चेक काट्दै हुनुहुन्छ ? होसियार ! ‘बाउन्स’ भए यस्तो कारबाही हुन्छ भन्दै राष्ट्र बैंकले सूचना निकाल्यो



काठमाडौं । तपाईंको बैंक खातामा पैसा छैन । तर, तपाईंले सोही खाताको चेक जारी गर्दै हुनुहुन्छ भने होसियार । किनभने काटेको चेक बाउन्स भयो भने तपाईंलाई कडा कारबाही हुन्छ ।

राष्ट्र बैंकले मंगलबार गोर्खापत्रमा सूचना प्रकाशित गरी पैसा नभएको खाताको चेक नकाट्न अनुरोध गरेको छ ।

‘कसैले पनि आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी कसैलाई चेक काटी दिनु हुँदैन । यदि कसैले त्यस्तो कार्यगरी उक्त चेकको रकम भुक्तानी नभएमा बैंकिङ कसूर गरेको मानी चेक काट्ने व्यक्तिलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिम जरिवाना र ३ महिनासम्म कैद सजाय हुने व्यवस्था रहेकाले त्यस्तो कार्य नगर्न, नगराउन यो सूचना जारी गरिएको छ,’ राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

कसैसँग तपाईंले ऋण लिनु भएको छ । र, तिर्न ढिलाइ गरिरहनुभएको छ भने तपाईंलाई साहूले चेक काट्न दबाब दिनसक्छन् । यस्तो अवस्थामा बैंक खातामा पैसा नहुँदा नहुँदै पनि तपाई चेक काट्न बाध्य हुनुहुन्छ ।

अर्को, कतिपयको नियत कसैलाई चेक दिएर झुलाउने हुन्छ ।

जुनसुकै अवस्थामा होस् तपाईंले काटेको चेक बाउन्स भयो भने तपाईं कारबाहीको भागिदार बन्नु पर्छ नै ।

जब तपाईंले कसैलाई भुक्तानीका लागि दिएको चेक बैङ्कबाट भुक्तान हुन नसकी फिर्ता भयो भने बुझ्नेहोस् त्यो चेक ‘बाउन्स’ भयो । त्यसैले चेक काट्नुअघि खातामा सो चेकमा उल्लेख गरे बराबरको रकम मौज्दात छ कि छैन भन्ने जाँच गरेर मात्रै काट्नुहोस् ।

तपाईंलाई कसैले पैसा नभएको खाताको चेक दिएको छ भने तपाईंले प्रहरीमा गएर उजुरी दिनुहोस् । बाउन्स चेकको उजुरीमा प्रहरीले गम्भिर रुपमा लिन्छ । र, चेक जारी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गर्छ ।

त्यतिमात्रै होइन, खातामा पैसा छ तर काटेको चेक हस्ताक्षर नमिलेका कारण बैंकले साटिदिएन भने पनि त्यो चेक बाउन्स हुन्छ । त्यसैले चक काट्नुअघि हस्ताक्षर मिल्छ कि मिल्दैन भनेर पनि विषेश ख्याल गर्नुहोस् ।

एउटै चेक तीन पटकसम्म बाउन्स भएका व्यक्तिलाई भविष्यमा कुनै पनि बैङ्कमा खाता खोल्न तथा ऋण लिन नपाउनेसम्मको सजाय हुन सक्छ । त्यतिमात्रै होइन, बैंकिङ कसूर ऐन अन्तगर्तत तपाईं जेलसमेत बस्नुपर्ने हुन्छ ।

कसरी बाउन्स गराउने ?

तपाईंलाई कसैले दिएको चेक हस्ताक्षर नमिलेको वा आवश्यक मौज्दात नभएको भन्दै बैंकले साटिदिएन भने मात्रै चेक बाउन्स हुँदैन । चेक बाउन्स गराउनका लागि तपाईं स्वयं सक्रिय हुनुपर्छ ।

चेक साटिएन भने बैंकका कर्मचारीलाई भनेर चेक जारी गर्ने मान्छेलाई यो कारणले फलानो नम्बरको फलनो मितिमा काटिएको चेक साटिएन भनेर जानकारी गराउन लगाउनुपर्छ ।

चेक काट्ने मान्छेलाई बैंकले चेक नसाटिएको जानकारी गरायो । तर फेरि पनि चेक साटिएन भने बैंकका कर्मचारीलाई भनेर चेक बाउन्स भएको प्रमणित गर्न लगाउनुपर्छ ।

कतिपय अवस्थामा बैंकका कर्मचारीहरुले ‘एकपटक उहाँलाई सोध्नुहोस्,’ भन्दै चेक बाउन्स गर्न आनाकानी गर्न पनि सक्छन् । त्यस्तो अवस्थामा तपाईंले कर्मचारीलाई आग्रह गर्नुपर्छ ।

तपाईंले आग्रह गर्दा पनि बैंकका कर्मचारीले चेक बाउन्स गर्न मानेनन् भने तपाईंले राष्ट्र बैंकमा गएर उजुरी दिनसक्नुहुन्छ । राष्ट्र बैंकमा उजुरी गरेपछि भने तपाईंको काम हुन्छ ।

प्रहरीले पक्राउ गर्दा पनि चेक जारी गर्ने मान्छेले पैसा तिरेन भने त्यस्तो व्यक्तिलाई बैंकिङ कसूर तथा सजाय ऐन अन्तर्गत अदातलमा मुद्दा दायर हुन्छ । अदालतले तपाईंसँग आवश्यक काजगात माग गर्छ, र तपाईंले अदालतले मागेका कागजात बुझाउनु पर्छ । त्यसपछि अदालतले तपाईंको पक्षमा फैसला गर्छ । चेक जारी गर्ने मान्छेको जायजेथा बिक्री गरेर भएपनि तपाईंको पैसा उठ्छ ।

तर, कुनै संस्था वा कम्पनीको नामको चेक बाउन्स भयो र कालो सुचीको लागि निबेदन दिनुअघि नै संस्था कालो सुचीमा पर्ने डरले पैसा भुक्तानी चाँडो हुनसक्छ । किनभने कालो सुचीमा परेका मान्छेले कुनै पनि व्यवसाय गर्न पाउँदैनन् ।

कालोसूचीमा रहेको व्यक्ति, फर्म, कम्पनी वा सङ्गठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै पनि किसिमको बैङ्किङ कारोबार गर्न पाउने छैन ।


पुष्प दुलाल