आक्रामक व्यवसाय बिस्तारमा शिखर शुज, २ कदमपछि हटेको छलाङ मार्न हो: प्रसाई



काठमाडौं । गतवर्ष व्यवसायी रामकृष्ण प्रसाईले बैंकबाट लिएको ऋण नतिरेको भन्दै ३५ दिनको सूचना प्रकाशित भयो । छोटो समयमा शिखर सुजलाई नेपाली जुत्तामा सफल ब्राण्ड बनाउन सफल प्रसाईलाई त्यो सूचनाले ठूलो धक्का दियो ।

बासबारी छालाजुत्ता बन्द भएपछि प्रसाईले शुरु गरेको शिखर सुजलाई सर्वसाधारणलाई सजिलै चिन्ने ब्राण्डको बनेको थियो । प्रसाईले जुत्ताको व्यवसाय शुरु गर्दा परिवारका नातेदारले कथित रुपमा तल्लो जातको व्यक्तिले गर्ने भन्ने खराब काममा लागेका टिप्पणी समेत गरेका थिए ।

तर, प्रसाईको लगन र मेहनतले नेपाली बजारमा शिखर सुज एउटा ब्राण्ड बन्न सफल भयो । काठमाडौंको गोलढुंगामा शिखर सुजको उद्योग थियो ।

छोटो समयमा शिखर सुज र व्यवसायिक रुपमा पाएको सफलताले प्रसाईलाई महत्वाकांक्षी बनाइदिएको थियो । किनकी प्रसाई छोटो समयमा नै सफल व्यवसायी भइसकेका थिए । कारोबारपनि फैँलदो क्रममा थियो ।

व्यवसायको उडान छुनको लागि गोलढुंगामा रहेको उद्योगलाई थप बिस्तार गर्ने सोच प्रसाईको थियो । सोही क्रममा बिराटनगरमा बन्द भएको जुत्ता उद्योगको जग्गा किन्ने निर्णय प्रसाईले गरे ।

प्रसाईले बैंकको ऋण लिएर नै बिराटनगरमा उद्योग खोल्ने तथा तराई क्षेत्रमा जुत्ता चप्पल व्यवसायमा आक्रामक ढंगले अगाडि आउने सोच बनाएका थिए । काठमाडौंको गोलढुंगामा रहेको शिखर सुजको उद्योगले देशभर चिनाएको हुँदा बिराटनगरको खोलिएको जुत्ता उद्योग चल्नेमा प्रसाई ढुक्क थिए ।

तर, शिखर सुजको ब्राण्डबाट शिखरमा चुम्ने सोच बनाएका प्रसाईलाई बिराटनगरको उद्योग भने ‘ब्याडलक’ नै भयो ।

२०७६ साल चैतदेखि सरकारले कोरोना भाइरस नियन्त्रण गर्नका लागि लकडाउन लगायो । लकडाउनले उद्योग व्यवसाय धेरै नै प्रभावित भएको थियो । लकडाउन हुनु अगाडि नै शिखर सुजले पुस मसान्तको बैंकको किस्ता र ब्याज तिर्न सकेको थिएन ।

लकडाउन अगाडि नै बिराटनगरमा लगाएको उद्योग नचल्ने हुँदा जग्गा बिक्री गर्ने सोच बनाएपनि कार्यान्वयन हुन नसक्दा बैंकको ऋण तिर्न नसक्ने व्यक्तिको रुपमा चिनिन पुगेको प्रसाई बताउँछन् ।

‘उद्योग चल्दैन भन्ने महशुस ६ महिना अगाडि नै थियो, बिराटनगरको जग्गा बेचेर सेटल गरौं भन्ने सोचले बैंकमा उद्योग बन्द गर्न लागेको निर्णय सुनायौ, त्यही कारणले पत्रिकामा नाम आयो,’ प्रसाईले भने ।

वर्किङ क्यापिटलमा समस्या भएपछि बिरानटगरको उद्योग सटडाउन गर्ने निर्णय गरेपनि जग्गा बिक्री हुन सकेको थिएन । जग्गा बिक्री नभएपछि बैंकलाई तिनुपर्ने ऋण प्रसाईले तिर्न सकेनन् ।

