ईभीको बिक्री घट्यो: विश्लेषकले भनेजस्तै बजार नयाँ चरणमा प्रवेश गरेको हो ?
एजेन्सी । पछिल्लो समय विद्युतीय सवारी ईभीको बिक्री नियमित रुपमा भइरहेको छ । यससँगै यसको बिक्रीदर अस्थायी रुपमा केही मन्द भइरहेको जनाइएको छ । अर्थात् यसको बिक्री दर अपेक्षाकृत रुपमा उच्च नभएको विभिन्न तथ्यांकले देखाइरहेका छन् ।
यद्यपि ईभी मार्केट खस्किएको नभएर विश्वभर नै नयाँ चरणमा प्रवेश गरेको विज्ञहरुले बताइरहेका छन् । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको पछिल्लो रिपोर्टअनुसार विश्वभर चार्जिङ सवारीसाधनको बिक्री गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले वृद्धि हुने छ । जुन उल्लेखनीय वृद्धि भए पनि २०२२ र २०२३ को अवधिमा जस्तो भने होइन । त्यस अवधिमा ३५ प्रतिशतको वृद्धिदर थियो।
यस्तो अवस्थालाई सीमित प्रयोगकर्ताहरुबाट ईभी अब आम उपभोक्तामा प्रवेश गर्न लागेको भन्दै यसको बजार नयाँ चरणमा प्रवेश गरिरहेको बताइन्छ । विश्लेषक कोको झाङ भन्छन्, ‘पहिलो पटक कार किन्नेहरु ईभीमा आकर्षत हुन्छन् । तर उसलाई दोस्रो पटक र त्यसपछि पनि उपभोक्ता बनाउनु एक चुनौतीको रुपमा देखिएको छ ।’
पहिलो पटक कार खरिद गर्नेहरुले यसको टिकाउ, क्षमता लगायतका कुरामा धेरै ध्यान नदिएर राम्रो कार कम महंगो मूल्यमा किन्न मात्रै चाहन्छन् । तर अटोमेकरहरुले तिनै नयाँ कार खरिदकर्ताहरुलाई खुसी बनाइरहने उपाय खोज्नुपर्ने विश्लेषकहरुको सुझाव छ । र यही विषय कार विक्रेताहरुका लागि चुनौती देखिएको उनीहरुको तर्क छ ।
टेस्लाको भूमिका
विशेषगरी अमेरिकामा ईभीको बिक्री मन्द हुनुमा टेस्ला स्वयं नै एक कारण रहेको विभिन्न रिपोर्टको दाबी छ । कक्स अटोमोटिभको एक रिपोर्टका अनुसार टेस्ला अहिले पनि अमेरिकामा बिक्री हुने सबै ईभीभन्दा ६० प्रतिशतले बढी छ । तर एक वर्षअघि मात्रै अमेरिकामा बिक्री हुने सबै ईभीभन्दा ६० प्रतिशत धेरै उत्पादन गरेको थियो ।
यस वर्षको पहिलो तीन महिनामा टेस्लाले अमेरिकामा एक वर्षअघिको यसै अवधिको तुलनामा थेरै ईभी बिक्री गर्यो । जसले गर्दा ईभी बजारमा उसको ५० प्रतिशत हिस्सा खस्किएको बताइन्छ । यो खस्कँदो अवस्थालाई कम गर्न टेस्लाले मूल्यमा केही कम गर्यो ।
जवकि अन्य कतिपय कार विक्रेताहरुले यही समयमा अघिल्लो वर्षको पहिलो तीन महिनाको अवधिमाभन्दा ५० प्रतिशत बिक्री बढाएका छन् । फोर्ड गत वर्ष अमेरिकामा टेस्लापछिको दोस्रो सर्वाधिक ईभी विक्रेता बनेको थियो । मुस्ताङ म्यास ई को मूल्य १७ प्रतिशत घटाउँदा फोर्डले यो मोडलको बिक्री दोब्बर बनाएको थियो । यद्यपि फोर्डको इलेक्ट्रिक गाडी अहिले पनि घाटाको ब्यापार गरिरहेको छ । फलस्वरुप फोर्डले भविष्यमा ईभी उत्पादनको काम रोक्ने बताइएको छ । जवकि फोर्डका इन्जिनियरहरुले सस्तो मूल्यको ईभी डिजाइनका लागि काम गरिरहेका छन् ।
चिनियाँ जटिलता
सस्तो ईभीको माग पूरा गर्ने गरी चीनले काम गरिरहेको छ । तर ईभी उत्पादनमा चीनले जसरी काम गरिरहेको छ भविष्यमा त्यसले आफ्नो बजारमा असर पार्ने हो कि भनेर अमेरिका र युरोपका अटोमेकरहरु सावधान छन् । जवकि यस वर्ष युरोपमा बिक्री हुने सबै ईभीमध्ये चीनमा बनेका ईभीको मार्केट २५ प्रतिशत हुने अपेक्षा गरिएको युरोपियन फेडेरेसन फर ट्रान्सपोर्ट एन्ड इनभाइरोमेन्टले जनाएको छ । यससँगै चीनमा बनेका ईभी अमेरिकी बजारमा पनि प्रवेश गर्दै छन् ।
यसबीचमा चीनमै पनि ईभीको कडा प्रतिस्पर्धा चलिरहेको छ । चीनको भव्य बजारका बावजुद यस वर्ष चीनमा लगभग १ करोड ईभी बिक्री हुने अपेक्षा गरिएको छ । त्यहाँ अधिकांश ईभी निर्माताहरु टिकाउका लागि संघर्ष गरिरहेको सीएनएनको समाचारमा उल्लेख छ । साथै गत वर्ष मात्रै चीनमा एक दर्जन कम्पनी बन्द भएका थिए । यस्तो अवस्था अमेरिकामा पनि नभएको हैन । तर तुलनात्मक रुपमा कम रहेको बताइन्छ ।
विश्लेषकहरु के भन्छन् भने कतिपय पुराना कम्पनीहरु असफल हुनसक्छन् । र नयाँ उद्यमशील कम्पनीहरु सफल हुनसक्छन्।
ईभीको सम्भावना
यससँगै विभिन्न कारणले ईभीको माग तथा बिक्री आगामी वर्ष झनै बढ्नसक्ने विश्लेषकहरुको आकलन छ । युरोपका सरकारहरुले यस वर्ष प्रोत्साहनमा केही कमी गरे पनि आगामी वर्ष उत्सर्जनको मुद्दा थप पेचिलो बन्नसक्ने भएकाले ईभीको माग बढ्नसक्ने आकलन गरिन्छ । र यस्तै अवस्था अमेरिकाको हकमा पनि लागू हुनेछ ।
अटोमेकरहरुले आफ्ना केही ईभीमा नयाँ सुविधासहित आगामी वर्ष बिक्रीलाई बढाउनसक्ने पनि बताइन्छ । जवकि उनीहरुले उत्सर्जन मापदण्ड पूरा गर्न औसत इन्धन अर्थतन्त्रलाई घटाउन सक्ने अपेक्षा विश्लेषकहरुको छ । यसवाहेक टेस्लाले चार्जिङ जटिलता हटाउनुका साथै यसलाई सर्वसुलभ बनाउँदै जानसक्ने पनि अपेक्षा गरिएको छ । साथै आगामी वर्ष नयाँ ग्राहकलाई आकर्षित गर्न किफायती ईभीहरु ल्याउनसक्ने छन् ।