जीवन बीमा कम्पनीले गैरकानूनीरुपमा एजेन्टलाई दिए पौने ९ अर्ब ऋण, एकै जनालाई साढे ८२ करोड



काठमाडौं । जीवन बीमा कम्पनीहरुले गैरकानूनीरुपमा अभिकर्ता (एजेन्ट)लाई अर्बौ रुपैयाँ कर्जा दिएका छन् । सरकारी जिवन बीमा कम्पनी राष्ट्रिय बमिा संस्थान बाहेकका सबै कम्पनहिरुले ऐन विपरित अभिकर्तालाई करिब पौने ९ अर्ब रुपैयाँ कर्जा दिएको प्रमाण क्लिकमाण्डूलाई प्राप्त भएको छ ।

कम्पनीहरुले अभिकर्तालाई घर बनाउन, सवारी खरिद गर्नका साथै अग्रिम कमिशनको नाममा गैरकानूनीरुपमा ८ अर्ब ७१ करोड ५० लाख २० हजार २१९ रुपैयाँ कर्जा दिएका छन् । यो तथ्यांक गत पुस मसान्तसम्मको हो । जसमा केही कम्पनीले एउटै अभिकर्तालाई करिब पौने ८३ करोड रुपैयाँसम्म कर्जा दिएको तथ्यांक क्लिकमाण्डूले प्राप्त गरेको छ ।

जीवन बीमा क्षेत्रमा कम्पनीहरुको व्यवसाय विस्तार र वृद्धिमा अभिकर्ताको महत्वपूर्ण भुमिका हुन्छ । बीमा ऐनमा बीमांक र कर्मचारी बाहेकलाई कर्जा दिन गैरकानूनी हो । अभिकर्तालाई कम्पनीका कर्मचारी नभएर ऐजेन्सीमा नियुक्त गरिएको हुन्छ ।

तर, कम्पनीहरुले व्यवसाय बढ्ने आशामा अभिकर्तालाई बिनाधितो अर्बौ रुपैयाँ कर्जा दिने गरेको देखिन्छ ।

यसरी गैरकानुनी रुपमा कम्पनीहरुले अभिकर्तालाई कर्जा दिने प्रवृत्ति बढ्न थालेपछि बीमा समितिले यसमा गत वैशाख २ गते नै परिपत्र जारी गर्दै रोक लगाइसकेको छ ।

साथै, २०७८ असार मसान्तसम्म अभिकर्ताहरुमा प्रवाहित कर्जा असूल गर्न समेत निर्देशन दिएको थियो । तर, कम्पनीहरु तोकिएको समयमा अभिकार्ता कर्जा असूल गर्न समस्या हुने गुनासो गरेपछि कर्जा असूलीको समय थप गरिउको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘३ महिनाभित्रमा कर्जा भुक्तान गर्न अभिकर्तालाई धेरै समस्या भएको गुनासो आएपछि त्यसमा केही लचकता भएका हौँ,’ पौडेलले क्लिकमाण्डूसँग भने, ‘कम्पनीले अभिकर्ताहरुलाई आकर्षित गर्नका लागि घर, कार, मोटरसाइकल, कम्प्युटर र मोबाइल खरिद गर्न कर्जा दिनै पाउँदैनन् । बीमा ऐनमा नै उल्लेख छ, अभिकर्तालाई के कस्तो सुविधा दिने पाइन्छ भनेर त्यसको विपरित त कम्पनीहरु जान मिल्दैन ।’

समितिले यति नै समय भनेर मिति तोकेको नभएपनि कम्पनीले कर्जा असूली गर्ने आधार र समय सहितका योजना समितिमा पेश गरेपछि उल्लेखित समयमा कर्जा उठाइसक्नु पर्ने उनले जानकारी दिए । निश्चित समयभित्र अभिकर्ताबाट कर्जा असूल गर्नेगरी समयतालिका बनाएर कम्पनीहरुले समितिमा पेश गरेपछि सोहीअनुसार नै अभिकर्ता असूली नगरेमा समितिले कम्पनीहरुलाई सो रकम बराबरको हर्जना तिराउने उनको भनाइ छ ।

कुन कम्पनीले कति कर्जा दिए ? टपटेन ऋणीको नामसहित

बीमा समितिद्वारा प्राप्त तथ्यांकअनुसार गत पुस मसान्तसम्म १८ वटा जीवन बीमा कम्पनीले करिब पौने ९ अर्ब रुपैयाँ अभिकर्तालाई बिनाधितो कर्जा दिएका हुन् । सो अवधिमा कम्पनीहरुले ५८ लाखदेखि साढे ५ अर्ब रुपैयाँसम्म अभिकर्तालाई कर्जा दिएका छन् ।

