नेष्डोको आइपीओमा २६ लाख बढीको आवेदन, लगानीकर्ताले १० रुपैयाँ तिर्दा बिक्री प्रबन्धकलाई साढे २ करोड



काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आइपीओमा ३ अर्ब २ करोड २४ लाख २५ हजार रुपैयाँको आवेदन परेको छ ।

सीडीएसका अनुसार अन्तिम समयसम्म २६ लाख १० हजार १२७ जनाले ३ करोड २ लाख २४ हजार २५० कित्ताको लागि आवेदन दिएका छन् ।

कम्पनीको आइपीओमा माग भन्दा करिब ३९ गुणा बढी आवेदन परेको छ । आइपीओमा माग भन्दा बढी आवेदन पर्दा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल मालामाल बनेको छ ।

उक्त आइपीओमा आवेदन दिने आवेदकबाट प्रति व्यक्ति १० रुपैयाँको दरले बिक्री प्रबन्धकले पाउने गरेको छ ।
नेष्डो समृद्ध लघुवित्तको आइपीओमा २६ लाख १० हजार १२७ जनाले दिएको आवेदनबाट २ करोड ६१ लाख १ हजार २७० रुपैयाँ दिएको छ ।

यो रकम बिक्री प्रबन्धकले सिधै आवेदनकर्ताबाट लिने भने होइन । यो रकम बैंकमार्फत लिने हो । आवेदनकर्ताले जुन बैंकमा आवेदन दिएका हुन्छन, त्यो बैंकबाट प्रति व्यक्ति १० रुपैयाँका दरले बिक्री प्रबन्धकले पाउने गरेको छ । अहिले बैंकहरुले प्रति व्यक्ति १० रुपैयाँदेखि १०० रुपैयाँसम्म लिने गरेका छन् । केही बैंकले भने लगानीकर्तासँग रकम नलिए आफै पनि दिने गरेका छन् ।

फागुन ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले ८ लाख २८ हजार ७५० कित्ता आइपीओ निष्काशन गरेकोमा ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता कर्मचारीलाई छुट्याएको थियो । बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको थियो ।


क्लिकमान्डु