खातामा पैसा नभई चेक काट्ने ३६९२ जना कालोसूचीमा !



काठमाडौं । पछिल्लो समय खातामा पर्याप्त रकम नभई चेक काटेर कालोसूचीमा पर्नेहरुको संख्या बढ्दै गएको छ । डिजिटल कारोबार बढिरहेको अवस्थामा पनि चेक बाउन्सको संख्या ठूलो मात्रामा बढीरहेको छ ।

राष्ट्र बैंकले २०७६ मा एकीकृत निर्देशिका जारी गर्दै चेक बाउन्स भए कालोसूचीमा पर्ने व्व्यववस्था गरेको थियो ।

त्यसअघि चेक बाउन्स गर्नका लागि बाध्याकारी कानूनी व्यवस्था थिएन । राष्ट्र बैंकको निर्देशिकाले गर्दा बैंकहरुलाई पनि चेक बाउन्स गर्नका लागि निकै सजिलो बनाएको छ ।

कर्जा सूूचना केन्द्रको तथ्याङकले पनि राष्ट्र बैंकको निर्देशनपछि चेक बाउन्सका घटना बढेको देखाएको छ । राष्ट्र बैंकले बाउन्स हुने चेक काट्नेलाई कालोसूचीमा राख्ने व्यववस्था गरेसँगै खातामा पैसा नभइ चेक काट्ने ३६९२ जना कालोसूचीमा परेका छन् । जसमध्ये ४८५ जनाले फेरि भुक्तानी हुने चेक काटेर कालोसूचीबाट मुक्त भएका छन् ।

कुन वर्ष कति कालोसूचीमा परे ?

आर्थिक वर्ष २०७५/०७६ मा चेक बाउन्सका घटना ९५० वटा रहेको थियो । त्यो संख्या एकाएक बढेर आर्थिक वर्ष २०७६/०७७ मा १ हजार १९२ पुगेको छ ।

एक वर्षको अवधिमा चेक बाउन्टको घटना २४२ ले बढेको थियो । त्यस्तै आव २०७७/०७८ मा आइपुग्दा यस्तो घट्ना ३५८ ले बढेर १ हजार ५५० वटा पुगेको छ । गत आवमा १ हजार ५५० वटा चेक बाउन्स भएपछि कोट्ने ग्राहकलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छ ।

एकवर्षमा १ हजार ५५० वटा चेक बाउन्सका घटना घट्दा सबैभन्दा बढी गत चैतमा चेक बाउन्स भएर धेरैलाई कालोसूचीमा राख्नु परेको थियो ।

केन्द्रका अनुसार गत चैतमा मात्रै २५७ जनालाई कालोसूचीमा राखिएको थियो । यस्तै वैशाख महिनमा २०२ वटा केन्द्रले कालोसूचीमा राखेको थियो ।

गत वर्ष साउन महिनमा १२९, भदौमा ६१, असोजमा ८१, कात्तिकमा ७८, मंसिरमा ८७, पुसमा ९४, माघमा १९१, फागुनमा १६९ वटा चेक बाउन्सका घटनालाई केन्द्रले कालोसूचीमा राखेको थियो । यस्तै गत जेठमा ९० र असारमा १११ वटा लाई कालोसूचीमा राखेको थियो ।

किन बढे चेक बाउन्सका घटना ?

कोरोना महामारीका कारण गत जेठमा सरकारले गरेको लकडाउनले बैंकिङ गतिविधि ठप्प भयो । त्यसको असर तथा प्रभाव यहाँ पनि देखिएको छ । वैशाखको तुलनामा जेठमा कालोसूचीमा पर्ने र कालोसूचीबाट हट्नेको संख्या निकै घटेको थियो । त्यो समयमा कोरोनाले बैंकिङ गतिविधि ठप्पहुुँदा कालोसूचीमा पर्ने र हट्ने अन्तर बढेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार चेक बाउन्सले कालोसूची गतिविधिमा धेरै गम्भीर प्रभाव पार्ने गरेको छ ।

