मर्जर भाँडिएपछि हिमालयन बैंकमा लफडाः अध्यक्ष र सीइओको बोलचाल बन्द, सीइओको पर्फर्मेन्समाथि प्रश्न



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडिएपछि हिमालयन बैंकभित्र नयाँ लफडा शुरु भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक राणाबीच बोलचाल नै बन्द भएको छ ।

त्यसो त, यसअघि पनि उनीहरुबीच राम्रो सम्बन्ध थिएन । तर, अहिले भने सम्बन्ध निकै जटिल अवस्थामा पुगेको हो ।

‘पहिला पनि प्रचण्डबहादुर श्रेष्ठ र अशोक राणाको सम्बन्ध राम्रो होइन, मर्जर भाँडिएपछि त बोलचाल नै पूर्णरुपमा बन्द छ,’ बैंकका एक सञ्चालकले क्लिकमाण्डूसँग भने, ‘उनीहरु एकले अर्काको मुख हेर्नसमेत रुचाउँदैनन् । बोर्ड बैठक कुन हलमा राख्ने भन्नेमा समेत विवाद छ ।’

अध्यक्ष र सीइओ एकले अर्कालाई सिध्याएर अघिबढ्न खोजेकाले सञ्चालकहरु पनि दुई ध्रुबमा विभाजित छन् । जसकारण बैंक अनिर्णयको बन्दी बनेको छ ।

लाखौं सर्वसाधारणको अर्बौंको निक्षेप बोकेको र हजारौं सेयरधनी भएको संस्थालाई केही व्यक्तिको इगोको लडाईंमा थप संकटमा पर्न दिन नहुने भन्दै केही सञ्चालकहरुले दुबै पक्षलाई सचेत गराउँदै मध्यस्तकर्ताको भूमिका खेले पनि उनीहरुले त्यसको पर्वाह गरेका छैनन् ।

‘अध्यक्ष र सीइओको लडाईंले सीमा नाघेको महशुस गरेका छौं, चाँडै समस्याको समाधान नभए बैंक गंभीर दुर्घटनामा पर्ने देखिन्छ,’ स्रोतले भन्यो, ‘यसतर्फ सरोकारवालाहरु समयमै सचेत हुन जरुरी छ ।’

गत मंसिर ३० गते सम्पन्न साधारणसभाले मर्जरको प्रस्ताव अस्वीकृत गरेपछि बैंकको एकपक्ष चरम असन्तुष्ट बनेको हो । हिमालयन बैंकको लगानीकर्तासमेत रहेको सञ्चय कोषले मर्जरका लागि गरिएको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) नै नमिलेको लगायतका विवाद झिक्दा मर्जर भाँडिएको थियो ।

मर्जर भाँडिएपछि हिमालयन बैंकमाथि के कस्तो कारबाही हुन्छ वा अब कसरी अघिबढ्ने ? भन्ने विषयमा चुलिएको आन्तरिक विवाद यतिवेला उत्कर्षमा पुगेको छ ।

नियमअनुसार मर्जर भाँडिएपछि त्यसको जानकारी राष्ट्र बैंकलाई दिनुपर्ने हुन्छ । के कति कारणले मर्जरको प्रस्ताव अस्वीकृत भयो भन्ने विषयमा हिमालयन बैंकले राष्ट्र बैंकलाई हालसम्म जानकारी गराएको छैन ।
तर, यसबीचमा राष्ट्र बैंकले के भइरहेको छ ? भन्ने विषयमा पत्राचार भने गरिसकेको छ ।

साधारणसभाबाट मर्जरको प्रस्ताव अस्वीकृत भइसकेपछि त्यसको जानकारी राष्ट्र बैंकलाई दिने पत्रमा बैंकका सञ्चालक आशीष शर्माले हस्ताक्षर नै गर्न मानेका छैनन् । शर्मा संयुक्त मर्जर कमिटिका सदस्यसमेत थिए ।

