन्तरिक राजस्व विभाग पनि सफल देखिएको छ ।

विभागले फागुनमा २८ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तय गरेकोमा फागुनमा २८ अर्ब ३७ करोड रुपैयाँ संकलन गरेको छ ।

चालु आर्थिक वर्षको अन्य महिनाभन्दा विभागले फागुनमा लक्ष्य नजिक राजस्व संकलन गरेको हो । विभागले साउनदेखि नै लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा फागुन मसान्त सम्ममा लक्ष्यको ९३.६६ प्रतिशतमात्रै कर संकलन भएको छ ।

विभागले फागुन मसान्तसम्म ३ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तय गरेकोमा २ खर्ब ८५ अर्ब रुपैयाँ संकलन भएको छ ।

यस्तै फागुनमा गैरकरतर्फ ४ अर्ब २२ करोड रुपैयाँ संकलन भएको छ । गैरकर पनि लक्ष्यभन्दा केही मात्रै कम संकलन भएको अर्थमन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु