१८ वर्षमा १६ खर्बको सेयर कारोबार, पुँजीगत लाभकर पौने २५ अर्ब, गत वर्ष मात्रै साढे १५ अर्ब



काठमाडौं । पुँजी बजार प्रविधिमैत्री बन्दै जाँदा लगानीकर्ता पनि बढ्दै गएका छन् । ब्रोकर कार्यालयमै पुगेर कारोबार गर्नै पर्ने बाध्यता हटाउँदै अनलाइन प्राविधिले हरेक मोबाइल र ल्यापटपमा कारोबारको सुविधा ल्याउँदा प्रयोगकर्ता मात्रै होइन कारोबार पनि उच्च भइरहेको छ ।

कोरोना शुरु हुनुभन्दा अघि ३ देखि ५ लाखमा सीमित लगानीकर्ताहरुको संख्या यतिबेला ४० लाखभन्दा बढी पुगेको छ । सेयर बजार सीमित व्यक्तिहरुको हातबाट विद्यार्थी, जागिरे, गृहणी र सर्वसाधारणसम्म पुगेको छ । यसको फाइदा लगानीकर्तालाई तछ नै सरकारलाई पनि उसै गरी भएको छ ।

अर्थात्, सेयर लगानीकर्ता र कारोबार बढ्दा सरकारी कोषमा अर्बौ रुपैयाँ जम्मा भएको छ । त्यो के भने सेयर बजारमा हुने कारोबारबाट सरकारले अर्बौ रुपैयाँ पुँजीगत लाभकरका रुपमा प्राप्त गरेको छ ।

आर्थिक वर्ष २०६०/६१ देखि निरन्तर बढेको बजारमा आव २०६५/६६ मा भने निकै असर देखियो । उक्त आवमा तत्कालीन अर्थमन्त्री डा.बाबुराम भट्टराईले पुँजी बजारलाई जुँवा घरको रुपमा चित्रण गर्दै दिएको अभिव्यक्ति र पुँजी बजारबाट बढी कर उठाउन भन्दै पुँजीगत लाभकर बढाएको असर निकै पर्यो ।

आव २०६५/६६ पुँजीगत लाभकर ५ बाट बढाएर १५ प्रतिशत पुर्याएपछि आव २०६६/६७ मा देखियो । उक्त आवमा बजारमा गिरावट आउनुका साथै कारोबार रकम पनि घट्यो भने पुँजीलाभ कर पनि निकै घट्यो ।

यो मात्रै आव २०७४/७५ मा तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजार अनुत्पादक क्षेत्र भएको भन्दै दिएको अभिव्यत्तिले बजारलाई प्यानिक बनायो । जसका असर आव २०७५/७६ मा देखियो । उक्त आवमा बजार करिब १०० अंकले घटेको थियो । उक्त आवमा कारोबार रकम घटेको भएपनि राज्यले पाउने पुँजीगत लाभकर भने बढेको थियो ।

आव २०६०/६१ देखि आव २०७७/७८ सम्म १८ वर्षमा १५ खर्ब ९४ अर्ब ७७ लाख रुपैयाँको कारोबार हुँदा सरकारले पुँजीगत लाभकरवापत २४ अर्ब ७५ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

आव २०६१/६२ मा बजार २८६.७ बिन्दुमा रहेको थियो । उक्त आवमा ४ अर्ब ५ करोड रुपैयाँको सेयर कारोबार हुँदा २ करोड ८५ लाख रुपैयाँ राज्यले कर लिएको छ ।

आव २०६२/६३ मा बजार ३८६.९ बिन्दुमा रहँदा कारोबार रकम घटेर ३ अर्ब ४५ करोड रुपैयाँको कारोबार हुँदा राज्यले ६ करोड २१ लाख रुपैयाँ कर लिएको छ ।

यस्तै आव २०६३/६४ मा इन्डेक्स ६८३.९ बिन्दुमा रहँदा उक्त आवमा ८ अर्ब ३६ करोड रुपैयाँको कारोबार हुँदा राज्यले २३ करोड ३५ लाख रुपैयाँ राज्यले कर पाएको छ ।

आव २०६४/६४ मा बजार ९६३.४ बिन्दुमा हुँदा २२ अर्ब ८२ करोड रुपैयाँको कारोबार हुँदा राज्यले ८७ करोड ४६ लाख रुपैयाँ राज्यले कर लिएको छ ।

आव २०६५/६६ मा भने बजारमा गिरावट देखिएको छ । उक्त आवमा ७४९.१ बिन्दुमा रहेको बजारमा २१ अर्ब ६८ करोड रुपैयाँको सेयर कारोबार हुँदा ९३ करोड १२ लाख रुपैयाँ राज्यले कर पाएको छ ।