सञ्चालक शर्मा स्वतन्त्र कम्पनीले गरेको डीडीए किन मिलेन ? भन्ने विषयमा चित्त बुझ्दो जवाफ आफूले नपाएको र अब बैंक कसरी अगाडि बढ्छ भन्ने विषयमा स्पष्ट जवाफ नआएकाले आफूले हस्ताक्षर नगरेको बताए ।

‘गत वैशाखमा मर्जरका लागि सैद्दान्तिक समझदारी (एमओयू) गर्ने, मर्जरका लागि डीडीए पनि गर्ने तर आफू अनुकूल सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) आएन भन्दैमा मर्जरमा जानै हुन्न भन्दै डीडीएमाथि नै प्रश्न उठाउने प्रवृत्ति राम्रो भएन,’ सञ्चालक शर्माले क्लिकमाण्डूसँग भने, ‘अब बैंक कसरी अगाडि बढ्छ, राष्ट्र बैंकले गर्ने कारबाहीपछि के हुन्छ भन्ने विषयमा कसैले सोचेका छैनन् ।’

स्वाप रेसियो १००:१०० हुनेगरी भएको डीडीए रिपोर्ट नमिलेको भन्दै हिमालयन बैंकको १०० बराबर इन्भेष्टमेन्ट बैंकलाई ७८ प्रतिशतमात्रै दिन सकिने तर्क अघिसार्दै सरकारी निकाय सञ्चय कोषले बखेडा झिकेपछि मर्जरको प्रस्ताव अस्वीकृत भएको थियो ।

सञ्चय कोषले स्वतन्त्र कम्पनी टीआर उपाध्याय फर्मले गरेको डीडीए रिपोर्ट अस्वीकारमात्रै गरेन आफैंले नयाँ डीडीए तयार गरी नयाँ स्वाप रेसियो निकालेको थियो । तर, त्यो रिपोर्ट पनि लुकाइएको छ ।

त्यसैगरी, एफपीओमा लाग्ने कर तथा कमलादीमा भएको सम्पत्तिको मूल्यांकनका विषयमा सञ्चय कोषले चित्त बुझाएको थिएन ।

सञ्चय कोषको निर्णयले टीआर उपाध्याय फर्मको विश्वस्नीयतामाथि प्रश्न उठेको छ । जबकी, यो फर्म देशकै नाम चलेका ठूला फर्महरुमध्ये केहीमा पर्छ ।

‘प्रमोटरहरु समस्या समाधान गर्नेभन्दा पनि पन्छाउने काम गर्न थाले, जसले गर्दा समस्या एकमाथि अर्को थपिँदै गयो,’ बैंकका एक अर्का सञ्चालकले भने ‘अहिले हेर्नुस् त नाफामा हिमालयन बैंक २७ मध्ये १८औं स्थानमा झरेको छ ।’

बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा जम्मा ७४ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको पुसमा ६५ करोड ३२ लाख र गत आर्थिक वर्ष २ अर्ब ९९ करोड रुपैयाँ नाफा कमाएको थियो ।

केही समयअघि बसेको सञ्चालक समितिको बैठकमा नाफा बढाउन नसकेको र लगानीकर्ताले लाभांश कम पाएको भन्दै अध्यक्ष श्रेष्ठले सीइओ राणाको पर्फर्मेन्समाथि नै प्रश्न उठाए ।

सीइओ राणाले बैठकमै पछिल्लो ८ वर्षको तथ्यांक देखाउँदै र अन्य बैंकसँग तुलना गर्दै कुरै नबुझी प्रश्न उठाउने ? भन्दै प्रतिप्रश्न गरेका थिए ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद गरी कुल २६ प्रतिशत लाभांश दिएको छ । जुन पछिल्ला ४ वर्षयताकै उच्च हो ।

२०५६/५७ मा र ०५६/५७ मा ७५ प्रतिशतसम्म लाभांश दिएको बैंकले सबैभन्दा कम आर्थिक वर्ष २०६९/७० मा १५ प्रतिशत र २०७४/७५ मा १५.७९ प्रतिशत लाभांश दिएको इतिहास छ । पछिल्ला वर्षहरुमा बैंकको लाभांश पहिलेको तुलनामा निकै कम छ ।

