खुकुरी रमको व्यापार ३९%ले बढ्यो, यो वर्ष १ अर्ब ५५ करोडको कारोबार



काठमाडौं । खुकुरी रम उत्पादन गर्ने कम्पनी द नेपाल डिस्टिलरी प्रालिको व्यापारमा उत्साहजनक वृद्धि देखिएको छ । गत वर्ष कोरोना महामारीका कारण लागू भएको लकडाउन तथा निषेधाज्ञाका कारण खस्केको बजारमा यो वर्ष उत्साहजनक वृद्धि देखिएको छ ।

मदिराप्रेमी माझ निकै लोकप्रिय रहेको खुकुरी रम उपहारका लागि पनि रोजाइमा पर्दै आएको छ । स्वदेशमा मात्रै नभइ विश्वका विभिन्न १३ वटा देशमा यसको व्यापार बिस्तार भइसकेको छ ।

सन् २०२० मा १ अर्ब ११ करोड ८० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२१ मा १ अर्ब ५५ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गर्ने आकलन गरिएको छ । जुन ३९ प्रतिशतभन्दा बढीले वृद्धि हो ।

कम्पनीले सन् २०१९ मा १ अर्ब ४८ करोड ७० लाख रुपैयाँ र सन् २०१८ मा १ अर्ब २४ करोड रुपैयाँको व्यापार गरेको थियो । साथै, सन् २०१७ मा ९२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

६२ वर्ष पुरानो यो कम्पनी ४ वर्षअघि नेपालीहरुले खरिद गरेका थिए । हाल कम्पनीमा शरद टिवडेवालको ८० प्रतिशत र वसन्त चौधरीको २० प्रतिशत स्वामित्व छ ।

कम्पनीले हालै नयाँ प्याकेजिनङमा रम उत्पादन गरिरहेको छ । तर बजारमा भने पठाइसकेको छैन ।

कम्पनीका अनुसार रम बजारमा खुकुरी रमको बजार हिस्सा ८० प्रतिशत छ । विशेष गरी यो रम जाडो मौसममा बढी बिक्री हुँदै आएको छ । कम्पनीका अनुसार सन् २०२१ मा नोभेम्बरदेखि फेब्रुअरीबीचमा मात्रै ७२ प्रतिशत व्यापार हुने बताएको छ ।

कम्पनीले हालै ६० करोड ऋणका लागि रेटिङ समेत गराएको छ ।


क्लिकमान्डु