कम्प्युटरको भाइरसले राहदानी विभागको काम ठप्प, सेवा सुचारु हुन अझै २ हप्ता लाग्ने
काठमाडौं । शुक्रबारदेखि बन्द भएको राहदानी विभागको काम आजसम्म पनि सञ्चालनमा आउन सकेको छैन । राहदानी विभागका अनुसार विभागको सबै सेवा सुचारु हुन अझै २ हप्ता लाग्नेछ ।
त्रिपुरेश्वरस्थित विभागले सोमबार एक सूचना जारी गर्दै विभागका केही कम्प्युटरमा भाइरस प्रवेश गरेकाले यसको फैलावट रोक्नका लागि सबै सेवा बन्द गर्नुपरेको बताइएको छ । जसअनुसार विभागका सबै इलाका तथा शाखा साथै विदेशस्थित नियोगको सेवा पनि प्रभावित भएको बताइएको छ । यस्तै विभागको सेवा सुचारु हुन अझै २ साता लाग्ने विभागले जनाएको छ ।
विभागको सूचनामा भनिएको छ, ‘राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरुमा भाइरस प्रवेश गरेको प्रारम्भिक निष्कर्ष निकालिएको र यसको फैलावट रोक्न पर्याप्त सतर्कता अपनाउनु पर्ने भएकोले जिल्ला इलाका प्रशासन कार्यालय तगा विदेशस्थित नियोगहरुको राहदानी सेवा बन्द गर्नु परेको छ । उक्त स्थानहरुमा सेवा क्रमश कार्य प्रारम्भ हुँदै जाने गरी व्यवस्था मिलाइएको र पर्ण रुपमा कार्य प्रारम्भ हुन १-२ हप्तासम्म लाग्नसक्ने देखिएको छ ।’
तर राहदानीका लागि १/२ दिनभित्रै नयाँ आवेदन फाराम भर्नको लागि बुकिङ खुला गरिने विभागले जनाएको छ । ‘भाइरस देखा परिसकेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाइएको तथा आवेदकको तथ्यांक पूर्ण सुरक्षित रहेको बेहोरा अनुरोध गर्दै धैर्यता अपनाउनुका लागि विभाग अनुरोध गर्दछ,’ विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै अत्यावश्वक पर्ने सेवाग्राहीका लागि विभागबाट क्रमश सेवा उपलब्ध गराउन सुरु भएको पनि सूचनामा उल्लेख छ । अत्यावश्यक पर्ने सेवाग्राहीका लागि सम्बन्धित निकायमा सम्पर्क गर्न पनि विभागले आफ्नो वेबसाइटको सूचनामा सूचित गरेको छ ।