‘आरोपका लागि आरोप लगाउने काम मात्रै नगरौं,’ राणाले भनेका थिए ।

मर्जरको प्रस्ताव अस्वीकृत भएपछि राष्ट्र बैंकले मर्जर सम्झौता गरेर डिमर्ज गरेको आधारमा हिमालयन बैंकलाई ५ वटा काराबाही गर्न सक्छ । जसमा ३ वर्षसम्म लाभांश दिन नपाउने, नियामकीय सुविधा नपाउने, शाखा खोल्न नपाउने, सञ्चचालकलाई सचेत गराउने र दोस्रो बजारमा सेयर कारोबार रोक्का कायमै राख्ने लगायतको कारबाही गर्छ ।

हिमालयन बैंकका अर्का एक सञ्चालक समितिका सदस्यका अनुसार डिमर्ज गरिसकेपछि ३ वर्षसम्म लाभांश सर्वसाधारण लगानीकर्ताले लाभांश पनि नपाउने र सेयर बिक्री गर्न पनि पाउँदैनन् । यसको जिम्मेवारी मर्जर भाँड्नेले लिने कि नलिने भन्ने अहिलेको विवाद हो ।

तर, यी कारबाहीबाट बच्नका लागि हिमालयन बैंकले अर्को संस्थासँग मर्जरको सम्झौता गरेर एकीकृत कारोबार गर्नुपर्छ ।

अहिले हिमालयन बैंकका नजरमा मर्जरका लागि उपयुक्त बैंक सिभिल बैंक हो ।

‘सिभिल बैंक सस्तैमा आइहाल्छ र निचोरेर लिन सकिन्छ भन्ने सोच प्रमोटरहरुमा हावी छ,’ ती सदस्यले भने, ‘तर, अहिले अवस्था धेरै परिवर्तन भइसकेको छ ।’

ती सञ्चालकका अनुसार तत्कालीन समयमा पनि सिभिललाई ४० प्रतिशतमै ल्याउन सकिन्छ नि भन्दै प्रमोटरहरु छलफल गर्दथे । तर, अहिलेका दिनमा सिभलि ६० प्रतिशतमा पनि आउन नसक्ने अवस्था भयो ।

‘इन्भेष्टमेन्ट बैंकलाई ७८ को प्रस्ताव गर्दा सिभिललाई ६० देखि ७० को प्रस्ताव गर्न पनि गाह्रो छ, यस्तो अवस्थामा सिभिल बैंक सहजै आउने अवस्था छैन,’ ती सदस्यले भने ।

यता सिभिल बैंकका अध्यक्ष प्रताप पाण्डेले क्लिकमाण्डूसँगको अन्तर्वार्ताका क्रममा सिभिल बैंक हेपाहा पारामा मर्जरमा नजाने स्पष्ट पारेका थिए ।

‘पहिले कतिपय बैंकले सस्तो दरमा मर्जरको प्रस्ताव नराखेका होइनन, तर हामी आफू हेपिएर जान नचाहेको हो,’ उनले भने, ‘तर आजका दिनमा सिभिल बैंक नयाँ ट्र्याकमा अगाडि बढिसकेको छ । अब दोहोरो अंकमा लाभांश दिनसक्ने भइसकेको छ ।’

हिमालयन बैंक अब कसरी चल्छ भनेर भन्न सक्ने अवस्था नभएको बैंककै उच्च अधिकारीहरु बताउँछन् ।

‘ठूलो बैंक हुँ भनेर घमण्ड गरेर बस्दा बस्दै कान्छो पुस्ताका बैंकहरुले जित्ने अवस्था आइपुग्यो,’ स्रोतले भन्यो, ‘अब हिमालयन बैंकका आगामी दिनहरु सुखद देखिँदैन ।’


कमलकुमार बस्नेत