बैंकर असहमत भएपनि बैंकर्स संघले बढायो निक्षेपको ब्याजदर



काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले फागून १ गतेदेखि लागू हुनेगरी ब्याजदर बढाउने निर्णय गरेको छ । शुक्रबार बसेको संघको कार्यसमिति बैठकले ब्याजदर बढाउने निर्णय गरेको छ ।

व्यक्तिगततर्फ मुद्दतिमा ११.०३ प्रतिशत,संस्थागतमा १०।३ प्रतिशत पुर्याउने निर्णय गरेको हो । संघले बचत खाातामा ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशत पुर्याउने निर्णय संघले गरेको हो ।

कार्यसमिति बैठकपछि संघले आफ्ना सदस्यलाई सोही अनुसार निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । बैंकहरुले रेमिट्यान्स खातामा १२ प्रतिशत ब्याजदर दिने छन् । माघ महिनामा व्यक्तिगततर्फ १०.०३ प्रतिशत मुद्दति निक्षेपमा ब्याजदर थियो ।

कृषि विकास बैंकका सीइओसमेत रहेका बैंकर्स संघक अध्यक्षले गभर्नर महाप्रसाद अधिकारीले नै ब्याजदर बढाउन आग्रह गरेको भन्दै ब्याजदर बढाउने निर्णय गर्न सफल भएका हुन् । अधिकांश सीइओको विरोधका बाबजुत संघले ब्याजदर बढाउने निर्णय गरेको हो ।

यसअघिको अभ्यासमा यस्ता निर्णयहरु गर्दा बैंकर्स संघको पूर्णबैठक बस्ने गर्थ्यो । पूर्णबैठकमा सबै सीइओलाई बोलाइन्थ्यो । २७ वटै बैंकका सीइओमध्ये १८/२० वटा बैंकका सीइओको धारणा जे हुन्छ, त्यही निर्णय हुन्यो । तर, यसपटक भने यति महत्वपूर्ण निर्णय गर्दा सीइओहरुलाई कुनै खबर गरिएन ।

‘सीइओहरुको भाइबर ग्रुपमा ब्याजदरका बारेमा के गर्ने भनेर सोधिएको थियो, अधिकांश सीइओहरुले बढाउनु हुँदैन भन्ने धारणा राखेका थिए,’ एक सीइओले भने, ‘आज एक्कासी बैंकर्स संघको ब्याजदर बढाउने निर्णय आउँदा छक्क परियो ।’

ब्याजदर बढाउँदैमा नयाँ निक्षेप नआउने अधिकांश सीइओहरुको धारणा छ ।

‘ब्याजदर बढाउँदैमा निक्षेप बढ्दैन भन्ने जान्दा जान्दै यस्तो निर्णय आउनू चिन्ताजनक छ,’ अर्का सीइओले भने, ‘संघका अध्यक्षज्यू पहिलादेखि नै बढाउन चाहनुहुन्थ्यो, आज सुटुक्कै बढाइदिनु भएछ ।’

संघको यो निर्णयसँगै बैंकरहरु विभाजित भएका छन् । संघकै कार्यसमिति सदस्य रहेका सीइओहरु पनि यो निर्णयमा सहमत छैनन् ।

‘हामीले बढाउनु हुँदैन भन्ने राय राखेको हो, तर हाम्रो कुराको सुनुवाई भएन,’ संघका कार्यसमिति सदस्यसमेत रहेका एक सीइओले भने, ‘बढेको ब्याजदरको असर बैंकलाई होइन, ऋणीलाई पर्छ ।’


क्लिकमान्डु