जसमा सबैभन्दा बढी एलआइसी नेपालले ५ अर्ब ४१ करोड ६८ लाख ७२ हजार ८९० रुपैयाँ र सबैभन्दा थोरै सानिमा लाइफ इन्स्योरेन्सले ५८ लाख ८२ हजार ५२५ रुपैयाँ कर्जा दिउका हुन् ।

एलआइसी नेपालले अभिकर्ता अन्जान भण्डारीलाई विभिन्न समयमा ९ पटकसम्म ३ करोडदेखि १७ करोड रुपैयाँसम्म गरी ८२ करोड ६२ लाख रुपैयाँ बढी कर्जा दिएको छ । साथै, कम्पनीले अर्का अभिकर्ता पुर्न बहादुर खड्कालाई समेत ३ करोड ५ लाख रुपैयाँ बढी कर्जा दिएको छ ।

यसैगरी, नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ८३ करोड ३७ लाख १९ हजार ५६० रुपैयाँ अभिकर्ता कर्जा दिएको छ । जसमा कम्पनीले ७ करोड रुपैयाँसम्म एक जनालाई कर्जा दिएको हो ।

नेशनल लाइफले कुल ४१ करोड ६९ लाख ५७ हजार रुपैयाँ अभिकर्तालाई कर्जा दिएको छ । जसमा एक जनालाई ६ करोड रुपैयाँसम्म कर्जा दिएको छ ।

युनियन लाईफले एक जनालाई अभिकर्तालाई ५ करोड रुपैयाँ गरी कुल २३ करोड ३ लाख ३६ हजार रुपैयाँ कर्जा दिएको छ । सूर्या लाइफले अभिकर्तालाई १ करोड रुपैयाँसम्म गरी कुल १६ करोड ३ लाख ४२ हजार ५६६ रुपैयाँ कर्जा दिएको छ ।

प्राइम लाइफले अभिकर्तालाई २ करोड रुपैयाँसम्म गरी कुल १० करोड ६४ लाख ६५ हजार ९७० रुपैयाँ कर्जा दिएको छ ।

एशियन लाइफले अभिकर्तालाई अभिकर्तालाई १ करोड ५० लाख रुपैयाँसम्म गरी कुल १० करोड ३५ लाख ९ हजार ६९० रुपैयाँसम्म कर्जा दिएको छ ।

आइएमई लाइफले अभिकर्तालाई ३० लाख रुपैयाँसम्म गरी कुल ६ करोड ६० लाख ८ हजार ४९६ रुपैयाँ कर्जा दिएको छ ।

सिटिजन्स लाइफले अभिकर्तालाई १ करोड १० लाख रुपैयाँसम्म गरी कुल ६ करोड ६० लाख ८ हजार ४९६ रुपैयाँ कर्जा दिएको छ ।

महालाक्ष्मी लाइफले अभिकर्तालाई ४५ लाख रुपैयाँसम्म गरी कुल ६ करोड १५ लाख ४१ हजार ८४९ रुपैयाँ कर्जा दिएको छ ।

रिलाइन्स लाइफले अभिकर्तालाई २५ लाख रुपैयाँसम्म गरी ६ करोड ७ लाख ६४ हजार ७६४ रुपैयाँसम्म कर्जा दिएको छ ।

ज्योति लाइफले अभिकर्तालाई २० लाख रुपैयाँसम्म गरी कुल ३ करोड ३१ लाख ३९ हजार ९१० रुपैयाँ कर्जा दिएको छ ।

सन लाइफले अभिकर्तालाई २१ लाख रुपैयाँसम्म गरी कुल ३ करोड २५ लाख रुपैयाँ कर्जा दिएको छ ।

गुराँस लाइफले अभिकर्तालाई अभिकर्तालाई १५ लाख रुपैयाँसम्म गरी कुल ३ करोड ११ लाख ४८ हजार ६ सय रुपैयाँसम्म कर्जा दिएको छ ।

प्रभु लाइफले अभिकर्तालाई २० करोड रुपैयाँसम्म गरी कुल १ करोड १९ लाख ७४ हजार ८५० रुपैयाँसम्म कर्जा दिएको छ ।

सानिमा लाइफले अभिकर्तालाई १५ लाख रुपैयाँसम्म गरी कुल ५८ लाख ८२ हजार ५२५ रुपैयाँसम्म कर्जा दिएको छ ।


क्लिकमान्डु