चेक बाउन्स र कालोसूचीको कडा व्यवस्था खुकुलो बनाइँदै



काठमाडौं । चेक बाउन्स भएकै कारण बर्षौसम्म कालोसूचीमा सुचीकृत हुन नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले कालोसूचीको प्रवधान संशोधन गर्दै आपसी लेनदेन र बैंकिङ कारोबार छुट्याउने भएको छ ।

बैंकिङ कसूर ऐनलाई पनि थप व्यवहारिक बनाउन संशोधन गर्न लागिएको राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बताए ।

‘हाल दुई व्यक्तिबीच लेनदेनमा चेक बाउन्स भयो भने भएर कालोसूचीमा राख्ने गरिएको छ,’ मिश्रले क्लिकमाण्डूसँग भने, ‘सबै चेक बाउन्स भएको केस बैंकिङ कसुर नभएर ठगी मुद्दा पनि हुन्छन्, त्यही चेक कर्जा तिर्नका लागि प्रयोग भयो भने त्यसमा बैंक दोषी हुन्छ । लेनदेन र बैंकिङ कसुर छुट्टिन्छ । तर यसैलाई छुट्याउन अब संशोधनको प्रक्रियामा जान खोजेका छौँ ।’

कोरोना महामारीपछि ३ हजार बढी ऋणी कालोसूचीमा, कुन महिना कति ? (सूचिसहित)

चेक बाउन्सको सीमा र प्रवृत्ति तथा सोको नियत हेरेर बैंकिङ कसुर ऐन र कालोसूचीको प्रावधानलाई थप व्यवहारिक बनाउन संशोधनको प्रक्रिया गरिएको उनको भनाइ छ ।

हाल कर्जा सुचना केन्द्र (सीआईबी) मा २०४७ साल यता ०७७ चैत ३१ गतेसम्म १५ हजार ७ सय ७४ जना व्यक्ति कालोसूचीमा सूचीकृत छन् ।

बैंकिङ कसुर तथा सजाय ऐन २०६४ र कर्जा सूचना तथा कालोसूची सम्बन्धी व्यवस्थाका अनुसार कर्जा सूचना केन्द्रमा १० लाख रुपैयाँभन्दा माथिको कर्जाको साँवा ब्याज समयमै भुक्तानी नभएमा वा कर्जाको दुरुपयोग भएमा ऋणी सुचीकृत हुने व्यवस्था छ ।

साथै, चेकको अनादर गरेमा अर्थात् खातामा प्रयाप्त रकम नभइ चेक काटेमा, हस्ताक्षर नमिलेमा लगातमा चेक बाउन्स भई कालोसुचीमा सूचीकृत हुने प्रावधान गरिएको छ ।

चेक बाउन्स बैंक कारणले कतिपय व्यक्तिहरु बर्षौंसम्म कालोसूचीमा सूचीकृत हुनु पर्दा समस्या भएको गुनासो बढेपछि यसको संशोधनको सुझाव दिइएको सीआइबीका अप्रेशन हेड ओमकारलाल श्रेष्ठले बताए ।

‘अहिले कर्जा नतिरेर कालोसूचीमा पर्नेभन्दा धेरै चेक बाउन्स भएर कालोसूचीमा पर्ने व्ययवत्तिक्रहरु बढी छन्,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘यसले गर्दा धेरै व्यक्तिहरुलाई अन्य व्यवहारिक काममा समस्या सिर्जना भएको हुन्छ ।

त्यसैले यसमा केही सहजिकरण गर्ने विषयमा राष्ट्र बैंकमा कुरा उठान भएको उनले जानकारी दिए ।

कसरी हुन्छ चेक बाउन्स ?

खाता पर्याप्त रकम नभएपनि कुनै पनि व्यत्तिक्र तथा संस्था/र्फामको नाममा चेक काटेमा सो चेक बैंकले बाउन्स गर्छ । साथै, चेकमा गरिएको हस्ताक्षर र अंक गलत भएमा वा नमिलेमा पनि सो चेक बाउन्स हुन्छ ।

चेक काट्दै हुनुहुन्छ ? गंभिर हुनोस्, ‘बाउन्स’ भए यस्तो कारबाही हुन्छ

यसरी लगातार ३ पटकसम्म चेक बाउन्स भएका सम्बन्धीत बैंकले कर्जा सुचना केन्द्रमा कालोसूचीको लागि सिफारिस गर्छ । सिफारिस गरीएको चौथो दिनमा चेक बाउन्स भएको व्यक्तिको नाम कालोसूचीमा सार्वजनिक हुन्छ ।

सूचीबाट नाम हटाउनका लागि कुन कारणले चेक बाउन्स भएर कालोसूचीमा परिएको हो सो सुल्झाए हट्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।


पुष्प दुलाल