यस्तै आव २०६६/६७ मा बजार झनै घटेको थियो । उक्त आवमा बजार घटेर ४७७.७३ बिन्दुमा रहेको थियो । बजारमा आएको गिरावटसँगै कारोबार रकम घटेर ११ अर्ब ८५ करोड रुपैयाँमा झरेको थियो । उक्त आवमा राज्यले पाउने कर पनि घटेर २६ करोड ७ लाख रुपैयाँमा झरेको थियो ।

उक्त आवमा मात्रै होइन बजार आव २०६७/६८ मा घटेर ३६२.८५ बिन्दुमा झरेको थियो । उक्त आवमा ६ अर्ब ६७ करोड रुपैयाँको सेयर किनबेच हुँदा ६ करोड ६ लाख रुपैयाँ राज्यले कर पाएको थियो । बजार घट्दा राज्यले पाउने करमा समेत संकुचन आएको थियो ।

आव २०६८/६९ भने बजारमा सामान्य सुधार देखिएको छ । बजार ३८९.७४ बिन्दुमा रहेको थियो । उक्त आवमा १० अर्ब २८ करोड रुपैयाँको सेयर कारोबार हुँदा ६ करोड ९ लाख रुपैयाँ राज्यले लाभकर पाएको छ ।

आव २०६९/७० मा बजार ५१८.३३ बिन्दुमा रहेको थियो । उक्त आवमा २२ अर्ब ५ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । राज्यले भने १६ करोड ८ लाख रुपैयाँ राज्यले कर लिएको थियो ।

यस्तै आव २०७०/७१ मा बजार एकै पटक बढेर १०३६.११ बिन्दुमा पुगेको थियो । उक्त आवमा सेयर बजारमा ७७ अर्ब ३१ करोड रुपैयाँ रुपैयाँको सेयर किनबेच भएको छ भने राज्यले ७४ करोड ३५ लाख रुपैयाँ कर पाएको छ ।

आव २०७१/७२ मा भने बजार घटेको छ । उक्त आवमा बजार घटेर ९६१.२३ बिन्दुमा रहेको थियो । उक्त आवमा ६५ अर्ब ३३ करोड रुपैयाँको सेयर करोबार भएको थियो । उक्त कारोबारबाट राज्यले ८१ करोड ५३ लाख रुपैयाँ राज्यले कर पाएको छ ।
आव २०७२/७३ को असार मसान्तमा बजार बढेर १७१८.१५ अंकमा पुग्यो । उक्त आवमा १ खर्ब ६३ अर्ब ९६ करोड रुपैयाँको सेयर कारोबार भयो । उक्त कारोबारबाट राज्यले १ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ राज्यले कर पाएको छ ।

यता आव २०७३/७४ मा भने बजारमा पुन गिरावट शुरु भयो । उक्त आवको असार मसान्तमा बजार १५८२.६७ बिन्दुमा रहेको थियो । उक्त आवमा २ खर्ब ५ अर्ब २ करोड रुपैयाँको सेयर कारोबार हुँदा राज्यले १ अर्ब ४५ करोड २४ लाख रुपैयाँ राज्यले कर पाएको छ ।

आव २०७४/७५ भने बजारमा अझै गिरावट देखियो । उक्त आवको अन्तिममा बजार १३३८.१७ बिन्दुमा रोकियो । उक्त आवमा १ खर्ब २१ अर्ब ३९ करोडको रुपैयाँ सेयर कारोबार हुँदा राज्यले ४७ करोड ६ लाख रुपैयाँ मात्रै लाभकर पाएको छ ।

यस्तै आव २०७५/७६ मा पनि बजारमा आएको गिरावट रोकिएन । उक्त आवको अन्तिमसम्ममा बजार १२५९.०२ बिन्दुमा रोकिएको थियो । उक्त आवमा १ खर्ब १० अर्ब ८ करोड रुपैयाँको सेयर किनबेच हुँदा राज्यले ६४ करोड १४ लाख रुपैयाँ लाभकर पाएको छ ।

आव २०७६/७७ मा बजारले केही सुधारको सकेत देखाएको छ । उक्त आवमा बजार १३६२.३५ बिन्दुमा रोकिएको थियो । उक्त आवमा १ खर्ब ५० अर्ब ४ करोड रुपैयाँको सेयर किनबेच भयो । उक्त रकमको सेयर किनबेच हुँदा राज्यले ९८ करोड ४८ लाख रुपैयाँ लाभकर पाएको छ ।

यस्तै गत आव २०७७/७८ मा सेयर बजारमा एकाएक उछाल आयो । एकै आवमा बजार ११६४.५७ अंकले बढेर नेप्से परिसूचक २५२६.९२ अंकमा पुग्यो । उक्त आवमा ५ खर्ब ८७ अर्ब ८४ करोड रुपैयाँको सेयर कारोबार हुँदा राज्यले १५ अर्ब ५४ करोड ३३ लाख रुपैयाँ लाभकर पाएको छ । र, सरकारले कुनै एक आर्थिक वर्षमा प्राप्त गरेको यो सबैभन्दा धेरै पुँजीगत लाभकर हो ।


क्लिकमान्डु