७ महिनामा २५ अर्बको आयात भएपछि सुनमा कडाइ



काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी सञ्चिती घट्दै गएपछि विभिन्न बस्तुकाे आयातमा कडाई गर्दै आएको छ । राष्ट्र बैंकले उच्च आयातका कारण विदेशी सञ्चिती घट्दै गएको भन्दै विभिन्न चरणमा आयातमा कडाई गर्दै आएको हो ।

राष्ट्र बैंकले यसअघि नै विभिन्न ४७ वस्तुको आयातमा शतप्रतिशत र ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरिसकेको छ । उक्त व्यवस्थाले आयातमा प्रभाव देखिन थालेको छ । त्यस्तै, हालै राष्ट्र बैंकले सुन आयातमा थप कडाई गरेको छ ।

राष्ट्र बैंचले उच्च रुपमा चाँदी आयात भएको भन्दै विभिन्न चरणमा आयात कडाई गर्ने नीतिले चाँदी आयात लगभग ठप्प अवस्थामा रहेको छ । त्यसैगरी, आइतबार मात्रै राष्ट्र बैंकले सुन आयातको कोटा घटाइएको छ ।

राष्ट्र बैंकले व्यवसायीहरूले दैनिक रुपमा पाउने सुनको कोटा २० केजीबाट १० केजी आयात गर्न पाउने व्यवस्था गरेको छ ।

यसअघि व्यवसायीहरूलाई दैनिक २० केजी सुन वितरण गर्दै आएको थियो । सरकारले २०७६ सालमा पनि विदेशी सञ्चिती घटेको भन्दै सुनको कोटा १० केजी बनाइएको थियो । त्यसमा व्यवसायीहरूले असन्तुष्टि जनाउँदै विभिन्न चरणमा दैनिक कोटा २० केजी बनाउन माग गर्दै आएकाले २०७७ चैत १९ गते १० केजीलाइ बढाएर २० पु¥याइएको थियो ।

उक्त परिमाण सुन वितरण भइरहेको अवस्थमा पनि व्यवसायीहरूले मौसमको बेला ३० केजी बनाउनुपर्ने माग गर्दै आएका थिए । तर, विदेशी सञ्चिती घट्दै गएपछि २० केजीबाट १० केजी कोटा पु¥याएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनको कोटा घटाउँदा बजारमा सुनको अभाव हुने बताए । उनकाअनुसार पछिल्लो समय सरकारले ल्याएको नीतिले आयात यतिकै घटेको थियो । तर, अहिलेको व्यवस्थाले थप व्यवसायीलाई निरुत्साहित गरेको छ । उनले अहिले लागू गरेको नियमले बजारमा सुन अभावसँगै कालोबजारी बढ्ने बताए ।

चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालले उच्च सुन आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । नेपालले ७ महिनको अवधिमा मात्रै नेपालले २५ अर्ब २१ करोड ६८ लाख रुपैयाँ बराबरको ३६ सय ४३ केजी सुन आयात गरेको छ । जुन सो अवधिमा आयात भएको हालसम्मकै उच्च हो । साथै, उक्त आयात भएको सुनबाट नेपालले ३ अर्ब ९ करोड ६५ लाख रुपैयाँको भन्सार महशुल संकलन गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा भने नेपालले २७ अर्ब ३४ करोड ३९ लाख रुपैयाँ बराबरको ३९ सय २४ केजी सुन आयात गरेको थियो ।


क्लिकमान्डु