नेपालीको हातमा आएपछि खुकुरी रम नयाँ प्याकेजिङमा, स्वाद भने परिवर्तन नहुने



काठमाडौं । मदिरा पारखीका लागि ‘खुकुरी रम’ ब्राण्ड नौलो होइन । मदिराप्रेमीमध्ये अधिकांशले स्वाद चाखेका थोरै ब्राण्डमध्येमा खुकुरी रम पनि पर्छ ।

नेपालमा मात्रै नभई खुकुरी रमको बजार विदेशमा पनि उत्तिकै छ । नेपालबाहेक १३ वटा देशमा खुकुरी रमका पारखी छन् । बजार पनि एकछत्र जस्तै राज छ । यसका पछाडि यसको गुणस्तर र लामो समयदेखि एउटै स्वाद हो ।

खुकुरी रम मदिराप्रेमीका लागि त प्रिय ब्राण्ड भइहाल्यो, उपहार दिनका लागि पनि उपयोगी बनेको छ । नेपालमा मात्रै होइन विदेशी बजारमा पनि खुकुरी रमको उत्तिकै माग छ ।

विशेषगरी विन्टरको समयमा खुकुरी रमको खपत अत्यधिक हुन्छ । जाडो मौसममा तातोपानी, अदुवा, मचिर, कागती र महको स्वादमा ‘रम पञ्च’को चुस्की लिनेहरु धेरै हुन्छन् ।

६२ वर्ष अघिदेखि उत्पादन शुरु भएको खुकुरी रम नेपालको राम्रो ब्राण्डका रुपमा पहिचान समेत स्थापित गरिसकेको छ । गोर्खालीका लागि ‘खुकुरी’को जति सम्मान र पहिचान छ उसैगरी खुकुरी रमले पनि बजारमा आफ्नो गर्विलो इतिहास कायम गर्न सफल भएको छ ।

करिब ३ वर्षअघिसम्म भारतीय लगानीकर्ता रहेको कम्पनीमा त्यसयता नेपालीहरुको हातमा आएको छ । तीन वर्षअघि भारत कलकत्ताको व्यापारिक घराना कनोइ परिवारको स्वामित्वमा रहेको पीडीके इम्पेक्सको सेयर नर्भिक अस्पताल सञ्चालन गरिरहेका बसन्त चौधरी र गैरआवासीय नेपाली शरदकुमार टिवडेवालले लिएका थिए । कम्पनीमा टिवडेवालको ८० प्रतिशत र चौधरीको २० प्रतिशत स्वामित्व कम्पनीमा छ ।

५९ वर्षअघि ‘दि नेपाल डिष्ट्रिलरी’ कम्पनीमार्फत् खुकुरी रम उत्पादन शुरु भएको थियो ।

कम्पनी ३ वर्षअघि १ अर्ब ६० करोड रुपैयाँमा नेपालीहरुले खरिद गरेका थिए । कम्पनीको ५६ लाख ८३ हजार २०० रुपैयाँ बराबरको चुक्तापुँजी ५६ हजार ८३२ कित्ता सेयर छन् । कम्पनीको सेयर शुरुमा पशुपति प्लानर्सले ३१ हजार ४२८ कित्ता र बाँकी रहेको २५ हजार ४०४ कित्ता सेयर एमसिकेटी होल्डिङसले खरिद गरेको थियो ।

पशुपति प्लानर्समा वसन्त चौधरीको बीएलसी होल्डिङस र टेवडेवालको स्वामित्वमा थियो भने एमसीकेटी होल्डिङसमा टेवडेवालाको शतप्रतिशत स्वामित्व छ । उनीहरुले प्रतिकित्ता २८ हजार ३२९ रुपैयाँ ११ पैसामा सेयर खरिद गरेका थिए ।

लामो समयदेखि अस्पताल सञ्चालन गरिरहेका वसन्त चौधरीलाई शुरुमा मदिरा उद्योगमा हात नहालौं भन्ने लागेको थियो । अस्पताल चलाइरहेको व्यक्तिले मदिरा उद्योगमा लगानी गर्दा राम्रो सन्देश नजाने उनको सोच थियो ।

यसमा कम्पनीका अन्य व्यक्तिहरुले चौधरीलाई लगानी गर्नका लागि मनाए । उनीहरुले कम्पनीमा आफूले लगानी नगर्दा फेरि विदेशी लगानीकर्ताकै हातमा जाने र स्वदेशी राम्रो कम्पनी भएको तर्क गरेका थिए ।

कम्पनीको स्वामित्व नेपालीको हातमा आएको ३ वर्षपछि अहिले प्याकेजिङ (प्याक) परिवर्तन गरेको छ ।

‘कम्पनीले प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रुपमा बजारमा उत्रिने निर्णय गरेको छ । यो निर्णयअनुसार चाँडै विश्वस्तरीय नयाँ प्याकसहित बजारमा आउने तयारी समेत तीव्र गतिमा अगाडि बढेको छ,’ कम्पनीले भनेको छ ।

प्याकेजिङ परिवर्तन भएपनि ब्लेण्ड र स्वादमा भने कुनै परिवर्तन गरिनेछैन । नयाँ प्याकेजिङसहितको खुकुरी रम तिहार र छठपछि बजारमा आउनेछ ।

कम्पनीका अनुसार २० वर्ष पुरानो कम्पनीको प्याकको डिजाइनबाट हुने उत्पादनहरु एक महिनाअघि नै बन्द भइसकेका छन् ।

कम्पनीका अनुसार नेपालबाहेक १३ वटा अन्य देशमासमेत प्याकेजिङ एकैसाथ परिवर्तन हुन लागेको हो ।

खुकुरी रमको वर्षौदेखिको मौलिक प्याकेजिङलाई ग्राहकको आकांक्षाअनुरुप परिस्कृत गर्दै तयार पारिएको नयाँ प्याकेजिङले स्थानीय र विश्व बजारका ग्राहकहरुको मन जित्ने विश्वास कम्पनीका महाप्रबन्धक शुभाष लामिछानेले व्यक्त गरे ।

‘प्याकेजजिङ परिवर्तन भएपनि गुणस्तर र रम पिउँदा हुने अनुभूतिमा कुनै फरकपना नआउनेमा विशेष ध्यान दिइएको छ,’ उनले भने ।

कम्पनीका अनुसार नयाँ प्याकको लञ्चिङ भने अनलाइनमार्फत् हुनेछ ।


क्लिकमान्डु