पत्रिकामा ऋण तिर्न सूचना आउनु कुनैपनि व्यवसायीको राम्रो संकेत होइन । बिराटनगरमा उद्योग खोलेपछि लागेको घाटाको कारण उदाउँदो व्यवसायीको अवसान नै हुने चिन्ता उनका शुभचिन्तकमा थियो ।

बिराटनगरमा उद्योग नचलेपनि काठमाडौंको उद्योग भने राम्रोसँग नै चलेको थियो । तर, २०७६ साल चैतदेखि शुरु भएको लकडाउनको असर काठमाडौंको उद्योगमा पनि पर्यो । जसले प्रसाईलाई नै समस्यापनि भयो ।

प्रसाईले अहिले भने बिराटनगरको जग्गा बिक्री गरेर बैंकलाई तिनुपर्ने २० करोडको व्यवस्था गरिसके । अर्थात जग्गा बिक्री भएपछि बैंकको समस्या समाधान भयो र सफल व्यवसायीको परिचय बनाएका प्रसाई कालोसूचिमा पर्न जोगिए ।

प्रसाईलाई नजिकबाट चिन्नेहरु बिराटनगरमा उद्योग खोल्ने निर्णयलाई गल्ती भनेपनि उनी भने त्यो मान्न तयार छैनन् ।

‘बिराटगरमा गल्ती भन्दापनि व्यवस्थापन गर्न नसकेको हो, बिराटनगरको प्रोजेक्ट सफल भएको भए हामी अहिले सबै हिसाबले नम्बर वन कम्पनी बन्ने थियौ,’ प्रसाईले क्लिकमाण्डूसँग भने ।

कोभिड असर अरु व्यवसायीलाई जस्तै प्रसाईलाई पनि परेको थियो । उनी मात्र डबल मारमा थिए । २०७६ सालमा लकडाउन हुँदा काठमाडौंको उद्योग ३ महिना पूर्णरुपमा बन्द भएको थियो । २०७७ सालमा भने उद्योग बन्द नभएको उनी बताउँछन् ।

नेपाली जुत्ता चप्पल व्यवसाय १ खर्बको आकार भएको अनुमान प्रसाई गर्छन् । पछिल्लो दशकमा स्वदेशी जुत्ता चप्पल उद्योगहरु निकै फस्टाएका छन् ।

‘आजका दिनमा सैद्दान्तिकरुपमा भन्दा स्वदेशी उद्योगहरु नै आफैमा प्रतिष्पर्धा गर्न सक्षम भइसकेको अवस्था छ । २÷३ वर्ष अगाडिको तुलनामा अहिले निकै राम्रो अवस्था छ । कैयन उद्योगहरुले आफैले फ्याक्ट्री खोल्न थालेका छन् । सरकारले भन्सार विन्दुमा जुन कडाइ गरेको छ ।

त्यसलाई कायमै राख्यो र कच्चा पदार्थमा सहज नीति अपनाइरह्यो भने आयात निकै कम हुन्छ । यद्यपि केही प्रतिशत भने आयात भइ नै रहन्छ,’ प्रसाई भन्छन् ।

आजको दिनमा शिखर सुज नेपाली उपभोक्ताले रुचाएको र चिनाउन नपर्ने ब्राण्ड हो । प्रसाईले बिराटनगरको जग्गा बिक्री भएपछि त्यहा भएको मेसिन काठमाडौं ल्याएर यही नै फोकस हुने सोचमा छन् ।

‘जुत्ताको बजार पनि एउटा चक्र जस्तै हो । आजका दिनमा पनि नेपालका लागि शिखर शुज राम्रो ब्राण्ड हो । हामीसँग संरचना पनि राम्रो छ । अब तपाईंले अबको तीन महिनाभित्र बजारमा राम्रो उपस्थित देख्नुहुन्छ भने ६ महिनामा राम्रो प्रगति पनि देखिन्छ र भोलिका दिनमा शिखर शुजको राम्रो उपस्थिती हुनेमा छ । अब कोभिडका कारण अर्थतन्त्रमा त्यति ठूलो असर नगर्ला भन्ने मलाई विश्वास छ,’ प्रसाईले भने ।

