रिङरोडमै ८० लाखमा अपार्टमेन्ट, वैशाखदेखि बुकिङ खुल्ने



काठमाडौं । अवसरको खोजीमा राजधानी छिर्ने धेरैका लागि करिअर निर्माणसँगै राजधानीमा स्थायी बसोबासको चाहना पलाउँछ । सबै जिल्लाबासीका लागि राजधानी अवसर केन्द्रमात्रै होइन, बसोबासका लागि पनि उपयुक्त स्थान हो ।

तर, पछिल्लो समय अव्यवस्थित सहरी विकास र बढ्दो जनसंख्याका कारण भने जस्तो ठाउँमा भने जस्तो जग्गा र घर पाउन गाह्रो बन्दै गएको छ । त्यसैले पछिल्लो समय मानिसहरुको आकर्षण अपार्टमेन्ट र हाउजिङतर्फ गएको देखिन्छ ।

तर, सहरमा बन्दै गरेको अपार्टमेन्टको लक्षित वर्ग नै उच्चमध्यम वर्गीयहरु भए । जसले गर्दा आम मानिसले अपार्टमेन्ट बस्ने रहर त्यत्तिकैमा सीमित हुने अवस्था छ । व्यवस्थित तथा सहज बसोबासको चाहनामा मानिसहरु आकर्षित हुँदै गएको देखिन्छ ।

यही व्यवस्थित सहरी बसोबासको ग्राहकको चाहनालाई सम्बोधन गर्ने उद्देश्यले धुमबाराहीमा १३ तले अपार्टमेन्ट निर्माणको अन्तिम तयारीमा रहेको कम्पनीका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिए ।

धुमबाराहीस्थित रिङरोडबाट नजिकै सनसाइन अपार्टमेन्टमा २ वटा १३ तले भवन निर्माण भइरहेको छ । र, अहिले सम्पूर्ण काम सकाएर बैशाखसम्ममा बुकिङ ओपन गर्ने तयारी भइरहेको छ ।

‘निर्माणको अन्तिम तयारीमा छौं, अहिले फिनिसिङको काम भइरहेको छ,’ शाक्यले क्लिकमाण्डूसँग भने ।

पछिल्लो समयमा राजधानीभित्रै ३ देखि ३० करोड रुपैयाँसम्मका अपार्टमेन्ट निर्माण भइरहेका बेलामा शाक्यको कम्पनीले भने मध्यम वर्गीय परिवारलाई लक्षित गरी अपार्टमेन्ट निर्माण गरेका हुन् ।

भवनमा ७ सयदेखि १२ सय स्क्वायर फिटसम्म क्षेत्रफल भएको टु बीएचकेदेखि थ्री बीएचकेसम्मका अपार्टमेन्ट उपलब्ध हुनेछन् । कम्पनीका अनुसार ४ रोपनी क्षेत्रफलमा फैलिएको अपार्टमेन्टमा शुरुवाती मूल्य ८० लाख रुपैयाँदेखि १ करोड ५० लाख रुपैयाँसम्म तोकिएको छ ।

करिब १ सय करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न गरिएको अपार्टमेन्टको बैशाखदेखि बुकिङ ओपनिङ गरिनेछ ।

‘मध्यम वर्गीय परिवारलाई लक्षित गरी सोही अनुसार अपार्टमेन्ट निर्माण गरिरहेका छौं, अहिले बुकिङका लागि फोनहरु आइरहेको छ,’ उनले भने ।

शाक्यले गत असोज १ गते आइतबारदेखि नै गुण एयरलाइन्सको व्यवसायिक उडान ८ वर्षपछि फेरि शुरु गरेका छन् ।

गुण ज्वेलर्स, गुण सिनेमा, गुण हाउजिङ तथा अपार्टमेन्ट, गुण कोअपरेटिभ, जीजी टावर, होटल सञ्चालनमा छन् ।


क्लिकमान्डु