कर्जा सूचना केन्द्रले चेक बाउन्स भएपछि कालोसूचीमा राख्नेमात्रै नभएर पैसा तिरेको खण्डमा कालोसूचीबाट पनि हटाउने गरेको छ । गत आर्थिक वर्षमा मात्रै केन्द्रले चेक क्लियरेन्स भएपछि ४८५ वटा घटनालाई कालोसूचीबाट हटाएको छ । एक वर्षमा १५५० वटा कालोसूचीमा पर्दा ४८५ वटा घट्ना कालोसूचीबाट हटेको छ । जसमा साउनमा २६, भदौमा ९, असोजमा २६, कात्तिकमा २९, मंसिरमा ३९, पुसमा ४२, माघमा ४९, फागुनमा ७२, चैतमा ७९, वैशाखमा ६०, जेठमा १८ र असारमा ३६ वटा घटना कालोसूचीबाट हटेका छन् ।

कसरी हुन्छ चेक बाउन्स ?

राष्ट्र बैंकले जारी गरेको निर्देशनमा खातामा पर्याप्त रकम नभइ चेक जारी गर्ने र त्यो चेक ३ पटकसम्म नसाटिएपछि रकम पाउने व्यक्तिले सम्बन्धित बैंकमा लिखित उजुरी दिएपछि कालोसूचीमा राख्ने व्यवस्था गरेको छ । यसरी ३ पटकसम्म चेक नसाटिको प्रमाणित भने गर्नुपर्छ ।

बैंकले उजुरी परेपछि खातामा रकम जम्मा गर्न तत्काल ७ दिनको सूचना जारी गर्नेछ । यदि खातावालाले तोकिएको समयभित्र आवश्यक रकम जम्मा नगरेमा बैंकले कालोसूचीमा राख्ने गरेको छ । यस्तै खातावालाले चेक काट्ने र चेक नसाटी खाता बन्द गरेको अवस्थामा पनि कालोसूचीमा राख्ने व्यवस्था रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले कर्जा सूचना केन्द्रलाई उपलब्ध गराएको विवरणका आधारमा केन्द्रले अन्य कुनै पनि बैंक वा वित्तीय संस्थाले माग गरेको आधारमा सूचना तयार गरी उपलब्ध गराउँछ । जसले गर्दा अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋणीले कर्जा लिएको छ भने एकै पटक केन्द्रले कालोसूचीमा राख्छ ।

तर, नियतवश कर्जा नतिर्ने ऋणीलाई भने जतिसुकै परिमाणको ऋण भए पनि कालोसूचीमा राख्न सकिने व्यवस्था छ ।

यो सामान्य नै होः बैंकर

कर्जा सूचना केन्द्रको तथ्याङकले राष्ट्र बैंकले २०७६ मा जारी गरेको एकीकृत निर्देशन पनि चेक बाउन्स हुने क्रम बढेको देखिएपनि बैंकर्सहरु यसलाई स्वीकार्न तयार छैनन् ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनिल पोखरेल पहिलाको तुलनामा चेक बाउन्स हुने क्रम धेरै नबढेको बताउँछन् । अहिले कालोसूचीमा परेकाहरुको तथ्याङ्क हुने भएकोले धेरैजस्तो देखिने उनले बताए । तर, चेक बाउन्सका घटना यो व्यवस्था हुनुभन्दा अघाडि धेरै रहेको उनको भनाइ छ ।

‘पहिला यस्ता घटना बैंकमा आउने र बैंकबाट नै सेटल हुने गरेको थियो,’ पोखरेलले भने ‘अहिले कर्जा सूचना केन्द्रमार्फत् कालोसूचीमा निस्कने गरेको छ, त्यसले बढी भएको हो कि जस्तो देखिने गरेको मात्रै हो । वास्तविकतामा पहिला नै धेरै हुन्थ्यो ।’

पछिल्लो समयमा बैंकमा नयाँ-नयाँ सेवाग्राही जुनरुपमा बढेका छन्, त्यो अनुसार कालोसूचीमा पर्ने क्रम धेरै नबढेको पोखरेलेको तर्क छ ।

कम्पनी तर्फका चेकमा भने त्यस्ता चेक बाउन्सका घट्ना बढेको जस्तो देखिएपनि कम्पनी नै बन्द नभएका कारण डराइहाल्ने अवस्था नरहेको उनको भनाइ छ ।


सोभित थपलिया