उनी २०५२ सालतिर जस्तो असजिलो स्थिती अहिले नरहेको बताउँछन् ।

‘२०५२ सालतिर मैले शिखर शुज उत्पादन शुरु गर्दा त्यो समयमा गाह्रो थियो । साच्चिकै गाह्रो थियो । त्यो बेलामा मैले विशुद्ध लेदरको शुज मात्रै बनाइथ्यो । त्यो बेलामा यो बाहुनले अरु केही काम नपाएर जुत्ता बनाउने काम गर्यो भनेर भन्ने गरेका थिए,’ उनले आफ्नो अनुभव सुनाउदै भने ।
सरकारले स्वदेशी जुत्ता उत्पादनको प्रबद्र्धन गनुपर्छ । यसका लागि नीतिगत व्यवस्था पनि बनाउनु आवश्यक छ । गैरकानूनी रुपमा आयात हुने जुत्तालाई कडाइ गर्नुपर्छ ।

भन्सारमा पनि उसैगरी कडाइ गर्नुपर्छ । आजका दिनमा हामीले भारत र चीनकै जस्तै प्रविधिको प्रयोग गरेको प्रसाई बताउँछन् । अब सस्तो लागतमा नै नेपालमा जुत्ता बनाउन सकिने प्रविधि आइसकेको उनी दाबी गर्छन् ।

‘हाम्रो सानो बजार छ । तर कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । हिजोका दिनमा यहाँ कसैले पनि जुत्ताको सोल बनाउँदैन्थे । अहिले त ठूलो फ्याक्ट्रीले यही उत्पादन गर्न थालेका छन् । कच्चा पदार्थ चीन र भारतमा जहाँबाट आउँछ नेपालमा पनि त्यहीबाट आउन थालेको छ । यसले गर्दा सहज पनि भएको छ,’ उनले भने ।

अहिले छाला जुत्ताको हिस्सा कुल फुटवेयरको ५ देखि १० प्रतिशत मात्रै हिस्सा हुन्छ । शिखर सुजलाई जनताले चिनेको छाला जुत्ताबाट हो । किनकी बन्द भएको सरकारी कम्पनी बासबारीपछि छाला जुत्तामा शिखरले त्यो पूर्ती गर्ने काम गरेको थियो । छाला बाहेकमा अहिले गोल्डस्टारको बजार निकै ठूलो छ । जुन भारतमा समेत निर्यात हुन्छ भने अमेरिकामा समेत पाइने भएको छ ।

‘छालाजुत्तामात्र शिखर सीमित छैन, गोल्डस्टार हामीभन्दा २५ वर्ष जेठो कम्पनी हो । उनीहरुको ब्राण्डिङ पहिलो अग्र्यानिक थियो । उनीहरुको भन्दा हाम्रो केही फरक छ । लगानीका हिसाबले, अवस्थाका हिसाबले धेरै फरक छ । तर उहाँहरुले पनि लक्षित गर्ने भनेको हामीलाई नै हो ।

आजका दिनमा पनि व्यवसायका हिसाबले प्रतिष्पर्धा गर्ने भनेकै हामीसँग हो । हाम्रो बिराटनगरको प्रोजेक्ट सफल भएको भए नम्बर वान कम्पनी बनाउने उद्देश्य नै थियो,’ उनले भने ।

बिराटनगरको असफलताबाट पाठ सिकेका प्रसाई २ कदम पछाडि हटेर पुनः जम्म गर्ने तयारीमा रहेको बताउँछन् ।

‘अब तपाईंहरुले पहिलेको शिखर शुजको बजार जस्तै अब छिट्टै पाउने छौं,’ कुराकानी टुंगाउदै प्रसाईले भने ।


क्लिकमान्डु