अब बीमा अभिकर्तालाई कर्जा दिन नपाइने



काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीलाई अभिकर्ता कर्जा वितरणमा रोक लगाएको छ ।

समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन गर्दै बीमा कम्पनीलाई अभिकर्ता कर्जा प्रवाहमा रोक लगाएको हो ।

अभिकर्तालाई कर्जा प्रदान गर्ने व्यवस्था बीमा व्यवसायमा अनुत्पादक हुने भएकाले सो व्यवस्था हटाउन खाजेको समितिको भनाइ छ ।

जीवन बीमालेखको सुरक्षणमा बीमितलाई कर्जा दिन बाहेक कुनै किसिमको कर्जा दिन नपाउने व्यवस्था समितिले गरेको छ ।

तर, कर्मचारी सेवा शर्त विनियमावलीमा व्यवस्था भए बमोजिम कम्पनीले आफ्नो कर्मचारीलाई सापटी कर्जा दिन सक्ने समितिले बताएको छ ।

यसअघि समितिले बीमा अभिकर्तालाई विनाधितो अर्बौं रुपैयाँ कर्जा प्रवाह गरेको फेला पारेको थियो ।

समितिले पटक–पटक निर्देशन जारी गर्दै त्यसरी वितरण गरिएको कर्जा उठाउन भनेको थियो । बीमा कम्पनीले प्रवाह गरिएको कर्जा उठाउनका ललागि समय थप गर्न माग गर्दै आएका थिए ।

यस्तै, बीमा समितिले रिक्त रहेको मितिले तीन महिनाभित्रमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नुपर्ने समेत व्यवस्था गरेको छ ।

पद रिक्त भएको लामो समयसम्म नयाँ सीइओ नियुक्ति हुन नसक्दा बीमकको व्यवस्थापन तथा संचालनमा असर पर्ने भएकाले यस्तो व्यवस्था गरिएको समितिले बताएको छ ।

जीवन बीमा कम्पनीको कुनै पनि संचालक वा कर्मचारीले आफू कार्यरत जीवन बीमा कम्पनीमा बढीमा ५० लाख रुपैयाँसम्मको जीवन बीमा गर्न पाउने व्यवस्था समेत समितिद्धारा संशोधित निर्देशिकाले व्यवस्था गरेको छ  ।

यसअघि संस्थागत सुशासन निर्देशिकाले बढीमा २५ लाख रुपैयाँसम्मको बीमांकको सीमाभित्र मात्र रही जीवन बीमा गर्न पाउने व्यवस्था थियो ।


क्लिकमान्डु